घटना गोप्य राख्न मातहतका प्रहरीलाई निर्देशन
बर्दिया १८ कार्तिक : बर्दियामा प्रहरीले ‘सेटिङ्ग’मा जुवा खेलाइरहेको समाचार बाहिरिएपछि यतिबेला बर्दिया प्रहरीले नै कटेज बुक गरि जुवा खेलिरहेको रहस्य बाहिरिएकोछ । जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालयभन्दा १ किमी पश्चिमतर्फ रहेको एक कटेजमा जिल्ला प्रहरी कार्यालय बर्दियाले रुम (कोठा) नै बुक गरेर जुवा खेलाइरहेको पाइएको हो ।
प्रहरीले नै कटेजको रुम बुक गरि जुवा खेल्ने र खेलाउने रहस्य बाहिरिएपछि यतिबेलो बर्दियाबासी चकित परेकाछन् । यतिमात्र होइन प्रहरीले नै कटेजको रुम बुक गरि जुवा खेल्ने र खेलाउने कार्य गरेपछि जिल्ला प्रहरी कार्यालय बर्दियाले घटना गुपचुप राख्न मातहतका सबै प्रहरीलाई कडा निर्देशन दिएकोछ ।
उक्त कटेजमा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत सई, असई तथा हवल्दार तहका र मैनापोखर, बानियाभार ईलाका प्रहरी कार्यालयमा कार्यरत सोहि दर्जाका प्रहरीले जुवा खेल्ने गरेका हुन् । जुवा खेल्न प्रहरी नै आएपछि कटेज सञ्चालकलाई ‘हामी तास खेल्छौँ, हामी आएपछि के को टेन्सन, सबै सुरक्षित हुन्छ’ भन्दै जुवा खेल्न कटेजको रुम नै बुक गरेको बताइएको छ ।
प्रहरी स्वयम कटेजको रुम बुक गरि जुवा खेलिरहेको भन्ने खबर प्रहरीबाट नै सुराकी भएपछि जिल्ला प्रहरी कार्यालयले उक्त कटेजमा पुगेर जुवा खेल्ने प्रहरीलाई नियन्त्रणमा लिएको थियो ।
ठूलो संख्यामा तल्लोतहदेखि प्रहरी चौकीका ईन्चार्जसम्मका प्रहरीले जुवा खेलेको पाइएपछि सबैलाई आफू कार्यरत क्षेत्रमा पठाएको र घटना गुपचुप राख्न मातहतका प्रहरीलाई कडा निर्देशन दिइएको एक प्रहरी अधिकृतले सेतोखरीलाई जानकारी दिए ।
ती प्रहरीका अनुसार कटेज बुक गरेर जुवा खेल्ने प्रहरी नै भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्की र प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले घटनालाई गुपचुप राख्न कडा निर्देशन दिए । घटना बाहिर ल्याए कारबाही गर्ने धम्की समेत दिएको ती प्रहरीले सेतोखरीलाई जानकारी दिए ।
केहीदिनअघि मात्रै सेतोखरीले बर्दियामा प्रहरीकै संलग्नतामा ठूलो जुवा खेल्ने र खेलाउने कार्य भइरहेको रहस्य बाहिर ल्याएको थियो । बर्दिया प्रहरीले ‘घुमुवा’ र ‘सादा पोशाकका प्रहरी’ परिचालन गरि जुवा खालको ‘चौकीदारी’ गरि जुवा खेलाउदै मोटो रकम असुल गरेको थियो ।
प्रहरीकै संरक्षणमा मोटो रकम असुल्दै जुवा खेलाइरहेको रहस्य बाहिर आएपछि बर्दिया प्रहरीको आलोचना भएको थियो । प्रहरीको आलोचना हुन थालेपछि बर्दिया प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर– ७ बाट करिब २ लाख रुपैयाँ बराबरको रकम सहित ९ जना जुवाडेलाई पक्राउ गरेको थियो ।
यो पनि पढ्नुहोस्