काठमाडौं २३ कार्तिक : नेपाल बार एशोसियसनलाई आफ्नो आन्दोलन फिर्ता लिन माग गरिएकोछ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बेन्च बहिष्कार गर्ने न्यायाधीश र वकिलहरूको आन्दोलनको विरोध गर्दै नेपाल बार एशोसियसनलाई आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन माग गरिएको हो ।
कन्स्टिच्युसनल फोरम अफ नेपालले मङ्गलबार बारका पदाधिकारीलाई प्रतिकात्मक विरोधस्वरूप नेपालको संविधान उपहार दिएर आन्दोलन फिर्ता लिन ध्यानाकर्षण गराएको छ ।
बारलाई गराइएको ध्यानाकर्षणमा प्रधानन्यायाधीशको बहिर्गमन छुट्टै विधि र प्रक्रिया भएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिनुपर्ने, न्यायाधीशहरूलाई इजलास फर्कन बारको तर्फबाट आग्रह गर्नुपर्ने भनिएको छ ।
त्यस्तै कानून व्यवसायीलाई बहस पैरवी गर्ने वातावरण बनाइनुपर्ने, न्यायपालिकाको समस्या समाधानको लागि उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्ने, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्न पहल गर्नुपर्ने माग राखिएको छ ।
कन्स्टिच्युसनल फोरम अफ नेपालले ५ बुँदे मागहरु राख्दै नेपाल बार एशोसिएसनलाई ध्यानाकर्षण गराएपछि यतिबेला बारको आन्दोलनमा नयाँ तरङ्ग उत्पन्न भएकोछ । यसअघि मङ्गलबार(आज) विहान मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गरेको भन्दै ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोशियशनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । नारा लगाउँदै नेपाल बार एसोशियशन परिसरको गेटमा पुगेका जनता स्वतन्त्र आयोगका अभियन्ता तारा बरालसहित तीनजनालाई प्रहरीले धरपकड गरेर प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले न्याय प्रणाली जोगाउन भन्दै प्रदर्शन गरिरहेका छन् । १६ दिनदेखि अदालतमा जारी गतिरोध हट्नुपर्ने माग गर्दै उनीहरुले सर्वोच्च अदालत परिसर र माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका थिए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन गरिरहेको छ । तर, बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।