सर्वसाधरणका लागि सेनाद्वारा लिङ्गे पिङ्ग निर्माण
नेपालगन्ज २४ असोज : वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ । दशैंमा रमाउने बाहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो । गाउँघरमा मात्र सिमित पिङ खेल्ने चलन विस्तारै लोप हुदैँ गएपनि सहरबजार के गाउँघर सबै ठाउँमा दशैंसंगै पिङले आफ्नो गहिरो महत्व र छाप पारेकोछ ।
दशैंमा खेलिने पिङको महत्वलाई आत्मसाथ गर्दै नेपाली सेनाको श्री भैरव प्रसाद गणले नेपालगन्जको रामलिला मैदानमा लिङ्गे पिङ निर्माण गरेकोछ । सेनाको श्री भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी जनमत कार्कीको नेतृत्वमा रामलिला मैदानमा सर्वसाधरणका लागि लिङ्गे पिङ निर्माण गरिएको हो ।
सेतोखरीसंग कुरा गर्दै प्रमुख सेनानी जनमत कार्कीले सेनाको जनकार्य अनुरुप रामलिला मैदानमा लिङ्गे पिङ निर्माण गरिएको बताए । उनले भने –‘दशैंलाई लक्षित गर्दै एकातिर हाम्रो परम्परासंग जोडिएको पिङ खेल्ने चलनलाई निरन्तरता दिनु र सर्वसाधरणलाई दशैंमा मनरोञ्जन प्राप्त होस् भन्ने हेतुले लिङ्गे पिङ निर्माण गरिएको हो ।’
नेपालगन्जको राँझा स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणका गणपतिको रुपमा आएका प्रमुख सेनानी कार्कीले जनकार्य अन्र्तगत बाँकेका विभिन्न सार्वजनिक स्थलहरु, रङ्गशाला, मठमन्दिर, बाटाघाटा, प्रतिक्षालय सरसफाई लगायतका कार्य गर्दै आएकोछ ।
दशैंमा लिङ्गे पिङको महत्व
लिङ्गे पिङ दशैंसँग अभिन्न रुपमा जोडिएको छ । पिङ खासमा मनोरञ्जनकै लागि खेलिन्छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ । दशैंमा रमाउने बाहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो ।
दशैंको बेला हाम्रो खानपान नियन्त्रित हुँदैन । किनभने दशैंको विशेषता नै मीठो मसिनो खाने हो । खसीको पक्कु दशैंको खास परिकार । यसैगरी आगन्तुकलाई ख्वाउन होस् वा आफु पाहुना लाग्दा, मीठोमसिनो खानेकुराको जोरजाम गरिन्छ । अर्थात दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं, त्योपनि मासुजन्य परिकार ।
यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउन पिङ खेल्ने गरिएको कतिपयको तर्क छ । यो तर्क यसकारण सही लाग्छ कि, पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ।
दशैंको समयमा त्यती धेरै शारीरिक श्रम नगर्ने भएकाले हाम्रो शरीर यसैपनि शिथिल भइरहेको हुन्छ । त्यसमाथि अत्याधिक खानेकुराको भार त छँदैछ । पिङमा मच्चिदा खासगरी पेट खुम्चने र तन्कने गर्छ । यसले पाचन यन्त्रलाई बलियो बनाउन सहयोग गर्छ ।
लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ । यद्यपि कोरोना संकटका कारण यसपाली जमघट गरेर पिङ खेल्ने स्थिती त्यती अनुकल छैन । यसरी जमघट गर्दा कोरोना फैलने जोखिम रहन्छ । त्यसैले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाएर चाडबाड मनाउनुपर्दछ ।