पाँच ठाउँमा प्रहरी चेकजाँच भएर आएको मालसामान नेपालगन्जमा पक्राउ हुन्छ

सीमा क्षेत्रमा घुस रकम लेनदेन


पाँच ठाउँमा प्रहरी चेकजाँच भएर आएको मालसामान नेपालगन्जमा पक्राउ हुन्छ

नेपालगन्ज:भारतबाट आउनेलाई चेकजाँच गर्न जमुनहा नाकाबाट चौलिक्का चोकसम्म पाँच ठाउँमा सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाइलै पिच्छे सामानको जाँच गर्छन् र सामान किनमेल गरेर आउनेलाई केरकार गर्छन् ।

काम गरेर भारतबाट फर्किनेलाई पनि सीमा बसेका सुरक्षाकर्मीले केरकार पार्ने र अवैध सामान तथा विस्फोटक पदार्थ भित्रिन नदिन जाँचबुझ गर्छन् । अवैध सामान भित्रिन नदिन नाकामा ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरीले जाँच गरिसकेपछि मात्र अगाडी बढ्न पाइन्छ । त्यस लगतै सशस्त्र प्रहरीले सामानको जाँच गर्छ ।

त्यहाँबाट छुटकारा पाएपछि नेपालगन्ज भन्सार कार्यालयको गेटमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको जाँच गर्ने पालो आउँछ । यति गरेर पनि सर्वसाधारण सजिलै नेपालगन्ज पुग्ने अवस्था रहदैन । भन्सारको पाँचसय मिटर उत्तरमा फेरी पनि सीमा प्रहरीको सामना गर्नुपर्ने हुन्छ । सीमा प्रहरी चौकी जैयसपुरले जेकजाँच गर्छ । त्यसको पाँच सय मिटर उत्तर चौलिका चोकमा फेरि सशस्त्र प्रहरीले जाँचबुुझ गरेपछि मात्र नेपालगन्ज पुग्न सकिन्छ ।

यी त पाँच–पाँचसय मिटर दूरीमा रहेका सुरक्षाकर्मी मात्र हुन् । अवैध सामान भित्रिन नदिन दुवै प्रहरी फोर्सले घुमुवा प्रहरी (सादा पोशाकका प्रहरी) पनि परिचालन गरेका छन् । ती घुुमुवा प्रहरीले सुराकीको आधारमा अवैध सामान ल्याउनेलाई पक्राउ गर्दै आएका पनि छन् ।
उता, हिरमिनिया, साईगाउँका प्रहरी चौकीले पनि अवैध सामान ओसार पसार गर्नेहरु माथि निगरानी गर्दै आएका छन् । अवैध बाटो भएर भारतबाट सामान ओसार पसार गर्नेलाई समातेर बरामद भएको सामान भन्सार कार्यालयमा बुझाउनु पर्ने दायित्व यी प्रहरी चौकीको पनि हो ।
तर, यतिधेरै सुरक्षाकर्मी परिचालन भए पनि अवैध सामान नेपालगन्जका विभिन्न स्थानबाट बरामद हुने गरेको छ । सीमा क्षेत्र जमुनाहा देखि नेपालगन्ज नपुग्दै ५ चेकजाँच हुन्छ तर त्यहि चेकजाँचबाट निस्किएको मालसामान नेपालगन्जमा कसरी पक्राउ हुन्छ ? यो गम्भीर बिषय बनेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसको ज्वलन्त उदाहरण वडा प्रहरी कार्यालय नेपालगन्जले देखाइदिएको छ । जमुनाहा प्रहरी चौकीदेखि सशस्त्रको चौलिका चोकसम्म पर्ने ५ वटा जेकजाँच गर्ने निकायले तस्करसँग राम्रै घुस रकम लिएर मालसामान छोड्छन् र त्यहि मालसामान नेपालगन्ज पक्राउ हुन्छ भन्ने कुराको पुष्टी वडा प्रहरी कार्यालय नेपालगन्जले पक्राउ गरेको मालसामानको तथ्यांकले गरिदिएको छ । सीमा क्षेत्रमा सडकमा चेकजाँच गर्न बसेका भन्सार कर्मचारीदेखि सशस्त्र र जनपद प्रहरीका खल्ती र टोपी चेकजाँच गर्ने हो भने कच्यक कुचुक पारेर राखेको पैसा भेटिन्छ । उनीहरुले मालसामान तस्करी गर्नेबाट घुस रकम खाँदै र छोड्दै गर्छन् जुन मालसामान नेपालगन्जमा आएर पक्राउ हुन्छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको तथ्यांक अनुसार, वडा प्रहरीले १० महिनामा ६५ लाख ९५ हजार ५ सय ६५ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको छ । सो अवधिमा अवैध सामान ओसारपसार गर्ने २१ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले अवैध सामान ओसार्न प्रयोग भएको ४ ट्याक्टर, एक अटो, १३ मोटरसाइकल र १२ साइकल बरामद गरि कारवाही प्रक्रिया अगाडी बढाएको समेत जानकारी दिए । ‘प्रहरीलाई देख्नासाथ सामान फालेर भाग्ने गरेका कारण ओसार पसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गह्रो भएको छ,’ उनले भने ।

