जीन सिक्वेन्सिङका लागि स्वाब काठमाडौं पठाइयो
नेपालगन्ज ७ मंसिर : केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नेपाल–भारत सीमा नाका जमुनाहमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश भारतमा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण दिनानुदिन फैलिदै गएकोछ । यस्तोमा भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरु नेपाल भित्रदै आएकाछन् ।
यसरी भारतबाट नेपाल भित्रिनेहरुको सीमानाकामै एन्टिजेन परीक्षण गरिदैँ आएकोछ । तर, ओमिक्रोन संक्रमणको उच्च जोखिमकै बेला भारतबाट नेपाल आएका ३ जनामा भने ओमिक्रोनको शंका गरिएकोछ । नेपालगन्ज स्थित जमुनाह नाका भएर नेपाल आएका तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुमा ओमिक्रोनको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब काठमाडौं पठाइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार नेपालगन्ज स्थित जमुनाह नाकामा एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । सङ्क्रमण पुष्टि भए पनि उनीहरुमा कोभिडको भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यही हप्ता स्वाब पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन सङ्क्रमण पुष्टि भएकाको स्वाब काठमाडौं पठाइएको हो । यहाँका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो ? भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको बताए ।
कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डिएनए वा आरएनएमा रहेका तत्वको क्रम अर्थात् जीन सिक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाको स्वाब काठमाडौं पठाइएको हो ।
‘भारतबाट आएका ती तीन जनाको विस्तृत विवरण र कुनैपनि बेला हाम्रो सम्पर्कमा आउने गरि स्वास्थ्य सर्तकता अपनाउन आग्रह गर्दै पठाइएकोछ । यद्यपी सिक्वन्स रिर्पोट आएपछि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको पत्ता लाग्नेछ’ शाहले बताए ।
नेपालगन्ज स्थित जमुनाह नाकामा यही वैशाखदेखि नियमित रूपमा एन्टिजेन परीक्षण हुँदै आएको छ । विभागबाट मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन पाएपछि उक्त कार्यलाई थप कडाईका साथ अघि बढाइएकोछ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहका अनुसार हालसम्म बाँके जिल्लामा ६६ हजारको एन्टिजेन परीक्षण गरिएको छ । जसमा १२ देखि १५ सय जना पोजेटिभ पाइएका छन् । सीमानाकामा मात्रै ५२ हजार जनाको एन्टिजेन परीक्षण गरिएको हो । जसमा ४०२ जना ब्यक्ति पोजेटिभ पाइएकाछन् ।
शाहका अनुसार सीमानाका भन्सारमा दिनहुँ १५० देखि ४०० जनाको एन्टिजेन परीक्षण गरिदैँ आएकोछ । ओमिक्रोन संक्रमणको जोखिम सुरु भएदेखि मंसिर १५ देखि पुष पहिलो सातासम्म मात्रै ४ हजार बढिको एन्टिजेन परीक्षण गरिएकोछ ।
शाहले भने–‘कामका लागि भारतबाट फर्किने नेपालीको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्न र फेला परेका संक्रमितलाई थप परीक्षणका लागि नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन नाकामा रहेका हेल्थ डेस्कलाई निर्देशन समेत दिएका छौं,’ उनले भने, ‘एन्टिजेन परीक्षणलाई थप बढाएर लैजाने तथा सामाजिक दूरीका साथसाथै माक्सको प्रयोगलाई बढाउन आवश्यक छ ।’
के हो जीन सिक्वेन्सिङ ? कसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट ?
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो, जीन सिक्वेन्सिङ । भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जीन सिक्वेन्सिङ हो । जीन सिक्वेन्सिङबाट नै भाइरसमा भएको म्युटेनस (उत्परिवर्तन) पत्ता लगाउन सकिन्छ । नेपालमा यसअघि दुई जनामा भेटिएको ओमिक्रोन भेरियन्ट पनि जीन सिक्वेन्सिङबाटै पुष्टि भएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सिङबाट यही मंसिर १९ गते राति ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जीन सिक्वेन्सिङका लागि प्रयोगशालाले निश्चित रणनीति र मापदण्ड निर्धारण गरेको छ । पीसीआर परीक्षणका क्रममा एस जीन नेगेटिभ आएका नमूनाको मात्र जीन सिक्वेन्सिङ गरिन्छ । सबै नमूनाको जीन सिक्वेन्सिङ गर्नु पर्दैन । यसको पनि निश्चित मापदण्डहरु छन् । मापदण्डभित्र परेका नमूनाको मात्र जीन सिक्वेन्सिङ गरिन्छ । जीन सिक्वेन्सिङ गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै स्वाब पठाउनुपर्ने हुन्छ ।
यसअघि स्वास्थ्य सेवा विभागले सबै सीमा नाकामा कोरोना पोजेटिभ आएका नमूनाहरु प्रयोगशालामा पठाउन परिपत्र गरिसकेको छ । देशभरबाट संकलन हुने पोजेटिभ नमूनाको जीन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ ।
पहिलो, पीसीआर परीक्षण गरिन्छ । दोस्रो, पीसीआरमा कोरोना पोजेटिभ र एस जीन नेगेटिभ आएको हुनुपर्दछ ।
जीन सिक्वेन्सिङमा चार वटा जीन परीक्षण गरिन्छ । ती हुन्, एस जीन, आरडीआरपी जीन, ओआरएफ जीन र एन जीन । सुरुको कोरोना भाइरसमा सबै जीन पोजेटिभ आउँथ्यो । एस जीन पनि पोजेटिभ नै आउँथ्यो । तर, ओमिक्रोन भेरियन्टमा एस जीन म्युटेसन भएकाले यो नेगेटिभ आउँछ । पीसीआर पोजेटिभ र एस जीन नेगेटिभ आएको नमूनाको मात्र जीन सिक्वेन्सिङ हुन्छ । यो मापदण्डमा पर्ने नमूना थोरै हुन्छ ।
के हो एस जीन म्युटेसन ?
हाल ओमिक्रोन भेरियन्टको एस जीनमा म्युटेसन भएको छ । एस जीन भनेको भाइरसको बाहिरी सतह हो । जीन सिक्वेन्सिङमा एस जीनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ । भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको हो । जीन सिक्वेन्सिङबाट ओमिक्रोन भेरियन्ट मात्र नभइ भाइरसमा हुने कुनै पनि उत्परिवर्तन पत्ता लगाउन सकिन्छ ।
जीन सिक्वेन्सिङबाट ओमिक्रोन मात्र होइन । नयाँ कुनै म्युटेसन भएको छ भने पनि पत्ता लगाउन सकिन्छ । जीनको सिक्वेन्सिङ मूल भाइरससँग म्याच गरिन्छ । म्याच गरेपछि नै कहाँ–कहाँ म्युटेसन छ भनेर पोइन्ट गरिन्छ । यसकै आधारमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले म्युटेसन भएर बनेको कुन भेरियन्ट हो भनेर नामाकरण गर्दै आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो दुई महिनादेखि जीन सिक्वेन्सिङ गर्दै आएको छ । पीसीआर संकलनदेखि जीन सिक्वेन्सिङ गरेपछि रिपोर्ट आउन ७ देखि १० दिन जति लाग्दछ ।