हाइमास्ट लाइट जडानका लागि फुल्टेक्रामा फाउण्डेसनको कार्य गरिदैं । तस्बिर:विजय/सेतोखरी
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकालाई उज्यालोमय बनाइदैँछ । व्यवस्थित र सौन्दर्यकरण उपमहानगरको कल्पाना गरेका
नगर प्रमुख मेयर डा. धवलसम्शेर राणाले उपमहानगर उज्यालो पार्ने कार्यलाई तिव्रता दिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित भएलगत्तै उपमहानगरपालिकालाई व्यवस्थित सगैं सौन्दर्यकरण गरिने राणाले उद्घोष गरेका थिए । सोही कार्य अन्र्तगत यतिवेला उपमहानगरपालिकालाई उज्यालो पारिदैंछ ।
विभिन्न आरोपप्रत्यारोप खेप्दै आएको उपमहानगरपालिकाले पछिल्लो समय चालेका कार्यको सकारात्मक टिप्णी हुन थालेकोछ । उपमहानगरपालिकाको सकारात्मक कार्यले नगरको सौन्दर्यकरणमा थप पृष्ठपोषण हुने नगरबासीको धारणा छ ।
केही महिना अघिमात्र नेपालगन्जको विपी चोकमा जडान गरिएको हाइमास्ट लाईटिङ्गले देशमै चर्चा बटुलिरहँदा हौसियका मेयर राणाले सो कार्यलाई निरन्तरता दिदैं नेपालगन्जका विभिन्न आठ स्थानमा थप हाइमास्ट लाईट जडान गर्दैछन् । नगरबासीको उल्लेख्य उपस्थिती रहने स्थान तथा सर्वसाधरणलाई आवागमनमा सहज बनाउन यस्तो कार्य गरिन लागेको मेयर डा. राणाले बताए ।
उनले भने –‘उपमहानगरका विभिन्न ब्यस्त चोक तथा नाकामा हाइमास्ट लाइट जडान गरिन लागेकोछ । हाइमास्ट लाइटको उज्यालोले नगर झिलिमिलि हुनुका साथै सर्वसाधरणलाई आवागमन गर्न सहज हुनेछ ।
दोस्रो चरणमा जडान गरिन लागेको हाइमास्ट लाईट नेपालगन्जको वीरेन्द्र चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, पुष्पलाल चोक, कारकाँदो चोक, सेतुविक चोक, त्रिवेणीमोड र फुल्टेक्रा चोक गरि आठ स्थानमा जडान गरिने मेयर डा. राणाले जानकारी दिए ।
उनले भने ‘उपमहानगरपालिकाको कुल लागत ५८ लाख १६ हजार ३ सय ४३ रुपैयाँबाट यी आठ स्थानमा हाइमास्ट लाइट जडान गरिनेछ ।’
यसका लागि उपमहानगरपालिकाले काठमाण्डौं एनर्जी प्रालिसंग सम्झौता गरि जिम्मेवारी समेत दिएकोछ । ठेकेदार काठमाण्डौं एनर्जी प्रालिले असार २१ गतेसम्म हाइमास्ट जडान गरि सञ्चालनमा ल्याउने जनाएकोछ ।
ठेकेदार कम्पनीका अनुसार यतिवेला सम्झौताअनुरुप उपमहानगरपालिकाका विरेन्द्र चोक, फुल्टेक्रा चोक, त्रिवेणी मोड लगायतका स्थानमा पहिलो चरणको कार्य भइरहेको जनाएकोछ । हाइमास्ट लाइट जडान गर्नका लागि फाउण्डेसनको कार्य गरिरहेको ठेकेदार कम्पनीले बताएकोछ ।
यसअघि जडान गरिएको हाइमास्ट सगैं उपमहानगरपालिकामा अब ९ वटा हाइमास्ट लाईट हुनेछ । देशमै पहिलोपटक जडान गरिएका हाइमास्टले उपमहानगरको पहिचानसगैं सौन्दर्यकरणमा समेत टेवा पुग्ने बताइएकोछ ।
व्यस्त सडकमा सर्वसाधरणलाई अवागमन सगैं सवारी साधन चलाउन अप्ठेरो हुने समस्यालाई समेत यसले निराकार गर्ने उपमहानगरपालिकाको भनाईछ । उपमहानगरपालिकाले नेपालगन्जलाई स्मार्ट सिटीका रुपमा परिणत गर्न विभिन्न कार्य गर्दै आएकोछ ।
भर्खरैमात्र उपमहानगरपालिकाको सेतुविक चोकदेखि त्रिवेणीमोड सम्म बीच सडकको ग्रीनबेल्टमा इन्टरलक टायल विच्छाउने काम गरिरहेकोछ । ईन्टरलक टायल विच्छ्याउने कार्य सम्पन्न सगै उपमहानगरपालिकाको न्यूरोड सजिनेछ । जहाँ विभिन्न प्रजातिका फुल तथा बोटविरुवा समेत रोपिने उपमहानगरपालिकाले जनाएकोछ ।