राजासहितको हिन्दु राज्य वर्तमान आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन


राजासहितको हिन्दु राज्य वर्तमान आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन

नेपालगन्ज २४ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरुप्रति जनतामा विश्वास मरेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले राजनीति अहिले लिकबाट बाहिर गएको बताए ।

‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबैलाई ठीक लगाउने कसले ? राजनीतिले । तर राजनीति ठिक छैन’, उनले भने । लिङ्देनले सोधे– ‘राजतीतिलाई कसले ठीक लगाउने ? नेताले । तर उनीहरुले पनि विश्वास गुमाएका छन् । जनतामा विश्वास मरेको छ ।’

लिङ्देनले आफ्नो गाउँघरतिर जनताले नेतालाई नेता नभनेर ‘कुन चाहिँ चोर’ भन्ने गरेको सुनाए ।

‘कुनै एउटा गाउँमा म वा अन्य कोही नेता पुग्नुभयो भने पार्टीका कार्यकर्तालाई नेता आए भनेर आम जनता बोलाउन जानुपर्ने अवस्था छ,’ उनले भने ‘यसरी बोलाउँदा जनताले नेता आएछ भनेर हैन, कुन चाहिँ चोर आएछ भनेर भन्ने गरेका छन् ।’

Kanti Aarogya Hospital Nepalgunj

लिङ्देनले राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुनपातिक संसद् र सांसद्ले मन्त्री बन्न नपाउने व्यवस्था गर्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।