नेपालगन्ज २५ मंसिर : स्वास्थ्य राज्यमन्त्री भाबनी खापुङ सहित स्वास्थ्य मन्त्रालयको उच्च स्तरीय टोलीले बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरि अस्पतालले प्रदान गर्दै आएको उपचार सेवाका बारेमा जानकारी लिएको छ ।
अस्पतालको अनुगमनपछि आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री खापुङले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पश्चिम नेपालको सुबिधा सम्पन्न क्यान्सर अस्पतालको रुपमा बिकसित गर्न दक्ष जनशक्ति र अत्यावश्यक उपकरणहरु थप गर्न पहल गर्ने बताए ।
राज्यमन्त्री खापुङले क्यान्सरका क्यान्सर अस्पताल खजुरामा रेडियशन थेरापी गर्ने लागि लिन्याक मेसिन जडान भएपछि बिरामीहरुलाई उपचारका लागि भक्तपुर र भरतपुरमा जानु पर्ने बाध्यता हट्ने बताए ।
अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्यमन्त्रीका बिज्ञ सल्लाहकार डाक्टर रमेश ढकाल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल, क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आर्चाय र पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले क्यान्सर अस्पतालको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै दक्ष जनशक्ति र उपकरणको ब्यवस्था मिलाउन राज्यमन्त्री खापुङको ध्यानाकर्षण गराएका थिए ।
पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २२ जिल्लाका विरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।
क्यान्सर अस्पतालमा एक वर्ष अघिसम्म सर्जरी र हिस्टोप्याथोलोजी सेवा समेत थिएन । क्यान्सर भए नभएको यकिन गर्ने हिस्टोप्याथोलोजी सेवा नहुँदा विरामी चितवन, काठमाण्डौं र भारतका विभिन्न शहरमा पुग्नु पर्ने बाध्यता थियो ।
क्यान्सर अस्पताले शल्यक्रिया सेवा शुरु गरेपछि स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सरका बिरामीहरु लाभावन्तित भएका छन् । एक सय बेडको स्वीकृति पाएको अस्पतालले हाल ६० बेड सञ्चालन हुदैँ आएको छ ।
सरकारी स्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । राजधानीका तीन ठूला अस्पतालपछिको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भएका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुलाई भरतपुर क्यान्सर अस्पताल लगायत काठमाडौं र भारतको लखनउ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।