चरिचरनका लागि कृषकहरु निकुञ्ज क्षेत्रमा पशु लैजान छाडे


चरिचरनका लागि कृषकहरु निकुञ्ज क्षेत्रमा पशु लैजान छाडे

नेपालगन्ज १५ असोज : बाँके राष्ट्रिय निकुञ्जले बधुवा रुपमा पशु पाल्न आग्रह गरेपछि निकुञ्ज आसपासका सबैजसो कृषकहरु ब्यावसायीक फार्म दर्ता गर्न थालेकाछन् । सम्बन्धित वडाको सिफारिससँगै निकुञ्जले पनि पशुपालनका लागि फार्म दर्ता गर्न आवश्यक पर्ने सिफारिस दिन थालेपछि परम्परागत रुपमा पशु पाल्दै आएका किसानहरु पनि ब्यवसाीयक फार्म दर्ता गर्न थालेकाहुन् ।

वर्षौंदेखि परम्परागत रुपमा बाख्रा पाल्दै आएकी राप्तीसोनारी गाउँपालिका वडा नम्बर– २ कचनापुरकी सीमा खड्काले भर्खरै फार्म दर्ता गरेको बताईन् । यसअघि ८० भन्दा बढी बाख्रा जङ्गलमा चराउन जाने गरेको थिएँ, उनले भनिन् – ‘फार्म दर्ता गरेर पाल्दा फाईदा हुन्छ भन्ने पनि थाहा थिएन, निकुञ्जले भनेपछि केही महिना अघि मात्र दर्ता गरेकी छु ।’

फार्म दर्ता गरेर पाल्न थालेपछि फाईदा भईरहेको सीमाले बताईन् । ‘निकुञ्जले भनेको पनि ठिकै हो, १०/१२ वटा पालेर त के फाईदा हुन्थ्यो र ? मेरो अहिले ३० वटा माउ बाख्रा सहित ५० वटा छन्, २० वटा खसी बेचिसकेँ ।’
खोरमै राखेर पालेपछि खसीको तौल छिटो बढ्ने लगायतका फाईदा हुने गरेको अर्का कृषक कमला बस्नेतको भनाई छ ।

घरमा पालेपछि खसीको तौल बढी हुँदो रैछ उनले भनिन् – ‘हामीले धरै पछि थाहा पाएर फार्म दर्ता ग¥यौं र अहिले छोटो समयमा धेरै खसी बिक्री गर्न सफल भईरहेका छौं ।’ फार्म दर्ता गरेपछि सामुदायीक वनबाट दिनमा एक भारी घाँस ल्याए सजिलै पुग्ने बताउँदै बस्नेतले भनिन् –पहिले सँधै जङ्गलमा ग्वाला जान्थिम्, उतैबाट घाँसको भारी बेकेर ल्याउनुपर्ने, साह्रै दुःख थियो । अहिले फार्म दर्ता गरेपछि घरमै विभिन्न थरीका घाँस रोपेका छौं, दाना पनि खुवाउँछौं, त्यति घाँस काट्न पर्दैन ।’

Kanti Aarogya Hospital Nepalgunj

फार्म दर्ता गरेका किसानले पनि पशु चौपायालाई निकुञ्ज भित्र लगेर छोड्ने गरेका कारण फार्म दर्तामा कडाई गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । तर, आजभोली निकुञ्ज क्षेत्रमा चरिचरणका लागि पशु लैजान छाडिसकेको कृषकहरु बताउँछन् ।

राप्तीसोनरी गाउँपालिका वाडा नम्बर– ८ ओभरीकी कृषक मैसरा खत्रीले निकुञ्ज क्षेत्रमा बाख्रा चराउन छाडिसकेको बताईन् । सँधै घरमै राखेर पाल्दै आएकाछौं उनले भनिन् –‘कहिले कसो छोडेपनि राजमार्गको दक्षिणतर्फ रोडको छेउछाउमा चराउँछौं, किन की निकुञ्जको नियम पनि मान्नै प¥यो ।’ उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ सामुदायीक वन भए पनि अहिले वन्यजन्तुको संख्या बढेसँगै सामुदायीक वनमा पशु चराउन जोखिम रहेको खत्रीले बताईन् । उनले भनिन् –‘बाख्रा ग्वला जाँदा वनयजन्तुको जोखिम त छँदैछ त्यसमाथि बाख्रा उफ्रिँदै रोडमा जान खोज्छन्, दुर्घटनाको पनि डर छ ।’

फार्म दर्ताका लागि चालु अर्थिक वर्षमा १५ बढी कृषकले सिफारिस लगिसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । पशु चौपाया छाडा रुपमा नछोड्ने शर्तमा फार्म खोल्न अनुमति दिन थालिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

‘पशु र गोठालाहरु निकुञ्ज क्षेत्रमा जाने आउने क्रम चलिरह्यो भने कुनै दिन पशु चौपायालाई मार्ने क्रममा वन्यजन्तुले गोठालालाई पनि नमार्ला भन्न सकिन्न ।’ प्रमुख संरक्षण अधिकृत साहले भने– ‘हामी निकुञ्ज आसपासका कृषकहरुलाई वन्यजन्तुबाट क्षति हुन नदिन सचेत गराईरहेका छौं र सोही अनुसार फार्म दर्ताका लागि सिफारीस पनि उपलब्ध गराईरहेका छौं ।’ वन्यजन्तु संरक्षणमा निकुञ्ज आसपासका कृषकहरुको पनि ठूलो भूमिकारहेको बताउँदै साहले पछिल्लो समय निकुञ्ज क्षेत्रमा चरिचरन गर्ने पशुमा कमी आएको बताए । उनले भने – ‘कृषकहरुलाई निकुञ्जले आग्रह गर्ने बित्तिकै परिवर्तन आउने कुरा होईन, अझै पनि राजमार्ग आसपासमा कहीँ कतै पशु चौपाया चर्दै गरेको देखिन्छ तर, पहिलेको भन्दा धेरै कम भएको महसुस गरेकाछौं ।’

ब्यावसायीक पशु पाल्न चाहने कतिपय कृषकलाई निकुञ्ज संरक्षणमा साझेदार गरिरहेका जेडएसएल नेपाल, एनटीएनसी, तराई भू–परिधी कार्यक्रम लगायतका संस्थाले आधुनिक खोरका लागि जाली र उन्नत जातका खसीबोका उपल्ब्ध गराएर सहयोग गरिरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए ।

पशु फार्म दर्ता गरेका कृषकले बित्तिय संस्थाबाट सहुलियत ऋणको ब्यवस्था र कृषि कार्यालयबाट विभिन्न अनुदान पनि पाउन थालेको बताउँछन् । कम्तिीमा पनि १० वटा सम्म खसीबाख्रा पाल्ने कृषकले फार्म दर्ता गर्न सक्ने साना तथा घरेलु उद्योग कार्यालय बाँकेले जनाएको छ ।