बाँकेमा देउवा समुहका ५ प्यानल, उम्मेदवार बनाउन प्रतिनिधी खोसाखोस


बाँकेमा देउवा समुहका ५ प्यानल, उम्मेदवार बनाउन प्रतिनिधी खोसाखोस

नेपालगन्ज १४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेमा हुने जिल्ला निर्वाचनमा देउवा समुहका ५ प्यानल खडा भएकोछ । जिल्ला निर्वाचन स्थगित हुँदा चुनावको तयारी गरिरहेका उम्मेदवारहरु यतीबेला आ–आफ्ना प्यानलबाट भब्य तयारीमा जुटेकाछन् ।

नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचनका लागि संस्थापन (देउवा) समुह र संस्थापन इतर(कोइराला–पौडेल) समुहबीच प्रतिस्पर्धा हुने निश्चित छ । देउवा समुहबाट लुम्बिनी प्रदेशका वन मन्त्री समेत रहेका काँग्रेस नेता सुरेन्द्र हमाल, पुर्वसभासद बादशाह कुर्मी, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह प्यानलनै खडा गरेर चुनावी रणनीति र योजनामा लागेकाछन् ।

देउवा समुहबाटै काँग्रेस बाँकेको सभापतिमा ५ जना नेताले प्यानलमार्फत लविङ्ग र निर्वाचन गतिविधिलाई तिव्रता दिएकाछन् । देउवा समुहबाट सुरेन्द्र हमाल नेतृत्वको प्यानल, बादशाह कुर्मी नेतृत्वको प्यानल, निरञ्जनसिंह सिजापति नेतृत्वको प्यानल, राजकुमार बर्मा नेतृत्वको प्यानल र लक्ष्मीनारायण शाह नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको हो ।

जिल्लाका प्रभावशाली नेताहरु एउटै समुहबाट फरक–फरक प्यानल बनाएर जिल्ला निर्वाचनमा होमिदा यतिबेला उनीहरुलाई प्यानलको टिम तयार पार्न हम्मे हम्मे भएकोछ । एउटै समुहबाट ५ जना काँग्रेस बाँकेका हस्तीहरुले फरक–फरक प्यानल बनाई चुनावी गतिविधिलाई अगाडी बढाएपछि प्यानलबाट उम्मेदवार बनाउन प्रतिनिधी समेत अपुग भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पाँच जना प्रभावशाली नेताको छुट्टा–छुट्टै प्यानल तयार पार्न प्रतिनिधी कम भएपछि यतिबेला देउवा समुहमै प्रतिनिधी खोसाखोस भइरहेकोछ । प्यानलको उम्मेदवार बनाउन एउटै समुहबाट उम्मेदवारी घोषणा गरेको प्रभावशाली नेताहरुले प्रतिनिधी फकाउन र आफ्नो प्रभाव पार्न लागि परेकाछन् ।

देउवा समुहकै प्रभावशाली नेताहरुले आ–आफ्नो प्यानलबाट उम्मेदवार बन्न दवाव सिर्जना गरेपछि यतिबेला प्रतिनिधीलाई अप्ठ्यारो समेत परेको छ । जसले गर्दा देउवा समुहबाट सभापतिमा आकांक्षि ५ जनाको प्यानलले पूर्णता पाएको छैन ।

काँग्रेस बाँकेको सभापति पदमा आकांक्षी पाइएका यी ५ जना नेताहरुमध्ये नेता कुर्मीले यही शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी बाँके पार्टी सभापतिमा आफुले उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरेका थिए ।

यता संस्थापन इतर (पौडेल–कोइराला) समुहबाट भने नारायणप्रसाद गौडेलको उम्मेदवारी निश्चित भइसकेको छ । पौडेल–कोइराला समुहबाट गौडेल बाहेक अन्य नेताको उम्मेदवारी आएकोछैन । यसैले पनि गौडेलले आफ्नो प्रचारप्रसार सुरु गरि मतदाता फकाउन लागि परेकाछन् ।

