जथाभावी पार्किङले नागरिकलाई हैरानी
नेपालगन्ज : नेपालगन्जको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले उदासिनता देखाएकोछ । उपमहानगरको ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिवेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुनुका साथै हिडडुल गर्न समेत अप्ठेरो बनेको छ ।
विशेषगरि नेपालगन्ज सदरलाईन, त्रिभुवन चोक, सेतुविकचोदेखि सुर्खेतरोड जाने बाटो, भेरी अस्पताल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । भनौ ट्राफिकको उपस्थिती नै रहेकोछैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधरणले सास्ती भोग्नु परेकोछ ।
हारायो ट्राफिकको नयाँ अभ्यास
उपमहानगरपालिकामा सवारीको चाप बढेसँगै यसअघि ट्राफिक ब्यबस्थापनमा कडाई गरिएको थियो । ट्राफिकले गत चैत्र अन्तिम साता उपमहानगरको चोक–चोकमा ठूलो मात्रामा ट्राफिक प्रहरी परिचालन गरि सवारी आवगमनलाई सहज बनाइरहेका थिए ।
उपमहानगरको विभिन्न नाका भएर आवागमन गर्ने सवारी साधन होस् वा पैदल यात्रु सवैलाई ट्राफिकले नियन्त्रणमा राखि सहज आवागम गराउनुका साथै जनचेतना पनि दिइरहेका थिए । सो दृष्य देख्ने र टूाफिकको निर्देशनमा सडक पार गर्नेहरुले ट्राफिक व्यवस्थापनको खुलेरै प्रशंसा गरे ।
नेपालगन्जमै पहिलो पटक ट्राफिक प्रहरीहरुबाट सवारी आवागमनलाई सहज बनाउन साँकेतिक अभ्यास सुरु गरिएको थियो । तर, एक महिना नवित्दै नेपालगन्ज पुनः पुरानै स्थितीमा फर्केकोछ । सडक पेटी ओगेटर राखिएका फुटपात पसल, ठेला र मनपरि ठाँउमा पार्किङ्ग गरिएका सवारीसाधनले उपमहानगरको स्वरुपनै कुरुप बनाएकोछ ।
विशेषगरि सदरलाईन, त्रिवेणी मोड, त्रिभुवन चोक, भेरी अस्पताल लगायत विभिन्न चोक–चोक र सडकको बीचभागै ई–रिक्सा र ठेलाको आतंक नैछ । जसले गर्दा अन्य सवारी साधनलाई मात्र नभएर पैदल यात्रुलाई समेत असहज बनिरहेकोछ ।
जनशक्ति अभाव होः ट्राफिक
जनशक्ति अभावका कारण उपमहानगरको ट्राफिक व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका ईन्चार्ज सइ भीमराज ओली बताउछन् ।
‘यसअघि जिल्ला ट्राफिक कार्यालय नेपालगन्जमा रहँदा धेरैमात्रामा ट्राफिक प्रहरी थिए । जसका कारण उपमहानगरको ट्राफिक व्यवस्थापन सहज भएको थियो ।’ ईन्चार्ज सई ओलीले भने–‘अहिले मुस्किलले ७–८ जना छौं । ट्राफिक जनशक्तिकै अभावका कारण केही अस्तव्यस्त देखिएको हो, हामी विहान बेलुका ट्राफिक व्यवस्थापन गरिरहेकाछौं ।’ उनले भने ।
ट्राफिक विनाका आइल्याण्ड
उपमहानगरपालिकाको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले उपमहानगरका विभिन्न चोक–चोकमा ट्राफिक आइल्याण्ड राख्यो । सुरुवतामा राखिन लागेको ट्राफिक आइल्याण्डका विषयमा सामाजिक सञ्जालमा थुप्रै बहस भए । चोक–चोकमा राखिएको ट्राफिक आइल्याण्डबाट ट्राफिक व्यवस्थापन गर्ने जिल्ला ट्राफिक कार्यालयले बतायो ।
तर, त्यसो हुन सकेन । उपमहानगरपालिकाका विभिन्न स्थानमा करिब एक दर्जन आइल्याण्ड राखिएको छ । जहाँ ट्राफिक हुदैनन् । यसरी ठूलो रकम खर्चेर राखिएका आइल्याण्ड प्रयोग विहिन बनेकोछ ।
ट्राफिक व्यवस्थापनमा समन्वय छैन
एकातिर जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले समस्या भोगिरहेको बताइरहेकोछ । भने, अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन । जसका कारण उपमहानगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेकोछ ।
‘उपमहनगरको नगर प्रहरी कहाँछन् थाहा छैन तर, ड्युटिमा खटिएका नेपाल प्रहरीले ट्राफिक ब्यवस्थापनका लागि भने चासो नदिएको एक ट्राफिक प्रहरीले नाम नछाप्ने शर्तमा बोले ।
उनले भने –‘सगैं रहेका नेपाल प्रहरीका साथीहरु ट्राफिक व्यवस्थापन गरिरहँदा आफ्नै धुनमा हुन्छन् । जनशक्ति अभावमा ट्राफिक व्यवस्थापन गर्दा नेपाल प्रहरीले पनि साथ दिएको भए सहज हुनेथियो नी ।’
