काँग्रेसलाई ओलीको प्रश्न ‘एमालेसँग एक्लै लड्ने दम छ ?’


काँग्रेसलाई ओलीको प्रश्न ‘एमालेसँग एक्लै लड्ने दम छ ?’

नेपालगन्ज १ मंसिरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्ने दम काँग्रेससंग नभएको बताएकाछन् । बुधबार नेपालगन्जमा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने,–‘नेपाली काँग्रेसलाई म सोध्न चाहन्छु– एमालेसँग एक्लै लड्ने दम छ ?’ ओलीले नेपालको राजनीतिक इतिहासमा पुरानो इतिहास बनाएको काँग्रेस अहिले हराउँदै र बिलाउँदै गएको बताउँदै भने –‘नेपाली काँग्रेसले प्रधानमन्त्रीको कुर्सीका लागि बीपीको सिद्धान्त बिर्सिएको छ ।’

‘कहाँ छ काँग्रेसमा बीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहाल्यो,’ अध्यक्ष ओलीले भने, ‘नेपाली काँग्रेस अहिले चार वटा बैशाखी टेकेर हिँडेको छ ।’

‘चार हात टेकेर हिँड्छ काँग्रेस । चुनावसम्म गठबन्धन रे, म काँग्रेसलाई सोध्न चाहान्छु एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? सक्छ एमालेसँग एक्लै लड्न काँग्रेसले ? काँग्रेस हिजोको छैन बुढो भयो । अब काँग्रेस अरूसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन’, ओलीको टिप्पणी छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेस प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डपथमा हिँडेको बताउँदै उनले भने –‘माओवादीमा लागेका असल कार्यकर्ताहरु अहिले पनि पेटमा गोली लिएर बस्न बाध्य भएको भन्दै ओलीले नेताका छोराछोरी, ज्वाईंले पार्टीमा रजाईँ गरिरहेकाछन् ।’

उनले गठबन्धन बिना आए जुनसुकै पार्टीको जमानत जफत हुने दावी गरे । ओलीले माओवादी कार्यकर्तालाई एमालेमा आउन आह्वानसमेत गरे । उनले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने बताए ।

‘एमाले विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको छ’ ओलीले भने –‘एमालेमा अब अहंकार भएको मान्छे छैनन्,’ माधव नेपालप्रति कटाक्ष गर्दै उनले भने, ‘केपी ओलीलाई भेट्दिन भन्ने अनि मुसा बनेर खुर्ररर बुढानिलकण्ठ जाने । यस्तो कुलंगार प्रवृत्ति हटेको छ ।’

एमाले विधि, विधान, नीति र विचारले चलेको पार्टी भएकाले अन्य दलसँग तुलना हुन नसक्ने उनको भनाई छ । एमालेको नीति र विचार अध्ययन गरेर पार्टी विशाल भएको उनले बताए । ओलीले न्यायालयमा भएको विवादका विषयमा समेत कटाक्ष गर्दै भने–‘जनताको समस्या नहेर्ने र तलव भत्ता लिने न्यायाधीश हुनु दुःखद् कुरा हो ।’

पार्टि प्रवेश कार्यक्रममा स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्र, गिरिजा पाठक, खजुराका नेता करिम खाँलगायत एमालेमा प्रवेश गरेका छन् ।