नाका हुँदै आएका सामान नेपालगन्जबाट बरामद
अवैध सामान भित्रिन नदिन सीमा क्षेत्रमा सुरक्षाकर्मी खटिए पनि नेपालगन्जमा अवैध सामान फेला पर्नुले सीमा क्षेत्रका सुरक्षाकर्मीले लापरवाही गरेको पुष्टि हुन्छ । यसले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सामान ओसार पसार गर्ने तस्करहरुसँग मोटो रकम लिएको भन्ने पुष्टि पनि गर्दछ ।

भन्सार छलेर ल्याएको सामान बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डाँगीले बताउनुले पनि सीमा क्षेत्रमा मोटो रकमको चलखेल हुने गरेको खुलासा भएको छ । ‘हामीले भन्सार छलेर अवैध रुपमा भित्रिएको सामान, ओसार पसार गर्न प्रयोग हुने साधन र ओसार पसारमा संलग्नलाई पक्राउ र सामान बरामद गर्दै आएका छौँ,’ डाँगीले भने ।

साना कारोबारी मात्र पक्राउ
वडा प्रहरी कार्यालयले अवैध सामान सहित ओसार पसारमा संलग्नलाई नियन्त्रणमा लिए पनि अवैध सामान नेपाल ल्याउने ठूला ठेकेदारलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । सामान क्यारिङ गरेर नेपालगन्ज ल्याउने र नेपालगन्जका विभिन्न पसलमा विक्री गर्ने क्यारियरलाई मात्र पक्राउ गरेको वडा प्रहरीको तथ्यांकले देखाएको छ ।

धेरै परिमाणमा सामान ल्याउनेहरु नदेखिने भएकोले थोरै परिमाणमा सामान ओसार पसार गर्नेहरु फेला पर्ने गरेको निरीक्षक डाँगीले बताए । उनले पहिलेको भन्दा अहिले ठूला कारोवारीलाई पनि नियन्त्रणमा लिएर सामान जफत गरिएको दावी गरे । ‘सामान ओसार्न प्रयोग भएका ट्याक्टर पनि हामीले नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएका छौँ,’ उनले भने ।

अवैध सामान रोक्ने हाम्रो काम होइन: एसपी पौडेल
भारतबाट ल्याउँदै गरेको सामानको चेकजाँच गर्ने र अवैध सामान नियन्त्रण गर्ने दायित्व इलाका प्रहरी कार्यालय, जमुनहाको नभएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । एसपी पौडेलले यसो भनिरहँदा जमुनहा र सीमा प्रहरीले चेकजाँच भने गरिरहेको छ । उनले जमुनहा प्रहरीलाई ट्राफिक ब्यवस्थापन गर्ने र लागूऔषध तथा विस्फोटक पदार्थको जाँचबुझ गर्ने अधिकार मात्र भएको जिकिर गरे । उनले नेपालगन्ज नाकामा ईलाका प्रहरी कार्यालय जमुनहा बाहेक नेपाल प्रहरीको अन्य कुनै चेकपोष्ट नभएको दावी गरे । तर, सीमा प्रहरीले सामान बोकेको देख्यो की चिल्लाउँदै खानतलासी गर्न आईहाल्छ । ‘भन्सार गराएर लैजान्छु भनेपछि जमुनहा प्रहरीले रोक्ने कुरा हुँदैन,’ उनले भने । 

सशस्त्र प्रहरी बल, ३० नंं. गण महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमामा सशस्त्र प्रहरी परिचालन भए पनि खुला सीमाका कारण अवैध सामान नियन्त्रण गर्न नसकिएको बताए । उनले खुला सीमानाको फाइदा उठाउँदै तस्करले लुकिछिपी अवैध रुपमा सामान ल्याउने गरेको बताए । ‘हामी सकेसम्म तस्करी रोक्ने अभियानमा छौँ, झुक्याएर, छक्याएर तस्करले सामान नेपालगन्ज पु¥याउँछन्,’ शाहले भने ।