सदरलाईनको भद्रगोल ट्राफिक व्यवस्थापनलाई सराप्दै स्थानीय गणेश धोवीले भने –‘यस्तो तालले उपमहानगरको ट्राफिक व्यवस्थापन हुनैसक्दैन । नेपाल प्रहरी आफ्नै तालमा हुन्छन्, टूाफिक प्रहरीको अनुभूती नै छैन् । अझ त नगर प्रहरी कुन दुलामा लुकेछन् देखिदैनन् ।’
यस्तै नेपालगन्ज उपमहानगरपालिका साविक वडा नम्बर ८ का मोहम्मद युनूस जसगढले भने–‘नगर प्रहरीले कदम चालेको भएपनि यो भद्रगोल व्यवस्थापन हुने थियो । अब नगर प्रहरी आफूलाई मेयरुसाब भन्दा ठूला ठान्छन् । नगरमा निस्कम्, कसले के गरिरहेकोछ निगरानी गरम् त्यो छैन । बस् गाडी लियो सरर घुम्यो, ड्यूटी सक्यो । यस्तोपनि हुन्छ उनले प्रतिप्रश्न गरे ।
ट्राफिक व्यवस्थापनलाई निरन्तरा दिऔं
ट्राफिक प्रहरीले बिहान कार्यालय समयमा र साँझ कार्यालय छुट्टी हुने समयमा औपचारिक रुपमा चेकिङ गर्ने बाहेक अन्य कुनै काम गर्न नसेकको नागरिकको गुनासो छ ।
जनशक्ति अभावमा विहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको बेप्रवाह गर्दै सवारी चालक, फुटपाते पसललेहरुले आफ्ना दवदवा कायम गरिरहेकाछन् ।
‘पैशा असुल्नकै लागि साँझ बिहान चेकिङ गरिन्छ, मनलाग्दी सवारी हुइकिने प्रवृति व्यवस्थापन हुन सकेको छैन,’ एक स्थानीयले भने, ‘नियमित चेकिङ हुनु राम्रो हो, तर त्यसैमा सिमित राख्नु पनि त भएन, नागरिकलाई सहज तरिकाले छिटो गन्तव्यमा पुग्ने गरी व्यवस्थित गर्नुपनि ट्राफिक प्रहरीको दायित्व हो ।’
सडक फराकिलो बन्योः अवस्था उस्तै
सदरलाईनको सडक चौडा निर्माण भएपछि ट्राफिक व्यवस्थापनमा सहज होला भन्ने आशा राखेका नेपालगन्जबासीले एक वर्षमै सास्ती भोग्नुपर्ने बाध्यता दोहोरिएको छ ।
साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगन्जका यात्रुहरुले सदरलाईनको चौडा सडक र चारलेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए । विगतभन्दा अहिले सडक पनि चौडा भइसक्यो, तर ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यतिवेला ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
दैनिक हजारौं गाडी गुड्ने सुर्खेत रोडमा अस्तव्यवस्त पार्किङका कारण पनि नागरिककले सास्ती भोग्नु परेको छ । नेपालगन्जमा मुख्य भिडभाड हुने त्रिभुवन चोक, बीपी चोक, धम्बोझी र पुष्पलाल चोकमा सडकमै सवारी पार्किङ गरिन्छ । जसले गर्दा पैदल यात्रु मात्रै होईन, सवारी दुर्घटना समेत हुने गर्दछ ।
ट्राफिक चिन्ह विनाका सडक
उपमहानगरका अधिकासं सडकहरु यतिवेला कालोपत्रे बनिसकेकाछन् । केही निर्माणाधिन छन् । तर निर्माण भएका सडकमा ट्राफिक चिन्ह भने छैनन् । भएका चिन्हहरु पनि मेटिएका छन् ।
यसरी ट्राफिक चिन्ह विनाका सडकमा मनपरि सवारी साधन गुड्ने गर्छन् । यतिमात्र होइन ट्राफिक संकेत गरिएका ट्राफिक चिन्हहरुको नगरबासी वेप्रवाह गर्दै आइरहेकाछन् ।
ट्राफिक व्यवस्थापनका लागि धम्बोझि, विपी चोक, सदरलाईन, त्रिभुवन चोक, पुष्पलाल चोक लगायतका क्षेत्रमा कोरिएका ट्राफिक लाइनहरु मेटिएकाछन् । जसका कारण पैदल यात्रुमात्र नभएर सवारी साधनहरु पनि आफूखुसी गुडिरहेका हुन्छन् ।
सडक सुरक्षाका दृष्टिकोणले यस्ता ट्राफिक चिन्हरु आवश्यक पर्छन । उपमहानगरपालिका भित्रै सडकमा अन्य ट्राफिक चिन्हरुको कुरा त जेव्रा क्रसिङ्ग समेत छैन । भएका पनि मेटिसकेकाछन् । सडक निर्माणसगैं बनाइनुपर्ने यस्ता चिन्हरु नबनाउदाँ यसले झन दोधारमा
पारेको सवारी चालकहरु बताउँछन् ।
सडकमा कोरिने यस्ता चिन्हरु निर्माण गर्न न त सडक डिभिजन कार्यालयले सक्रियता देखाएकोछ । न त उपमहानगरपालिकाले नै । यस्तो अवस्थामा सुन्दर र व्यवस्थित उपमहानगरको कल्पना गर्न नसकिने स्थानीय बासी बताउँछन् ।