नेपालगन्जमा मनसुनको पहिलो वर्षा

केहीदिन धानको ब्याड नराख्न सुझाव


नेपालगन्जमा मनसुनको पहिलो वर्षा

नेपालगन्ज : बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा आईतबार नेपालगन्ज लगायतका क्षेत्रमा वर्षा भएको छ ।

तर, मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही दिनअगाडिको गतिविधि मात्र रहेको उनीहरु बताउँछन् ।

देशभर पूर्वमनसुन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम भोली मङ्गलबारसम्म कायम रहन्छ । एक–दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन सक्रिय हुने बताइएको छ ।

नेपालगन्जमा आईतबार राती पौने ११ बजे मेघगर्जन सहित वर्षा हुँदा नेपालगन्जमा शीतलता छाएकोछ । करिब दुईघण्टा सम्म मेघगर्जनसहित चिसो हावाहुरी र वर्षा हुदाँ गर्मीबाट आजित भएका नेपालगन्जबासीलाई राहत मिलेकोछ । पछिल्लो पटक गत वैशाख २० गते नेपालगन्ज लगायत आसपासका क्षेत्रमा हावाहुरी सहित सामान्य वर्षा भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

आईतबार राती देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।

सोमबार देशभर आंशिक बदली रही देशको पूर्वी भू–भागको केही स्थानमा र मध्यपूर्वी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको थियो ।

यस्तै सोमबार देशभर आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्यपूर्वी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । करिब एक महिनाको अन्तरालमा आईतबार राती परेको पानीले गर्मीबाट काकाकूल भएकालाई राहत त होला तर, वर्षाको सिजन अझै सुरु नभएको अवस्थामा भएको वर्षाका कारण विरामी हुनसक्ने हुदाँ सो विषयमा सचेत हुन चिकित्सक सुझावदिन्छन् ।

बाँके र बर्दियाका किसानहरुलाई अझै धानको ब्याड नराख्न कृषि विज्ञहरुले सुझाव दिएका छन् । मनसुनको पखाईमा रहेका बाँके र बर्दियाका किसानहरुले डिप बोरिङबाट पानी तानेर धानको ब्याड राख्न थालेपछि कृषिविज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

अत्यधिक गर्मीका कारण ब्याड नउम्रने जोखिम बढ्ने भएकाले दुईतिन पटक वर्षा भएपछि मात्र ब्याड राख्न उनीहरुले सुझाव दिएका हुन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका बाली बैज्ञानिक रामदास चौधरीले जेठको अन्तिम साता सम्म धानको ब्याड राख्न सकिने बताउदैं हतार नगर्न सुझाव दिएका हुन् ।

मौसम हेरेर एकहप्ताभित्र धानको ब्याड राख्न सकिने बताउदै बाली बैज्ञानिक चौधरीले भने अहिले बीउ राख्दा बेर्ना मर्ने सम्भावना बढि छ, यो बेला बीउ व्यवस्थापन तिर किसान लाग्न पर्ने बैज्ञानिक चौधरीको भनाई छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले पनि अत्यधिक गर्मीकै कारण ब्याड नराखेको जनाएकोछ ।