बर्दिया २४ कार्तिक :प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भइरहेको गतिविधिका विषयमा सरकारले आफ्नो धाराणा सार्वजनिक गर्नुपर्ने नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले बताएकाछन् । जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा गणेशमानको शालिक अनावरण गर्न बर्दियाको गुलरिया पुगेका नेता सिंहले यस्तो बताएका हुन् ।
‘सर्वोच्च अदालतमा देखिएको ‘नौटंकी’ले समग्र न्यायालय बदनाम भइरहेकोछ । यसले न्यायालयप्रतिको जनविश्वास मेटिने हुदाँ कानूनको व्याखा गर्नेहरु नै भाँडभैलो गरिरहेकाछन् ।’ नेता सिहंले अगाडी थपे–‘कानूनका जानकारहरुबाट नै यस्तो क्रियाकलाप भइरहँदा सर्वोच्चमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यो सब सर्वोच्चमा नाटक चलिरहेको हो । यस्तो अवस्थामा सरकार चुप लागेर बस्नु उचित हुदैँन । सरकारले आफ्नो धारणा सार्वजनिक गरोस् ।
‘प्रधानन्यायाधीश जबरामाथि प्रश्न उठाउँदै राजीनामा मागेर आन्दोलन थालिएको १५ दिन पुगिसक्यो । त्यसयता सर्वोच्च अदालतबाट नागरिकले न्याय पाउन सकेका छैनन् । यस्तोमा पनि सरकार मौन बस्नु कदापी राम्रो होइन ।’ नेता सिंहले अगाडी थपे–‘न्यायपालिकाको सबैभन्दा उच्च निकाय सर्वोच्च अदालत नागरिकलाई न्याय दिन नसक्ने अवस्थामा पुगे पनि सरकार र कानूनका जानकारहरु नै मौन बस्नुको अर्थ के ?’
प्रधानन्यायाधीश राजीनामा नदिने अनि न्यायाधीशहरू पनि काममा नफर्कने र नेपाल बारले प्रधानन्यायाधीशको इजलासमा बहस नै नगर्ने निर्णयका कारण सर्वोच्च न्यायालयको अन्योल कहिलेसम्म जाने हो अनिश्चित बनेपछि नागरिकलाई कहिले न्याय मिल्छ ? उनले अगाडी थपे ।
शालिक अनावरण पछि नेपाली काँग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा स्वर्गीय सिंहको त्याग र बलिदानी स्मरण गर्दै पार्टीलाई संस्थागत गरी अगाडि बढाउन सशक्त र जुझारु नेतृत्व आवश्यक रहेको नेता सिंहले बताए ।
पार्टीले पटक–पटक महाधिवेशनको मिति सार्नुले काँग्रेसको गरिमामाथि नै आँच पुगेको समेत सिंहले बताए । उनले भने,‘तोकिएको समयमा अधिवेशन नहुँदा नेपाली काँग्रेस पार्टीले बोलेको काम पूरा गर्छ भन्ने जनतामा रहेको छाप मेटाउने काम भइरहेको छ ।’
काँग्रेस महाधिवेशनका प्रसङ्गमा बोल्दै नेता सिंहले भने–‘पार्टीमा अवसर पाइसकेका नेतालाई सम्मानजनक स्थान दिई अब भविष्यको बारे सोच्न अवाश्यक छ । हामीभित्रको कमिकमजोरीका कारण पटक–पटक कम्युनिष्टहरुले संविधानमाथी प्रहार गरे । आउने दिनमा यस्ता चुनौती सामना गर्ने कुशल र सक्षम नेतृत्व चयन गर्न आह्वान गर्छु ।’
नेपाली काँग्रेसको १४ औं महाधिवेशनले वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता सिंहले पार्टीमा काम नगर्ने तत्वहरुलाई पाखा लगाउन सुझाव दिए ।
संविधान भन्दामाथि रहेर काम गर्न खोज्दा बहुमतको कम्युनिस्ट सरकार ढलेको बताउँदै ट्रयाकबाट बाहिरिन लागेको संविधान जोगाउन नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको नेता सिंहले दाबी गरे ।
न्यायालयलाई स्वतन्त्र बनाउँदै न्यायालयको विवाद सुल्झाउनु गठबन्धन सरकारको प्रमुख जिम्मेवारी रहेको उनले जिकिर गरे । अदालतमा भइरहेको विवादका कारण सेवाग्राहीले न्यायालयबाट सेवा पाउन ढिलासुस्ती भइरहेको भन्दै सिंहले न्यायपालिकालाई वेथितीमा जानबाट रोक्न सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको समेत औल्याए ।
नेता सिहंले नेपाली राजनीतीमा देखिएको समास्यालाई निकास दिन अहिलेको गठबन्धन निर्माण गरिएको बताए । राजनितिक समस्यालाई निकास दिनका लागी अहिलेको गठबन्धन निर्वाचनसम्म जाने उनले बताए ।
नेपाली काँग्रेस बर्दियाका सभापति एवं संघीय सांसद सञ्जय कुमार गौतमको पहलमा संसद पूर्वाधार बिकास कोषको विनियोजित २४ लाख ४७ हजार ५ सय २५ रुपैयाँ बजेटबाट गणेशमानको शालिक निर्माण गरिएको हो ।