रारा म्याराथनको सद्भावना दूतमा मिरा राई अनुबन्धित


रारा म्याराथनको सद्भावना दूतमा मिरा राई अनुबन्धित

निर्मला डाँगी

नेपालगन्ज १३ पुष : रारा म्याराथनको सद्भावना दूतमा मिरा राई अनुबन्धित भएकी छिन् । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दूत(गुडवील एम्वासडर) भएकी हुन् ।

सद्भावना दूतका रुपमा मिरा रारा म्याराथनमा समेत सहभागी हुनेछिन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर, प्रतियोगीका रुपमा होइन्’, मिराले भनिन् । मिरा राईले निःशुल्क रुपमा रारा म्याराथनको सद्भावना दूतको रुपमा काम गर्नेछिन् । ‘नयाँ खेलाडीलाई अवसर मिल्ने भएकाले रारा म्याराथनमा म निःशुल्क रुपमा काम गर्न लागेको हुँ’, मिराले भनिन् ।

मिरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मिरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ विजेता हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मिरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मिरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

‘जुम्ला विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया दाईको ठाँउ हो, उहाँको मार्ग निर्देशनमा हामी अघि बढिरहेका छौं, अध्यक्ष शाहले अगाडी भने, ‘जुम्लामा हरीदाईको अनुभव लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै ठूलो अवसर हुनेछ, सबै खेलाडीका लागि त छँदैछ ।’

रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य हुनेछ ।

मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट शुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ ।

अन्तराल विगत १५ वर्षदेखि पश्चिम नेपालको केन्द्रविन्दु नेपालगन्जमा रहेर खेलकुद, इभेन्ट म्यानेजमेन्ट, गीत संगीत, फोटोग्राफी, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनका काम गरिरहेको संस्था हो । विश्व किर्तिमानी धावक हरि बहादुर रोकायको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरि बहादुर A Hidden Guinness World Record Holder’, अन्तरालले निर्माण गरेको हो ।

म्याराथनलाई भव्यता दिन सबैपक्षसँग छलफल अघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट कोअर्डिनेटर चक्र बहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

थप समाचार

‘रारा म्याराथन’ वैशाख ११ मा