नेपालगन्ज: राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइबाट किसानले पानी पाउने आशा गरेको पनि वर्षौं भइसक्यो । दिन वित्यो, समय अनि वर्ष तर, किसानका खेतमा सिक्टाको पानी आएन । आकाशे पानीको भरमा खेती गर्दै आएका बाँकेका किसानले सिक्टा नहरको पानी यस वर्ष पनि नपाउने निश्चित भएको छ ।
२०७५ साउन ७ मा विभिन्न ठाउँमा नहरको बाँध भत्किए पनि समयमा मर्मत–सम्भार हुन नसक्दा किसानले पानी नपाउने निश्चित भएको छ । सिक्टा आयोजनाको लापरवाही र सरकारको उदासिनताले बाँकेका किसानले सिक्टाको पानी नपाउने भएका हुन् । धान खेतीको सिजन आउन केही समय बाँकी रहदाँ आयोजना आसपासका किसान चिन्तित बन्न पुगेकाछन् ।
सिक्टा सिंचाइ आयोजनाले पहिलो चरणमा पश्चिम नहरबाट बाँकेका ५० हजार परिवारमध्ये २१ हजार परिवारलाई सिंचाइ सुविधा दिने योजना बनाएको थियो । पटक–पटक बाँध भत्केपछि चर्को विरोध र अख्तियारमा उजुरी परेपछि मर्मत–सम्भारमा बाधा पुगेको सिक्टा सिंचाइ आयोजनाले जनाएको छ ।
‘बाँध भत्केको दिनदेखि नै मर्मत–सम्भार गर्न पाएको भए अहिलेसम्म किसानले सिंचाइका लागि सिक्टा नहरको पानी पाइसक्ने थिए’, सिक्टा सिंचाइ आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले भने, ‘तीनमहिना अघि नै मर्मत–सम्भारका लागि अनुरोध गरे पनि केन्द्रबाट निर्देशन आउन नसक्दा ढिलाई भएको हो ।’
उनले त्रुटि पत्ता लगाउन नहमा पानी परीक्षण गर्ने सैद्धान्तिक ब्यवस्था भएकाले त्रुटि हुनासाथ मर्मत–सम्भार गर्न नपाउँदा समस्या झनै जटिल भएको बताए ।
‘पानी छोड्दै मर्मत–सम्भार गर्दै गरेको भए अहिलेसम्म मर्मतको काम पूरा भएर कृषकले पानी उपभोग गर्न सुरु भइसक्थ्यो’ उनले भने । मर्मत गर्ने मन्त्रीपरिषदको निर्णय, तर कार्यादेश आएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिंचाइ आयोजनाको ३ बैशाखमा हेलिकप्टर मार्फत निरीक्षण गरेपछि १० बैशाखमा बसेको मन्त्री परिषद बैठकले सिक्टा नहरको मर्मत–सम्भार गर्ने निर्णय गरि अनुमानित लागत पठाउन सिक्टा सिंचाइ आयोजनालाई निर्देशन दिएको थियो ।
त्यस लगत्तै आयोजनाले वस्तुगत अध्ययन गरी अनुमानित लागत पठाए पनि अहिलेसम्म स्विकृत भइनसकेको उनले बताए । एकहप्ता भित्र रकमसहितको परिपत्र आउने बताउदै उनले भने–‘रकम र कार्यादेश आए पनि यस वर्षको धान खेतीका लागि नहरमा पानी छोड्न सकिदैन ।
‘नहरको मर्मत गर्न कम्तीमा तीन महिना लाग्ने अनुमान छ, एक महिनामा मर्मतको काम सम्पन्न गर्न सक्ने कुनै सम्भावना नरहेको’ उनले बताए ।
पश्चिम मुल नहरको ४५.२५ किलोमिटर मध्ये ०–१८ किलोमिटरसम्मको नहरमा कुनै पनि समस्या नभएको आयोजना निर्देशक नेपालको भनाई छ । उनले २०–२६ किलोमिटरमा अधिक र २६–३४ किलोमिटरमा सामान्य मर्मत गर्नुपर्ने अवस्था रहेको बताए । मुल नहरको ०–१८ किलोमिटरमा पानी छोड्न सकिन्छ, यस क्षेत्रमा कुनै पनि समस्या छैन तर मर्मत–सम्भार गरेको लामो समय भएकोले धेरै ठाउँमा समस्या देखिन सक्ने उनी बताउछन् ।