नेपालगन्ज १७ असोज : कोभिड–१९ महामारीलाई लक्षित गरि बन्द गरिएको नेपाल–भारत सीमानाका खुला गरिएकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेले आईतबार नेपाल–भारत सीमानाका जमुनाह नाकाबाट निजी सवारी साधनका लागि खुला गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आईतबारदेखि अनौपचारिकरुपमा नाका खोलिएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले भोली (सोमबार)देखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए ।
‘नाका खोल्ने विषयमा मन्त्रालयले एउटा मापदण्ड बनाएको छ, सोही मापदण्ड अनुसार हामीले सीमाको आवतजावतलाई ब्यवस्थापन गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने –‘चाडबाड नजिकिएसंगै घर फर्केने नेपाली र किनमेलका लागि जाने उपभोक्ताको सहजताका लागि सीमानाका खुला गरिएको हो । अवस्था हेरेर पछि सीमानाका बन्द गर्नसकिन्छ ।’
यद्यपी नेपाली नम्बर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आईतबारदेखि सीमावर्ती रुपैडिहा आउजाउ सुचारु भइसकेको ईलाका प्रहरी कार्यालयका जमुनाहका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर विष्टले बताए ।
भन्सार कार्यालयले कागजी प्रक्रिया मिलाएर भारतीय नम्बरका सवारी साधनलाई शुरुको दिन आईतबार ३ बजेपछि मात्र प्रवेश गर्न दिएको जमुनाहका सई विष्टले जानकारी दिए ।
भारतीय सुरक्षा बल एसएसबीले पनि नाकामा नेपाली सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको छ ।
भारतको सीमावर्ती जिल्ला बहराईचका डिएम(प्रजिअ) र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालबीच सीमा–नाकामा आवत–जावत खुल्ला गर्ने विषयमा पनि छलफल भएपछि आवागमनमा थप सहज भएको हो ।
सरकारले दुई साताघि नै कोरोना महामारीका कारण बन्द गरिएका सीमानाका खोल्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन गर्न बाँके प्रशासनले आनाकानी गरेको थियो ।
गृहमन्त्रालयले असोज ७ गते पत्र लेख्दै आदेश कार्यान्वयन गर्न सबै जिल्ला प्रशासन लगायत निकायलाई निर्देशन दिएको थियो । मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ यसैसाथ संलग्न छ, उक्त आदेशको तहाँ र मातहतका कार्यालयहरुसँग सम्बन्धित विषयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु हुन आदेशानुसार अनुरोध छ ।’
सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका थिए । नाकामा पहिलेको जस्तै सवारी साधन आवत–जावत गर्नमा कडाई गरिएको थियो भने सर्वसाधरणलाई पैदल तथा स्वीकृती लिएका एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र भारतीय मालबाहक ट्रक बाहेक अन्य सर्बसाधारणका सवारी साधनहरुलाई नेपालबाट भारत जान दिइएको थिएन ।
यस्तै भारतबाट पनि त्यहाँका सुरक्षाकर्मीले एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई मात्र नेपाल आउन दिएका थिए । सीमानाका खुला गरिएसंगै यतिबेला नेपाल–भारत सीमानाकामा रोकिराखेका रिक्सा, अटो, निजी सवारी साधन निर्वाधरुपमा आउजाउ भइरहेकोछ । चाडबाडमा किनमेल गर्न भारतीय बजार रुपैडिहा जाने सर्वसाधरणलाई राहत मिलेकोछ ।