नेपालगन्ज १४ पुष : प्रतिकूल मौसमका कारण बुधबार काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएको सम्बन्धित वायुसेवाहरुले जनाएका छन् ।
बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् ।
खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको कम्पनीहरुको भनाइ छ । अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण यतिबेला नेपालमा वर्षा र हिमपात भइरहेको छ ।
यसैबीच बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । यस्तै गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान शाखाले जनाएकोछ ।
गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको छ । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने, प्रदेश नम्बर– १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
अविरल वर्षा र हिमपातका कारण तापक्रम दर पनि घटेको छ । काठमाडौँको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने धनगढीमा १२ दशमलव ५ डिग्री सेल्सियस, नेपालगन्जमा १२ दशमलव ६ डिग्री सेल्सियस, भैरहवामा १३ दशमलव ३ डिग्री सेल्सियस, सिमरामा १४ डिग्री सेल्सियस, जनकपुरमा १५ दशमलव २ डिग्री सेल्सियस र विराटनगरमा १३ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।
मौसमविद्का अनुसार भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । प्रदेश नम्बर १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा आंशिक बदली रहने, केही स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान रहेको र मौसममा क्रमिक सुधार आउने छ ।
हिउँदमा भएको वर्षाबाट खास गरी गहुँ, जौ लगायत तरकारी खेती गरेका कृषकहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।