नेपालगन्ज १४ कार्तिक : बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा भएको जिल्ला ब्यापी पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधीका नेपालगन्ज उपमहानगरपालिकाले हात पारेकोछ ।
उपाधीका लागि आईतबार भएको खेलमा नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकालाई २–१ को सेटमा हराउँदै उपाधी हात पार्न सफल भएको हो । जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहका अनुसार नेपालगन्जले २५–१९, १६–२५ र २५–२२ को सेटमा जित हासिल गर्यो ।
नेपालगन्ज उपमहानगरले ५० हजार रुपैँयासहित ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको कोहलपुरले नगद ३० हजार र मेडल हात पारेको छ । आईतवार भएको फाइनल खेलमा राप्तीसोनारी गाउँपालिकाले तृतिय स्थान हात पारेको छ । उसले बैजनाथ गाउँपालिकालाई २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको राष्ट्रिय एम्पायर प्रकाश शर्माले बताए ।
राप्तीसोनारीसँग पराजित भएको बैजनाथले सान्त्वनामा चित्त बुझाउनु पर्यो । राप्तीसोनारीले २० हजार र बैजनाथ गाउँपालिकाले १० हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक कृष्णा पाठकले जानकारी दिइन् ।
प्रतियोगितामा नेपालगन्जकी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी भइन् । त्यसैगरि, कोहलपुरकी नम्रता शाही बेष्ट सटर, कोहलपुरकै नितु सुनार बेष्ट लिफ्टर, नेपालगन्जकी ग्रिष्मा सिलवाल बेष्ट सर्वर र बैजनाथकी प्रतिक्षा चौधरी राइजिङ प्लेरको उपाधी हात पारिन् ।
प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई कार्यक्रमका प्रमुख अतिथि एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथि एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष सुनिलसिंह हमाल, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाह लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
जिल्ला खेलकुद विकास समितिले शुक्रबारबाट सञ्चालन गरेको उक्त प्रतियोगितामा बाँकेका ८ वटै पालिकाले सहभागिता जनाएका थिए ।