यौन दुर्व्यवहारको आरोपमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत प्रहरी हिरासतमा

उजुरी दिन आउनुस् भन्दा पीडित आउनु भएन : डिएसपी न्यौपाने, हामीमाथी लगाइएको आरोप निराधार हो : प्रमुख प्रशासकीय अधिकृत


यौन दुर्व्यवहारको आरोपमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत प्रहरी हिरासतमा

नेपालगन्ज २२ मंसिर : आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा राखेको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला गाउँपालिकाका जिम्मेवार पदमा रहेका ब्यक्तिले जुनियर महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि यतिबेला यो घटनाले सर्वत्र चर्चा लिइरहेकोछ ।

यही मंसिर १७ गते शुक्रबार खजुरा गाउँपालिकामा कार्यरत कर्मचारी मिलेर कैलालीको टिकापुर स्थित पार्कमा वनभोज खान गएका थिए । सोक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले गाउँपालिकाका आफ्नै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले आरोप लगाएकी हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफ्नै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले प्रमुख प्रशासकीय अधिकृत खराललाई गाउँपालिकाबाट नियन्त्रणमा लिएको हो भने कार्यालय समयमा उपस्थित नभएका लेखा अधिकृत सुनार दिउँसो प्रहरीसमक्ष हाजिर भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारमाथी एक कर्मचारी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको पुष्टि गरे ।

‘पीडित महिलाले टिकापुर पिकनिक गएको बेलामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार भएको बताउनु भएको छ,’ उनले भने ‘ईलाका प्रहरी कार्यालय धनौली, खजुराले प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई नियन्त्रणमा लिइ हिरासतमा राखेकोछ ।’

‘यौन दुर्व्यवहार गरेको आरोप लागेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई प्रहरी हिरासतमा राखि अनुसन्धान अघि बढाइएकोछ’ डिएसपी न्यौपानेले सेतोखरीसंग कुरा गर्दै भने–‘हालसम्म पीडित ती महिला कर्मचारीबाट लिखित जाहेरी आएको छैन । विहानैदेखि लिखित जाहेरीका लागि पीडित महिलालाई कुरिरहेका छौं ।’

डिएसपी न्यौपानेका अनुसार यौन दुर्व्यवहार भएको हो वा होइन घटनाको वास्तविकता पीडित महिला कर्मचारीले लिखित जाहेरी दिएपछि हुने विस्तृत घटना अनुसन्धानबाट बुझिनेछ ।

सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानलेले भने–‘विहानैदेखि लिखित रुपमा विस्तृत जाहेरी दिन आउनुहोस् भनेर पटक–पटक पीडित महिलालाई बोलाउँदासम्म उहाँ अझै आउनु भएको छैन । लिखितरुपमा जाहेरी नआएकोले बाहिरी हल्लाको भरमा यसै भन्न सकिदैन ।’

डिएसपी न्यौपानेले अगाडी भने–‘पीडित महिलाले लिखित जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय धनौलीमा दर्ता गरि घटना स्थल टिकापुर भएकाले यसको सम्पूर्ण कारबाहीका लागि टिकापुर नै पठाइनेछ ।’

आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले आफुमाथी लागेको आरोपमा सत्यता नभएको जिकिर गरेका छन् ।
सेतोखरीसंग टेलिफोन सम्पर्कमा कुरा गर्दै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालले भने –‘हामी विरुद्ध सुनियोजितरुपमा निराधार आरोप लगाइएको हो, यो आरोपमा कत्तिपनि सत्यता छैन ।’ खरालले भने–‘बाहिरी हल्ला र वास्तविकता फरक छ । हामीमाथि लागेको निराधार आरोपको निष्पक्ष छानविन गरिनुपर्छ ।’

गाउँपालिकाका अर्का आरोपी लेखा अधिकृत प्रदीप सुनारलाई घटनाका बारेमा बुझ्न उनको सम्र्पक नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् । गाउँपालिकाकै जिम्मेवार ओहोदामा रहेका कर्मचारीमाथि लागेको संगिन आरोपका विषयमा बुझ्न खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको सम्र्पक नम्बर र गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको नम्बरमा पटक–पटक सम्र्पक गर्दा दुवैजनाले फोन उठाएनन् ।