कहाँ लुकाइयो धम्बोझीमा राखिएको वीरेन्द्रको शालिक ?

‘राजाको शालिक सुर्खेतमा राख्न हुने नेपालगन्जमा नहुने’


कहाँ लुकाइयो धम्बोझीमा राखिएको वीरेन्द्रको शालिक ?

नेपालगन्ज १४ पुष : राजा वीरेन्द्र शाहको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार सुर्खेतको वीरेन्द्र चोकमा स्वर्गीय वीरेन्द्रको अर्ध कदको शालिक राखिएको छ ।

वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको शालिक २०६२/६३ को जनआन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो । गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको जन्मयन्तीमा शालिक राखेका हुन् ।

राजा वीरेन्द्र २०३३ सालमा पहिलो पटक सुर्खेत आएका बेला उनले उपत्यकालाई गुरुयोजना बनाउन लगाएका थिए । ऊ बेला कटकुवा पञ्चायतका रुपमा रहेकाले उपत्यकाको नाम वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

यसैबीच राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेरले पटक–पटक नेपालगन्जको वीरेन्द्र चोक (धम्बोझी) र त्रिभुवन चोकमा राजाद्वय महेन्द्र र त्रिभुवनको शालिक राख्ने भन्दै चर्का नारा लगाएको वर्षौं भयो तर, शालिक राख्न भने अझैं सकेका छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

राजाको पक्षमा वकालत गर्दै आएका राणा मेयर हुनुका साथै राप्रपाको महामन्त्री हुँदा समेत नेपालगन्जको यी दुई स्थानमा शालिक राख्न सकेका छैनन्, मात्र यसका लागि प्रभावकारी पहल समेत नगरेको सर्वसाधरणले बताउँदै आएकाछन् । सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक राखेपछि यतिबेला यो आवाज बाँकेमा जोडतोडले उठिरहेकोछ ।

नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा विरेन्द्रको शालिक लोकतान्त्रिक आन्दोलनका क्रममा आक्रोशित समूहले २०६४ सालमा तोडफोड गरे । तत्पश्चात जीर्ण बनेको चोकमा राष्ट्रिय झण्डा लगाइदै आएको छ ।

जनआन्दोलनको झण्डै एक दशकपछि राजतन्त्रमा आस्था राख्ने केही संगठनहरुले नेपालगन्जको वीरेन्द्र चोकमा २०७३ साल भदौ १६ गते बिहीबार विहान राजा वीरेन्द्रको अर्धकदको शालिक पुर्नस्थापना गरे ।

‘राष्ट्रवादी युवा’का नाममा राजतन्त्र पक्षधरहरुले प्रहरीलाई छक्याउ“दै शालिक पुनस्र्थापन गरेका थिए । सोक्रममा राष्ट्रवादी युवा समूहले पूर्वराजाको शालिक राखेपछि प्रहरी र युवाहरुबिच केहीबेर झडप समेत भएको थियो । तर, पुनस्र्थापित शालिक २४ घण्टा पनि प्रशासनले चोकमा टिक्न दिएन ।

कुनै अप्रिय घटना हुन नदिन भन्दै बाँके प्रहरीले वीरेन्द्र चोकलाई सुरक्षा घेरामा राखेर सोही रात क्रेनको सहयातामा राजा वीरेन्द्रको शालिक सुटुक्क लिएर गएको थियो ।

८६ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको वीरेन्द्रको शालिक करिब १५ लाख खर्चमा निर्माण गरिएको थियो । शालिक समेत केही दिनमा युवाहरुलाई नै फिर्ता गर्ने प्रतिबद्धता प्रशासनले जनाएपनि हालसम्म उक्त शालिक कहाँ र कुन अवस्थामा राखिएको छ भन्ने औपचारिक जानकारी गराइएको छैन ।

सर्वदलीय बैठकले शालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको तत्कालीन बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले जानकारी दिएका थिए ।

त्यसक्रममा तत्कालीन राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको भोलिपल्ट रिहा गरिएको थियो । राजाको शालिक हटाएको र आफ्ना १० जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै त्यसबेला राप्रपा नेपालले नेपालगन्जमा विरोध समेत गरेको थियो ।

पुनस्र्थापित शालिक हटाइएपछि नेपालगन्जका मेयर डाक्टर धवलले शालिक पुनः स्थापनालाई कसैले रोक्न नसक्ने बताएका थिए । पटक–पटक हुने प्रर्दशन र विरोधमा समेत मेयर राणाले त्रिभुवन चोक र वीरेन्द्र चोकमा राजाको शालिक राख्ने बताउँदै आएका छन् । तर, उनले यस विषयमा पहलकदमी कार्य भने गर्न सकेका छैनन् । सुर्खेतको वीरेन्द्रनगरमा राखिएको राजाको शालिकको विषयले मेयर राणासहित बाँकेका राजाबादीहरुलाई गिज्याइरहेकोछ ।

स्वर्गीय राजा वीरेन्द्रको शालिक चोकबाट हटाइएपछि मधेस आन्दोलनका क्रममा मृत्यु भएका सहिदको नाममा त्रिभुवन चोकको नामाकरण गर्ने विषयमा आवाज पनि उठाइएको थियो । यद्यपि, त्यो प्रयास भने सफल भएन । शालिक हटाइएको त्रिभुवन चोक र वीरेन्द्र चोकमा नेपालको राष्ट्रिय झण्डा राखिएकोछ ।