नेपालगन्ज १२ कार्तिक : बाँकेको जानकी गाउँपालिका पछि राप्ती सोनारी गाउँपालिकाको विभिन्न वडाहरु पनि धमाधम बालबिवाह मुक्त घोषणा भईरहेकाछन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर–३ पछि वडा नम्बर–७ लाई बिहिबार एक कार्यक्रमकाबीच बालबिवाह मुक्त वडा घोषणा गरियो ।
‘हामी सबैको प्रतिबद्धता बालबिवाह बिरुद्धको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ राप्ती सोनारीको वडा नम्बर–७ पालिकाको दोस्रो बालबिवाह मुक्त वडा घोषणा भएको हो । वडा नम्बर–७ का वडा अध्यक्ष रामलखन थारुको अध्यक्षता एवं राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीको प्रमुख आतिथ्यतामा भएको घोषणा कार्यक्रममा वडाध्यक्ष थारुले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका उपाध्यक्ष खत्रीले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई बालबिवाह मुक्त घोषणा गरेकी हुन् ।
बालबिवाह मुक्त वडा घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष बालबिवाह मुक्त वडा घोषणा गर्न सहज भएपनि यसलाई शून्यमा झार्न अझै चूनौती रहेको बताईन् । खत्रीले यस अभियानमा साथ दिएर बालबिवाह न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालबिवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन् । अन्य वडालाई पनि अबको केही महिना भित्र बालविवाह मुक्त गर्ने तयारीमा रहेको बताउँदै उनले आगामी फागुन भित्र पूर्ण रुपमा राप्ती सोनारी गाउँपालिकालाई वालविवाह मुक्त गर्ने प्रतिवद्धता जनाईन् । उनले भनिन् – ‘सबैको साथ र सहयोग भयो भने वालविवाहलाई पाँच प्रतिशत बाट शून्यमा पनि झार्न सकिन्छ ।’
राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले राप्ती सोनारीको दोस्रो वडाका रुपमा वडा नम्बर–७ बालविवाह मुक्त वडा घोषणा भएको बताउँदै यस अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले यसअघि सबैभन्दा बढी बालबिवाह भएको वडामा पछिल्लो एक वर्षमा ५ प्रतिशत मात्र बालबिवाह भएको बताए ।
२० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार राप्ती सोनारी ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए । राप्ती सोनारी गाउपालिका वडा नम्बर– ७ को बिभिन्न टोलमा १ सय ५० जनामा गरिएको सर्बेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको वडा नम्बर–७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।
राप्ती सोनारीको वडा नम्बर–७ मा थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको बसोबास रहेको छ । विभिन्न जाती र भाषाभाषीको बसोबास रहेकाले यो वडाको विशेषता भिन्न छ । मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलन बढी हुने बताईपनि पछिल्लो समय बालविवाहको सवालमा सबैभन्दा सचेत मधेशी र मस्लिम समुदाय रहेको वडा अध्यक्ष थारुले बताए ।
उनले भने – ‘थारु र पहाडे समुदायमा भागी बिवाह गर्ने प्रचलन बढी हुन्छ, बाल बिवाह गरे नगरेको थाहा हुँदैन तर मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोराछोरीको बिवाह गर्दा अधिकाँसले जन्मदर्ता लिएर २० बर्ष पूरा भयो कि भएन भनेर जनप्रतिनीधिलाई सोध्न आउने गरेकाछन् ।’ २० बर्ष पूरा हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा एकमहिना पछि बिवाह गर्न सल्लाह दिने गरेको उनले बताए ।
विविधताले भरिएको वडा नम्बर– ७ का मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलनमा धेरै कमी आइसकेको वडा अध्यक्ष थारुले बताए । वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात सो वडामा १६ दशमलव १२ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको ७ नम्बर वडा कार्यालयले जनाएको छ ।