त्रिकोणात्मक प्रतिस्प्रर्धाबीच कस्ले बाजी मार्ला ?
नेपालगन्ज ३० कार्तिक : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा भर्खरै वडा तहको निर्वाचन सम्पन्न भएकोछ । वडा तहको निर्वाचन सक्किएसंगै यतिबेला बाँकेमा गाँउ तथा नगरपालिका तहको निर्वाचनको तयारी तिव्ररुपमा अघि बढेकोछ । गाउँ तथा नगर तहको निर्वाचनको पूर्व सन्ध्यामा नेपालगन्ज उपमहानगरपालिका सभापति पदका तीन जना आकाक्षिले उम्मेदवारी घोषणा गरेपछि जिल्लामा सबैभन्दा बढि चासो र चर्चा नेपालगन्ज उपमहानगरपालिकाको रहेकोछ ।
जिल्लामै सबैभन्दा बढि नेपालगन्ज उपमहानगर क्षेत्र सबैको केन्द्रमा परिरहेको छ । पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय सुशिल कोइरालाको गृहनगर भएका कारण पनि नेपालगन्जलाई जिल्लादेखी केन्द्रसम्म निकै चासो र महत्वका साथ हेर्ने गरिन्छ ।
नयाँ नेतृत्वका लागि वर्तमान उपमहानगर सभापति प्रशान्त विष्ट, नेतृ उमा थापामगर र बिनोद रिजालले औपचारिक रुपमै उम्मेदवारी दिने घोषणा गरि मतदाता रिझाउन लागिपरेकाछन् । तीनै जना आकांक्षी पार्टीका युवा नेता हुन् । उनीहरु काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् ।
नयाँ नेतृत्वका लागि वर्तमान उपमहानगर सभापति प्रशान्त विष्ट, नेतृ उमा थापामगर र बिनोद रिजालले उम्मेदवारी दिने सेतोखरीलाई जानकारी समेत गराएकाछन् । उनीहरुका अनुसार हालसम्म नगर सभापतीमा तीन जनाबाहेक अरु आकांक्षी नभएको बताइएकोछ । योसंगै नेपालगन्ज उपमहानगर सभापति पदमा विष्ट, उमा र रिजालबीच प्रतिस्प्रर्धा हुने निश्चित छ ।
जिल्लामै व्यक्तिगत छबि उचो बनाएका यी तीनै जना नेपालगन्जको राजनीतिमा लोकप्रिय नेताका रुपमा परिचित छन् । काँग्रेस कार्यकर्ताको नजरमा यी तीनै जना ब्यक्ति आफैमा योग्य, बलियो र कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका छन् । राजनीति पृष्ठभूमिमा विछट्टै पहिचान बनाउन सफल यी तीन ब्यक्तिबीच कडा प्रतिस्प्रर्धा हुने निश्चित छ । यी तीन मध्ये कस्ले बाजी मार्ला ? उपमहानगरपालिकाको अबको नेतृत्व कसले पाउला भन्ने विभिन्न कोणबाट बहस र चर्चा हुँदै आएकोछ ।
काँग्रेस कार्यकर्ता मात्र होइन अन्य राजनीतिक दल तथा ब्यक्तिहरुले अहिले विभिन्न कोणबाट अड्कल बाजी गरिरहेका छन् । वर्तमान सभापति विष्टले तत्कालिन नेपालगन्ज नगर सभापति भएर पाँच वर्ष र उपमहानगर भएपछि थप पाँच वर्ष गरी १० वर्ष कार्यकाल सम्हाल्ने अवसर पाए ।
१४ औं महाधिवेशनमा पनि विष्टले पुनः उपमहानगर सभापतिमै उम्मेदवारी दिने र त्यसका लागि नेता तथा कार्यकर्ता भेटलाई तिव्रता दिएको सेतोखरीलाई जानकारी दिए ।
वर्तमान सभापति विष्टले आफुले पार्टीलाई झन् बलियो बनाउन पुनः सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । ‘आउने स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने मेरो पहिलो एजेण्डा हो, यसअघिको अनुभवलाई अब कार्यान्वयनमा लैजानेछु,’ उनले भने ‘साथीहरुको आवश्यकता र सुझाव अनुसार म फेरी एक पटक दोहोरिन लागेको हुँ ।’
जिल्लामा पालिका स्तरको अधिवेशनका लागि अहिलेसम्म महिलाले सभापति पदमा आकांक्षा राखेका छैनन् । बाँकेको राजनीतिमा पहिलोपटक पालिका स्तरमा नेतृत्व लिन महिला नेतृ थापाले उम्मेदवारी दिने तयारी गरेको सेतोखरीलाई जानकारी दिइन् ।
सम्भवतः नेतृ थापा महिलातर्फ बाँकेकै पहिलो एक मात्र पालिका सभापतिको उम्मेदवार हुदैछिन् । उनी नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पनि हुन् । नेपाल बिद्यार्थी संघ र नेपाल प्रेस युनियनको पुर्वकेन्द्रिय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु कोषाध्यक्षमा काम गरेको उनको लामो अनुभव छ ।
‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हुन लागेको हो,’ नेतृ थापाले अगाडी भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिला पनि नेतृत्वमा आउन सक्षम छन् भन्नका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’ नेतृ थापाले संगठन निर्माण नै आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै नेतृत्व हस्तान्तरण पनि आफ्नो चुनावी एजेण्डा रहेको बताईन् ।
यस्तै युवा नेता रिजाल वर्तमान नेपाल तरुण दल बाँकेको जिल्ला सचिव हुन् । पार्टीको भातृ संगठनमा रहेर लामो समय काम गरिसकेका उनले यसपटक उपमहानगर सभापतिमा उम्मेदवारी दिने सेतोखरीलाई जानकारी दिए ।
उपमहानगरमा पार्टीको संगठन बलियो बनाउनका लागि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको रिजाल बताउँछन् । ‘मेरो उम्मेदवारी पार्टी संगठन बनाउनका लागि नै हो ।’ स्वर्गीय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न आफु नेतृत्वमा आउन खोजेको बताउँदै उनले संगठन मजबुद नभए, पार्टी बलियो नहुने तर्क राखे ।
नेपालगन्जको २३ वटै वडामा नयाँ र पुरानो गरी ३ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् । यी तीनै जना युवा नेताहरुबीचबाट उपमहानगरपालिकाको आगामी नेतृत्वका लागि कुनै एक चुनिने भएकाले पनि नेता तथा कार्यकर्तालाई यसपटक अलि बढि नै दवाव सिर्जना भएकोछ ।
तीनै जनाको विगत र वर्तमान राजनीतिकि ओजका कारण उनीहरुबीच कडा प्रतिस्प्रर्धा हुने निश्चित छ ।
यता जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईका अनुसार बाँकेमा पालिका अधिवेशन मंसिर २ गते तय गरिएकोछ । भने त्यसका लागि उम्मेदवारी दर्ता मंसिर १ गते(भोली) नै हुनेछ ।