नेपालगन्ज १५ कार्तिक : ब्यावसायिक कृषि पेशा गरिरहेका कृषकलाई स्थानीय सरकारले बेवास्ता गरेको कृषकले गुनासो गरेकाछन् । नेपालगन्जमा सोमबार आयोजित सेवा प्रदायकहरुबीचको अन्तकृया बैठकमा बोल्ने कृषकहरुले यस्तो गुनासो गरेका हुन् ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीका कृषक तुलसीराम थारुले विभिन्न पालिकामा आउने अनुदानका कृषि यन्त्रहरु पहुँचको भरमा स्थानीय जनप्रतिनीधिले आफ्ना आफन्त, नतागोतालाई वितरण गरेकाले ब्यावसायीक रुपमा कृषि पेशा अपनाउन चाहने युवाहरु सेवाबाट बन्चित भईरहेको आरोप लगाए ।
गत वर्षदेखि कम्बाईन मिल र पम्पसेट किनेर कृषि कर्म गर्नुका साथै अन्य कृषकलाई पनि सेवा दिँदै आएको बताउने थारुले स्थानीय पालिकाबाट हालसम्म कुनै सहयोग नपाएको गुनासो गरे । लामो समयसम्म भारतमा रोजगार गर्दै आएका तुलसीराम कोरोना भाईरसको महामारीमा रोजगारी गुमाएर गत वर्षदेखि ब्यावसायीक रुपमा कृषि पेशा गरिरहेकाछन् ।
बाँकेमा उनी जस्तै कोभिडका कारण अन्य देशबाट रोजगारी गुमाएका ५० जना युवाहरु हाल कृषि मेशिनरी औजार प्रयोग गरेर ब्यावसायीक खेती गर्नुका साथै अन्य कृषकलाई पनि सेवा दिईरहेकाछन् । उनीहरुमध्य कतिपयले आफ्नै लगानीमा मेशिन खरिद गरेकाछन् भने केहीले विभिन्न विकास बैंकबाट सहुलियत ब्याजमा ऋण लिएर मेशिन किनेका हुन् ।
बाँके डुडुवा गाउँपालिका–५ तिलकपुरका मनोज बुढामगर ६ बर्ष कतारमा रोजगारी गरेर कोभिडकै कारण स्वदेश फर्किए । हाल कृषि पेशा अपनाएर ब्यावसाय गरिरहेको बताए । विदेशबाट फर्केपछि आफ्नै लगानीमा एउटा मिनी टिलर र घाँस काट्ने मेशिन किनेको बताउने मनोजले त्यसबाट आफुलाई खेत जोत्न र पशुलाई घाँस काट्न सजिलो हुनुका साथै अन्य कृषकलाई सेवा दिएर पनि राम्रो आम्दानी गरिरहेको बताए ।
‘कृषि पेशाबाटै ५ महिनाको अविधीमा साढे चार लाख आम्दानी भईसकेको छ’ उनले भने –‘अझै आम्दानी बढ्दै छ अब त बिदेश जाने सोंच पनि बदली सक्यो ।’ मेशीनरी औजार किनेपछि भैंसी, कुखुरा र माछा फार्म पनि खोलेको मनोजले बताए ।
कोभिडका कारण आफुजस्तै रोजगारी गुमाएर घर फर्किएका युवाहरुलाई स्थानीय सरकारले केही अनुदान उपलब्ध गराएको भए युवाहरु अझै कृषि पेशामा आकर्षित हुने उनको बुझाई छ ।
उनी जस्तै राप्तीसोनारी गाउँपालिका – ५ चिलहरियाका ईन्द्रजित थारुले पनि यसअघि कहिले बैदेशिक रोजगार त कहिले भारतको गोवामा काम गर्दै आएका थिए । अहिले उनी कृषि यन्त्र मेशिन चलाएर ब्यावसायमा जमेकाछन् । उनीसँग हाल एउटा पावरटिलर, धान काट्ने रिफर र ट्रली छ । दुई वर्ष अघिदेखि गाउँपालिकाले कृषकलाई कृषि यन्त्र अनुदान उपलब्ध गराईरहेपनि आफु त्यसमा नपरेको उनले गुनासो गरे ।
बैंकबाट सहुलियत ऋणमा लिने प्रक्रिया ढिलाई भएर यस वर्ष खासै आम्दानी गर्न नसकेपनि सन्तोषजनक ब्यावसाय रहेको उनले बताए । उनले भने –‘धान रोप्ने सिजन भन्दा पहिले मेशिन खरिद गर्न सकेको भए अझ धेरै आम्दानी हुने थियो तर, असोजमा मात्र मेशिन ल्याउन सफल भए त्यहि पनि रिफरबाट मात्र हालसम्म ५५ जना कृषकलाई सेवा दिईसकेको छु ।’
स्थानीय पालिकाले कृषकलाई मेशिन अनुदान दिएपनि सहकारी मार्फत दिने भएकाले प्रक्रियामा ढिलाईका कारण कृषकले समयमा अनुदान पाउन नसकेको ईन्द्रजितको भनाई छ ।
मेशिनबाट काम गराउने कृषकको संख्या बढिरहेको र माग धेरै आईरहेकाले आफुलाई भ्याई नभ्याईरहेको चौधरीले बताए । कोभिडका कारण रोजगारी गुमाएका युवाहरुलाई युएसए आईडी, सिमिट ईन्टरनेश्नल नेपाल, आईडिई नेपाल लगायतका संस्थाहरुको सहकार्यमा शिशा परियोनाले कृषि यन्त्र प्रयोगमा प्रोत्साहन गर्नुका साथै सहुलियत कर्जा उपलब्ध गराउन सहयोग गर्दै आएको छ ।
आईडीई नेपालका राजकिशोर राय यादवले कृषकको समय र लागत कम गर्ने र युवा पुस्तालाई आधुनिक कृषि ब्यावसायमा प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याईएको बताए । शिशा परियोजनाका सचिन मेघनाथले कृषि यन्त्र प्रयोग गर्ने कृषको संख्या बृद्धि हुँदै गएकाले यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए ।
हाल बाँकेको केहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकका कृषकलाई कृषि यन्त्रको फाईदा र यसबाट गर्न सकिने ब्यावसायबारे तालिम दिईरहेको जानकारी दिँदै उनले अब बर्दियाका केही पालिकामा पनि कार्यक्रम लागू गरिने बताए ।