नेपालगन्ज २१ असोज : नेपालगन्जको जमुनाह नाकामा रहेको पर्यटक सूचना केन्द्रले अहिले पर्यटकलाई मात्र होइन यहाँका अधिकारीलाई समेत गिज्याइ रहेको छ । पर्यटकको बसाई लम्बाउनुको साथै अधिकभन्दा अधिक पर्यटक भित्र्याउने उद्देश्य बोकेको यो केन्द्र अस्तब्यस्त बन्नुका साथै प्रयोगबिहीन बनेकोछ ।
पर्यटकको नेपाल बसाइको क्रममा सहजता हुने उद्देश्यले सूचना प्रदान गर्ने भन्दै निमार्ण गरिएको पर्यटन केन्द्र कर्मचारी र बजेट अभावमा प्रयोगविहीन बन्दा सम्बद्ध सरोकारवालालाई गिज्याइ रहेको हो । प्रयोगविहीन बनेको केन्द्रका विषयमा न प्रदेश सरकारले ध्यान दिएको छ न त संघीय सरकारले नै ।
नेपाल भित्रिने पर्यटकलाई लक्षित गरि बाँकेको जमुनाह नाकामा खोलिएको पर्यटक सूचना केन्द्रको अवस्था अहिले ‘बाँदरको हातमा नरिवल झैँ’ बनेको व्यवसायीको भनाइ छ । यो नाकाबाट नेपाल भित्रने पर्यटकहरु पनि सूचनाको लागी यताउता भौतारिरहेका हुन्छन् ।
नेपाल–भारत सीमानाका जमुनाहामा गत वर्ष स्थापना गरिएको पर्यटन सूचना केन्द्र यतिबेला कर्मचारी र बजेटबिना प्रयोगविहिन बन्न पुगेको हो । लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत नेपालगन्ज उपमहानगरपालिकाको प्राविधिक सहयोगमा गत वर्ष भवन निर्माण कार्य सम्पन्न गरिएको थियो । केन्द्र स्थापना भएपनि प्रयोगमा आउन नसक्दा यतिबेला उक्त केन्द्र प्रयोगबिहीन बनेको हो ।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवालीका अनुसार केन्द्रको भवन निर्माण भएपनि कसले प्रयोग गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । यतिमात्र होइन पर्यटन सूचना केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बजेट र कर्मचारीको ब्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।
पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक वर्षअघि स्थापना गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा नआउँदा भारतबाट आउने पर्यटकले प्रभावकारि सेवा पाउन नसकेको बताए । पछिल्लोपटक नेपालगन्ज–पोखरा–नेपालगन्ज सोझो उडान सुरु भएपछि यसक्षेत्रबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा समेत बढोत्तरी भएकोछ ।
मञ्च बाँकेका अध्यक्ष श्रेष्ठले यो नाकाबाट आउने पर्यटकलाई पर्यटकीय गतिविधी जान्न, बुझ्न सहजता होस् भनेर स्थापना गरिए पनि यसको प्रभावकारी उपयोग हुननसकेको बताए । भारतबाट आउने पर्यटकका लागि नेपालका पर्यटकीय स्थलका बारेमा केन्द्रले डिस्प्लेसहित जानकारी गराउने मन्त्रालयको अवधारणा छ । तर प्रदेश सरकारकै उदासिनताले प्रयोगबिहीन बन्न पुगेको हो ।
अध्यक्ष श्रेष्ठले भन–‘भवनमात्र तयार गरेर हुँदैन यसका लागि कर्मचारी र बजेट प्रदान गरिनुपर्छ । लुम्बिनी प्रदेश सरकारले चाँडो भन्दा चाडो केन्द्रको प्रभावकारि सञ्चालन गरिनुपर्छ ।’