नेपालगन्ज १५ पुष : नेपालगन्ज विमानस्थलबाट गत भदौ १८ गते ४ किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै बिहीबार एक किलो सुनसहित २ जना युवा पक्राउ परेकाछन् ।
सो बेला प्रहरीले श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद गरेको थियो ।
नेपालगन्ज बिमानस्थलबाट ४ किलो सुन बरामद गरेको ठिक ४ महिनापछि राँझा चोकबाट एक किलो सुनसहित दुईजना पुनः पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझा चोकमा अबैधरुपमा सुनको कारोबार भइरहेको भन्ने खबर पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।
प्रहरीले गोप्य सूचनाका आधारमा नेपालगन्जको राँझा चोकमा चेकजाँच गर्नेक्रममा दुई जना युवालाई एक किलो सुन जस्तो देखिने बस्तुसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले जाजरकोट बारेकोट गाँउपालिका वडा नम्बर– ६ बस्ने कर्ण बहादुर कार्कीको छोरा २२ वर्षिय राजु कार्की र सोही गाउँपालिकाको वडा नम्बर– ८ बस्ने मगदुल बिकको छोरा २९ वर्षका पुर्ण बहादुर बिकलाई पक्राउ गरेको हो ।
उनीहरुका साथबाट एक किलो सुनको बिस्कुट, २ लाख ७७ हजार र ४ लाखको चेक एक थान समेत बरामद गरेकोछ । प्रहरीले पक्राउ परेका कार्की र विकलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखि थप अनुसन्धान अघि बढाएकोछ ।
बाँके प्रहरीका अनुसार उक्त सुन कहाँबाट ल्याइएको र कहाँ लैजान थालिएको भन्ने कुरा अझै खुलेको छैन । उनीहरुले हवाईमार्ग हुदै अथवा स्थलमार्ग भएर सुन ल्याएको हो वा लैजादै थिए भन्ने समेत खुलि नसकेको प्रहरीले जनाएकोछ । यद्यपी यो घटनाले यतिबेला बाँके अन्य अपराधिक गतिविधिसगैं सुनको कारोबार हुने ट्रान्जिट प्वाईन्टका रुपमा विकसित हुँदै गएको यहाँका जानकार बताँउछन् ।
थप समाचार
४ किलो सुनसहित नेपालगन्ज एरर्पोटबाट २ जना पक्राउ