सेन्ट्रल जोन विजेता खेलाडीलाई भब्य स्वागत

नगद पुरस्कारको निर्णयले खेलाडीहरु उत्साहित : कप्तान अरुणा


सेन्ट्रल जोन विजेता खेलाडीलाई भब्य स्वागत

नेपालगन्ज १५ पुष : एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरियो ।

खेलाडी स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ स्वयम् विमानस्थल पुगेका थिए । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिए । सोक्रममा बाजा बजाएर स्वागत गरिएको थियो ।

प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो ।

६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । पुरुष टीम पनि स्वदेश फर्केको छ ।

Kanti Aarogya Hospital Nepalgunj

विमानस्थलमा प्रतिक्रिया दिँदै मन्त्री गहतराजले टिमका खेलाडीहरुलाई स्वागत गर्ने अवसर प्राप्त भएकामा खुसी ब्यक्त गरे ।

महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री गहतराजले आगामी दिनमा थप जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह समेत गरे ।

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् । ‘तपाईहरुले हाम्रो हौसला बढाईदिनुभएको छ । जुन सफलता हाँसिल गरेका छौँ, यसले हामीमा थप जिम्मेवारी थपिदिएको छ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु’, अरुणाले भनिन् ।