प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारको अल्टिमेटम, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा


प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारको अल्टिमेटम, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

नेपालगन्ज १२ कार्तिक : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बुधबारसम्म राजीनामा दिन ‘अल्टिमेटम’ दिएको छ । बुधबारसम्म पनि राजीनामा नदिए देशभर आन्दोलन चर्काउने बारले ‘चेतावनी’ समेत दिएको छ ।

शुक्रबार बसेको बार पदाधिकारीको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि बुधबारसम्मको समयसीमा ‘अल्टिमेटम’ दिने निर्णय गरेको हो । कात्तिक १८ गते (बिहीबार)देखि तिहारको बिदा सुरु हुने भएकाले बारले त्यस अगाडि नै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने गरी ‘समयसीमा’ दिने निर्णय गरेको हो ।

बारले तिहारसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित थप आन्दोलनअन्तर्गत सबै कानून व्यवसायीले कालो पट्टी बाँध्ने र प्रधानन्यायाधीश जबराको इजलास बहिस्कार गरिने छ ।

यस्तै, प्रधानन्यायाधीश जबरालाई ईजलासमा नबस्न भनेर माग गर्ने निर्णय पनि भएको नेपाल बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । बारले देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता सहभागिता जनाउन समेत परिपत्र गरेको छ । बारले आन्दोलनका थप कार्यक्रमका लागि भिडियो कन्फरेन्समार्फत् देशभरकै इकाइबाट राय सुझाव लिने पनि निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पनि बारका महासचिव पौडेलले बताए । प्रधानन्यायाधीश चोलेन्द्रले राजीनामा नदिए चरणबद्ध आन्दोलन गर्ने बारले जनाएकोछ । यसका लागि बारले चरणबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ । आन्दोलन गर्नुपरेको भन्दै बारले सबैको सहयोगको अपेक्षा गरेको छ ।