धानको गुणस्तर नपुगेको भन्दै फिर्ता
नेपालगन्ज २९ मंसिर : बाँकेका किसानलाई आफूले उत्पादन गरेको धान बेच्नेक सास्ती भोग्नु परेकोछ । नेपालगन्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कारण उनीहरुले सास्ती भोग्नु परेको हो । कृषि ज्ञान केन्द्रबाट सिफारिस बनाएर धान बिक्रिका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्ज पुगेका अधिकांस किसानलाई धानको गुणस्तर नपुगेको भन्दै फिर्ता पठाइएपछि उनीहरुले सास्ती भोगिरहेकाछन् ।
धान बिक्रि गर्न आउने किसानले अनिवार्य परिचय खुल्ने कागजात र कृषि ज्ञान केन्द्रको सिफारिस लिएर आउनुपर्ने नियम लगाइएकोछ । कुपनसहित सबै कागजात लिएर धान बेच्न लिमिटेड पुगेका किसानलाई धानको गुणस्तर नपुगेको भन्दै फिर्ता पठाइने गरिएकोछ ।
किसानहरुले लिमिटेडमा धान बिक्रिका लागि पहिले कृषि ज्ञान केन्द्रमा जग्गाधनी प्रमाणपुर्जा सहित पुगेर कुपन तथा दोश्रो दिनमा सिफारिस पत्र प्राप्त गर्ने गरेका छन् । सिफारिस प्राप्त भएपछि नमूनाको रुपमा धान लिमिटेडका कर्मचारीलाई देखाएर स्वीकृत भएपछि मात्रै किसानको धान खरिद गर्ने गरिएकोछ । २–३ दिन पालो कुरेर पाएको कुपन लिएर धान बेच्न जाँदा समेत किसानले धान बेच्न पाउँदैनन् । कुपन प्रणालीले सोझासाझा र पहुँच नभएका किसान झन् मर्कामा पारेकाछन् ।
भनेको समयमा मल, बीउविजन नपाउने, पाइहाले पनि ढिलो र अपुग मात्रामा पाएर वर्षेनी कष्ट भोग्दै खेती गर्दै आएका बाँकेका किसानलाई उसैपनि यस वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गर्यो । बेमौसमी वर्षाबाट जसोतसो जोगाएको धान बेचेर गुजारा चलाउने अभिप्रायले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुग्ने किसान अमिलो अनुहार लगाएर फर्किने गरेकाछन् । यसले गर्दा किसानलाई थप दुःख भएको छ ।
धान बिक्री गर्न साना किसानहरुको सहज पहुँच नै पुग्दैन । अरुको जमिनमा अधिया खेती गर्ने किसानहरुलाई धान बिक्री गर्न थप झण्झट ब्यहोर्नुपर्छ । हरेक वर्ष खरिद गर्दा पूरा गर्नुपर्ने यी नियमले किसानहरुलाई सास्ति हुने गरेको हो । कुपन प्राप्तिकै लागि शुक्रबार कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका किसानबीच धक्कामुक्का र ठेलमठेल भयो । भीडमा जुधेरै भएपनि केही किसानहरुले कुपन त पाए । तर, कुपन पाएर पनि उनीहरुले धान विक्री गर्न पाइरहेका छैनन् ।
जानकी गाउँपालिका बनियाँ गाउँका किसान आत्माराम काँदु ३ दिनदेखि खाद्यको गोदामसम्म धान ट्याक्टरमा लोड गरि आउने र धान बेच्न नपाई पर्खिरहेका छन् । उनले भने, ‘राम्रो मूल्य पाइने आशले आएको, धानको गुणस्तर पुगेन भन्दै फिर्ता पठाए । निकै सास्ती पाइयो ।’
मल, बिउ पाउन मात्र नभई उत्पादन गरेको उपज बेच्न पनि किसानले सास्ती खेप्नुपरेको काँदुको गुनासो छ । उनले भने, ‘मल लिन लाइनै लाग्नुपर्ने, धान बेच्न पनि लाइन लाग्नुपर्ने । बल्ल बल्ल धान बेच्न आएको गुणस्तर पुगेन भन्दै फिर्ता पठाए । हामी किसानलाई दुःख छ ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २० मनिकापुरका दिपेश यादवले धान विक्री गर्नका लागि कुपन लिए पनि धान बिक्रि गर्न नसेको बताए । कुपन पाएर धान बेच्न आएका उनको धानको गुणस्तर नभएको भन्दै फिर्ता पठाएपछि निरास हुँदै यादवले भने सस्तोमा भएपनि ब्यवसायीलाई धान बेच्छु । धान बेच्नकै लागि ट्याक्टर भाडा लगायतमा ६ हजार रुपैयाँ बढि खर्च भएको उनले बताए ।
आफूले उत्पादन गरेको धान ल्याउँदा पनि प्रहरीले बिल, विजक तथा ओभरलोड भएको भन्दै दुःख दिने गरेको जानकी गाउँपालिका जोगागाउँका किसान प्रहलाद विश्वकर्माले बताए ।
बाँकेमा मात्रै वार्षिक सरदर एक लाख पचास हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुन्छ । गतवर्ष एक लाख ५६ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको थियो । यसवर्ष वर्षातका कारण २० हेक्टरमा लगाएको धानमा क्षति भएको छ । जिल्लामा जम्मा कति धान उत्पादन भयो भन्ने तथ्यांक आउन सकेको छैन । यद्यपि धान उत्पादन गएका वर्षभन्दा राम्रो भएको ठानिएको छ ।
गत वर्ष बाँके लगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकोमा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गरिरहेकोछ । सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दशैँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा आईतबारबाट धान खरिद सुरु गरेको छ । कम्पनीले यसवर्ष बाँकेमा पहिलो चरणमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । शाखा कार्यालयलाई कम्पनीको केन्द्रले मोटा धान ५ हजार क्विन्टल र मध्यम धान २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य तोकिएको छ ।
सरकारले तोकेको मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ हो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय २ रुपैयाँ छ । आईतबार र सोमबार गरि बाँकेमा करिब ३५ क्विन्टल धान मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।
उनले भिजेको, उम्रेको, भुस बढी भएको र दाग भएको धान आएपछि फिर्ता पठाउने गरिएको बताए । दुई दिनमा बिक्रिका लागि ल्याइएको मध्ये अधिकाश धान यही कारण फिर्ता गरिएको उनले दावि गरे ।
कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह समेत गरेको उनले बताए । उनका अनुसार बाँकेका करिब ९ सय जना कृषकले मात्रै धान बेच्ने सिफारिस पाएका छन् ।
यसअघि वर्षामा भिजेको भन्दै बाँकेका किसान सस्तोमा धान बेच्न बाध्य भएका थिए । धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत धान खरिदको प्रक्रिया अघि नबढेपछि बाँकेका किसानले सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।
कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँके लगायत देशभरका किसानले ठूलो क्षति ब्यहोरेका छन् । तर, सरकारले तोकेको मूल्य व्यापारीले नदिने र सरकार आफै धान खरिदमा विभिन्न अड्चन खडा गरिरहेकोछ ।
किसानलाई ब्यापारीबाट ठगिन नदिन सरकारले सहकारी र खाद्य ब्यवस्था कार्यालयलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपनि जिल्लामा रहेका किसानले समर्थन मूल्यमा धान विक्री गर्न पाइरहेका छैनन् ।