देउवा समुहबाट यति धेरै उम्मेदवारी आएपछि सेतोखरीले देउवा प्यानलबाट पुनः नेपालगन्ज नगरसभापतिमा विजयी भएका नेता प्रशान्त विष्ट भन्छन्–‘बाँकेमा सबैभन्दा बलियो समुह भनेकै देउवा समुह हो । देउवा समुह बलियो हुनु र यही समुहबाट थुप्रै बलिया र प्रभावशाली नेता हुनुले एउटै समुहबाट धेरैजना आकांक्षी हुनु स्वभाविक हो ।’ नगर सभापति विष्टले अगाडी थपे–‘एउटै समुहका धेरै नेताले बाँके काँग्रेस सभापतिमा आकांक्षा ब्यक्त गर्नु स्वभाविक हो । हामी सबै मिलेर जान्छौं । सहमतिके प्रयास जारी छ । ढुक्क हुनुहोस् अन्तिममा देउवा समुहबाट एउटा मात्र उम्मेदवार हुन्छ ।’

सेतोखरीसंग कुरा गर्दै नगरसभापति विष्टले भने–‘केन्द्रिय महाधिवेशनपछि अन्य उम्मेदवारको टुङ्गो लाग्छ । सबैलाई मिलाएर देउवा समुहबाट एउटा मात्रै उम्मेदवार चुनावमा उत्रिन्छ ।’

देउवा समुहबाट काँग्रेस बाँकेको सभापति पदमा आकांक्षी अर्का नेता लक्ष्मीनारायण शाह देउवा समुहमा धेरै नेता भएकाले सभापति पदमा उम्मेदवारी धेरैको आउनु निश्चित हो । एउटै समुहबाट धेरैले उम्मेदवारी दिनु स्वभाविक भएको बताए ।

नेता शाहले भने –‘लोकतान्त्रिक पार्टी हो । विधी र प्रकृयालाई हामी स्वीर्काछौं । टिमको सहमति हुन्छ । आशा गरौं कुनै एकमा सहमती हुनसक्छ । सहमतिको प्रयास जारी छ ।’

यता नेपाली काँग्रेस बाँकेको जिल्ला सभापतिमा जिल्लामै सबैभन्दा पहिले देउवा समुहबाट काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता तथा पूर्वसभासद बादशाह कुर्मीले देउवा समुहबाट आफू बाहेक अरु कोहीको उम्मेदवारी नभएको दावि गरे ।

सेतोखरीसंग कुरा गर्दै नेता बादशाहले भने–‘पार्टी सभापतिको लागि उम्मेदवारी घोषण गर्ने पहिलो ब्यक्ति म नै हुँ । सबै साथीहरुको साथ र सहयोग मलाईछ । अरुले आधिकारिकरुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरेको मैले अहिलेसम्म थाहा पाएकोछैन ।’

नेता बादशाहले अगाडी थपे–‘देउवा समुहमै कोही आकांक्षी होला ! मलाई थाहा भएन । अरुले उम्मेदवारी घोषणा गरेको पनि थाहा भएन । निर्वाचन प्रकृया शुरु भएकै बेला नाम नोमिनेशन गर्नेबेलासम्म पनि कोही आकांक्षी भएको भए अवश्य घोषणा गर्नुहुन्थ्यो त्यो पनि भएन ।’ सेतोखरीसंग कुरा गर्दै उनले भने –‘काँग्रेस बाँकेको पार्टी सभापतिका लागि अरु आकांक्षी भएपनि देउवा समुहबाट भने म एक्लो उम्मेदवार नै हो ।’

बाँकेमा हिजो सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने निर्वाचन कार्यतालिका प्रकाशन भइसकेको थियो । लुम्बिनी प्रदेशको अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने अवस्था आएको भन्दै केन्द्रको निर्देशनमा जिल्ला निर्वाचन समितिले स्थगित गरेको हो ।

यसअघि लुम्बिनी प्रदेशको अधिवेशन यही मंसिर १५ गतेदेखी सुरु हुने भनिएको थियो । प्रदेश अधिवेशनको निर्वाचन तालिका पनि फेरबदल गरेर सोमबार पछाडी धकेलिएको छ । जिल्लाको निर्वाचन अचानक स्थगित हुनु, प्रदेश र केन्द्रको निर्वाचन तालिका फेरबदल हुनुले यहाँका काँग्रेस नेता कार्यकर्ता अन्यौलमा छन् । जिल्लामा स्थगित भएको निर्वाचन प्रदेश अधिवेशनपछि हुन्छ वा केन्द्रिय महाधिवेशनपछि हुन्छ भन्नेमा अन्यौलता छाएको छ।