नेपालगन्ज : नेपालगन्ज उपमहानगपालिकामा अहिले सडक निर्माण, ढलनिकास जस्ता विकासका कामहरु धमाधम भईरहेका छन् । नगरका विभिन्न वडामा निमार्णाधिन तथा निर्माण भएका कतिपय सडक र नालाहरुको निर्माण भने हास्यास्पद देखिएका छन् ।
सडकहरु नागबेलीजस्तो मात्र छैनन् सडकको बीच भागमा बिजुलीका पोलहरु ठाडिएका छन् । समथर भाग रहेको र सडक सीधा बनाउन सक्ने अवस्था रहँदा पनि स्थानीय निकायको लापरबाही तथा सडक निर्माणको जिम्मा पाएका ठेकेदारकै बद्मासिका कारण सडकहरु घुमाउरो भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र आरयुडिपी आयोजना अन्र्तगत निर्माणाधिन तथा निर्माण भएका अधिकासं सडक तथा नालाहरु नागवेली जस्तैछन् । नागवेली सडक तथा नालाहरु निर्माण हुनुले विकासे कामको गुणस्तरता कस्तो होला भन्ने प्रष्ट हुन्छ । अझ सडकमै विजुली र टेलिफोनका पोलहरु रहनुले सडक दुर्घटनाको झन् जोखिम बढेकोछ ।
यस्ता सडक तथा नाला निर्माण हुदाँसम्म उपमहानगरपालिकाबाट रोक्नु वा सुधार्नु त परै जाओस् प्रभावकारी अनुगमन समेत हुनेगरेको छैन ।
अनुगमन भएको भए यस्ता नागबेली सडकहरु समयमै सुधार गरिन्थ्यो । यसरी निर्माण भएका सडक तथा नालाले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै उपमहानगरपालिकालाई गिज्याइररहेकोछ । सवारी साधन चलाउने हुन् वा सडकमा पैदल यात्रु सवैजना यस्ता बाटोबाट आवातजावत गर्दा दोधारमा पर्ने गरेकाछन् ।
उपमहानगरपालिकाकै काम गर्ने तरिका यस्तो छ, भने स्थानीय तहमा गठित स्थानीय उपभोक्तामार्फत गरिएका कामहरुमा समेत त्रुटि देखिएको छ । सडक, नाला सबैलाई चाहिएको छ, तर सडक र नालाका लागि एक ईन्च पनि जग्गा दिन मान्छेहरु तयार छैनन्, उनीहरुसंग प्रभावकारि समन्वय र सहकार्य पनि गरिएको छैन ।
जसरी पनि आफूले पाएको जिम्मा पुरा गर्ने र छिटो–छिटो हिसाबकिताब मिलान गर्ने चटारोका कारण ठेक्का पाएका ठेकेदारदेखि उपमहानगरपालिका कर्मचारीहरुसमेत जनतालाई झुक्याउदैं गुणस्तरीय भन्दा पनि संख्यात्मक विकासका योजना दिइरहेकाछन् । आफू बसेको क्षेत्र विकास हुनु राम्रो कुरा हो तर, विकासका लागि केटाकेटी पाराले सडक, नाला निर्माण गर्नु बुद्धिमता नभएको स्थानीय गौरव सिंह बताउँछन् ।
उनले होटल रोयलबाट पूर्व गएको भर्खरै पीच गरिएको सडकका बारेमा बोल्दै भने–‘यस्तो सडकले त जुनसुकैबेला पनि दुर्घटना निम्त्याउँछ । यसरी सडक निर्माण गर्नु भनेको यो बाटो भएर हिड्नेलाई मृत्युको मुखमा धकेल्नु सरह हो ।’ पुष्पलालचोक स्थित रोयल होटलबाट पूर्वतिर गएको बाटोलाई हेर्दा नेपालगन्ज उपमहानगरपालिकामा कस्ता प्राविधिक विज्ञ छन् भन्ने यथार्थता पुष्ट्याँउछ । यतिमात्र होईन मध्यपश्चिम ढुवानी सेवा नजिक रहेको नागवेली सडक यति साँघुरो र घुमाउरो छ कि सामान्य चारपाङ्ग्रे सवारी त्यो ठाँउमा सजिलै पार हुन हम्मे–हम्मे हुन्छ ।
उपमहानगरपालिकाले विकासका लागि थालेको काम सकारात्मक छ । हाम्रा वडा वस्तीहरु पीच हुदैछन्, ढल निकासीका लागि नालाहरु निर्माण भइरहेकाछन् । तर, दीर्घकालिन सोँच नराखी जबरजस्त नागबेली सकड र नाला निर्माण गर्नु विकास नभइ धराप हो स्थानीय केशर पुनले बताए ।
उपमहानगरपालिकाले निर्माण गरेको सडक तथा नाला प्रतिनिधी घटना मात्र हो । यस्ता नागबेली सडक तथा नालाहरु हामी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा छरपस्ट देख्न सक्छौं । नेपालगन्ज उपमहानगरपालिका भित्रका कारकाँदो रोयल होटल पूर्वी लाईन, बेलासपुर, गणेशपुर, पुरैना, बाँके गाँउ लगायतका क्षेत्रमा निर्माण भएका र भइरहेका सडक तथा नालाहरुको अवस्था पनि उही नै छ ।
यी सवै स्थानका सडक तथा नालाहरु ठेकेदार र उपभोक्ताले आफूखुसी सिमिति ब्यक्तिलाई खुसी पार्न बनाइदिदाँ सडक निमार्णसगैं दुर्घटनाको जोखिम पनि बढेर आएका छन् । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित विकास निर्माणको गुणस्तरता तथा यसको प्राविधिक मापन कसले गर्ने ? भविष्यमा हुने जोखिमको जिम्मेवारी को बन्ने ? भन्ने जस्ता थुप्रै प्रश्न उपमहानगपालिकाप्रति तेर्सिएको छ ।