नेपालगन्ज १२ पुष : अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक बृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ ।
पछिल्लो समय अष्ट्रेलियामा कोभिड–१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।
बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख छ ।
यसअघि कोभिड–१९ महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा मंसिर २९ गते बुधबारदेखि खुला गरेको थियो । कोरोना भाइरस विरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने ब्यवस्था गरेपछि भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका थिए । तर, कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु भएको पहिलो केस बाहिर आएपछि अष्ट्रेलियन सरकारले उच्च सर्तकता अपनाएकोछ ।
थप समाचार