नेपालगन्ज ११ मंसिर : भष्ट्राचार दिवसको अवसर पारेर बागेश्वरी असल शासन क्लब (बास)ले ‘नेपालगन्ज वाकाथन’ गर्ने भएको छ । भष्ट्राचार विरुद्ध सक्रिय भएर काम गरिरहेको बासले अन्तर्राष्ट्रिय भष्ट्राचार दिवसको अवसर पारेर नेपालगन्जमा वाकाथन गर्ने भएको हो ।
मंसिर २३ गते आयोजना गरिने वाकाथनलाई भव्य बनाउन बासले विभिन्न उप–समिति बनाएर तयारी समेत सुरु गरेको छ । अन्तरालले व्यवस्थापन गर्ने वाकाथनले भष्ट्राचार विरुद्ध जागरण ल्याउने उद्देश्य लिएको वाकाथन कार्यक्रम संयोजक नमस्कार शाहले बताए ।
उनले भने, ‘हामी भष्ट्राचार विरुद्ध काम गरिरहेका छौं । भष्ट्राचार विरुद्धको दिवस हाम्रो लागि महत्वपूर्ण दिन हो । यहि दिनको अवसर पारेर हामीले नयाँ कार्यक्रमको सुरुआत गर्ने तयारी गरेको छौं ।’
भष्ट्राचार विरुद्ध संगठित भएर समाज जागरण ल्याउन जरुरी रहेको बताउँदैं शाहले त्यसका लागि वाकाथन एउटा सशक्त माध्यम बन्ने बताए ।
‘भष्ट्राचार विरुद्धका लागि सँगै हिडौं’ भन्ने नारा साथ आयोजना गरिन लागेको वाकाथनको तयारी बारे बासले शनिबार विभिन्न संघ–संस्थासँग छलफल बैठक समेत गरेको छ ।
बैठकले विभिन्न १५ वटा उपसमिति समेत गठन गरेको छ । आर्थिक समिति संयोजकमा दीला शाह, संस्कृति समितिमा महेन्द्र सेडाई, प्रचारप्रसार समितिमा कमल खत्री, व्यवस्थापन तथा सुरक्षा समितिमा जयनारायण शाह, स्वयसेवक परिचालन समितिमा शिवकुमार वर्मा, खानेपानी तथा सरसफाई समन्वय समितिमा शोभा थापामगर, समारोहमा कमल शाही, सचिवालयमा मन भण्डारी, झाँकी व्यवस्थापनमा तारा रोकाय, अपाङ्ग समन्वय समितिमा गणेश प्रसाद भट्टराई, अभिलेखिकरणमा खेम विष्ट र मञ्च व्यवस्थापन समितिमा बसन्ती रोकायलाई संयोजकको जिम्मेवारी दिइएको छ ।