इन्टरलक टायल्स विच्छ्याउदैं कामदार । तस्विर: विजय मल्ल/सेतोखरी
नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले न्यूरोड सौन्दर्यकरणको कार्यलाई तिब्रता दिएकोछ । यससगैं न्यूरोडको सौन्दर्यकरण कार्यले तिव्रता पाएको हो । इन्टरलक टायल्स विच्छ्याउने काम यतिवेला न्यूरोडको भानुभक्त चोकसम्म पुगेकोछ ।
न्यूरोडको सौन्दर्यकरण कार्यक्रमअन्र्तगत सडकको बिचभाग (ग्रीनबेल्ट) मा इन्टरलक टायल्स विच्छ्याइदैछ । ठेकेदार कम्पनी एडिफिस इन्जिनियरिङ्ग सोलुसन एण्ड कन्सट्रक्सनले निर्धारित समयसीमा भित्र कार्य सम्पादन गर्न कार्यलाई तिव्रता दिएको हो ।
लेयिङ्ग अफ इन्टरलक टायल्स कार्यक्रम अन्र्तगत सेतुविक चोकदेखि दक्षिण त्रिवेणी मोडसम्मको ग्रीन बेल्टमा इन्टरलक टायल्स लगाइनेछ ।
गत बैशाख १२ गतेदेखि सुरु गरिएको ग्रीनबेल्टमा टायल विच्छ्याएसगैं न्यूरोडको सौन्दर्यकरण बढ्ने नेपालगन्ज उपमहानगरपालिकाले जनाएकोछ । नेपालगन्ज उपमहानगरपालिकाको २ र ४ वडामा पर्ने न्यूरोडको सौन्दर्यकरण आगामी असार १५ गते सम्पन्न हुनेछ ।
उपमहानगरपालिकाको कुल लागत १४ लाख ९८ हजार ९ सय उनान्नब्बे रुपैयाँमा सौन्दर्यकरण भइरहेको हो । नेपालगन्जको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको न्यूरोडको बीचमा पर्ने बोट विरुवाहरुको संरक्षण गर्दै आधुनिकरण र सौन्र्दयीकरण गरि नमुना व्यापारिक केन्द्र बनाउने योजना रहेको उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले बताए ।
उनका अनुसार सडकलाई सौन्र्दयीकरण गरि थप आर्कषक बनाउने लक्ष्यका साथ उक्त कार्यको थालनी गरिएको हो । ‘नेपालगन्जको बृहत्तर हितको र नेपालकै एक सुन्दर हराभरा पर्यटकिय औद्योगिक शहरका रुपमा स्थापना गर्ने लक्ष्य उपमहानगरपालिकाले लिएको छ’ प्रवक्ता रिजालले भने –‘सो स्थानमा फुल रोपी आकर्षक बनाइनेछ । यसले न्यूरोडको मुहार फेरिन्छ ।’
यसअघि उपमहानगरपालिकाले ग्रीनवेल्टमा रहेका रुखहरु काट्न लागिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध गरिएको थियो । सामाजिक सञ्जालमा आएका विभिन्न अभिब्यक्तिलाई मध्यनजर गर्दै उप–महानगरका मेयर डा. धवल शम्शेर राणाले न्यूरोडका रुख विरुवा काट्न लाग्यो भन्ने हल्लाका पछि नपर्न नगरबासीलाई आग्रह समेत गरेका थिए । उनले ‘न्यूरोडको सौन्दर्यकरण गर्न लागिएको हो । ग्रीन बेल्टमा थप फुल र रुखका विरुवा लगाइ हरियाली न्यूरोड बनाउन लागेको प्रष्ट पारेका थिए ।