नेपालगन्ज: नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध ओसारपसारमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउपर्नेको संख्या पनि बढेकोछ ।
खुला सीमानाको भरपुर फाइदा उठाउदै लागुऔषध ओसारपसार हुने नेपाल–भारत सीमानाकामा प्रहरीले कुकुरको सहारामा निगरानी बढाएकोहो । प्रहरीले कुकुरको सहयोगमा निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउ पर्नेहरु पनि बढेका छन् ।
कुकुरको सहयोग लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नम्बर ५ नेपालगन्जले सोमबार लागूऔषधसहित सात जनालाई पक्राउ गरेकोछ । नेपाल–भारत नाका जमुनहाबाट लागूऔषध सम्बन्धि विज्ञ कुकुरको सहयोग लिदाँ लागुपदार्थसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
थापाले लागूऔषधको विज्ञ ‘गौरी’ नामक पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको बताए । कुकुरको सहायतामा प्रहरीले १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका आदिल मियाँ, दाङ घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का, नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर सहित उनीहरुलाई नियन्त्रणमा राखिएकोछ ।
यस्तै नेपालगन्ज– १८ भुजईगाउँका किशोरकुमार धोवीबाट ४ ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स प्रहरीले बरामद गरेकोहो ।
प्रहरीले सोमबारनै कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए । हरिजनको साथबाट ३९ ट्याब्लेट नाइट्रो भ्याट बरामद गरेको छ ।
हरिजनलाई पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर भारतीय बजार रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नेपाल आउदै गरेका थप दुई जनाबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । पक्राउ परेका दुवैजनालाई अभिभावकको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमाना जमुनाहमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले कुकुरको सहयोग लिएपछि लागुऔषधसहित पक्राउपर्नेहरुको संख्या बढेको हो ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले हालसम्म बाँकेमा बैशाख महिनामा मात्र २२ मुद्दा चलाउदै २९ जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएकोछ । ब्यूरो अन्र्तगत बाँकेमा १० जनाको टोली लागुऔषध नियन्त्रणमा सक्रिय छ ।