गर्भाशय भाडामा दिने क्रम बढ्यो : माइती
नेपालगन्ज १६ पुषः कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्ज सीमानाका भएर १९४ बालिका हराएको तथ्य बाहिरिएकोछ । माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार कोरोना भाइरस संक्रमणकाबीच बाँकेसहित २८ जिल्लाका १८ वर्ष मुनिका १९४ बालिका हराएका हुन् ।
माइती नेपालमा हराइएका बालबालिका एवम महिलाहरुको खोजतलास तथा उद्धारका लागि आएको निवेदनका आधारमा एक वर्षमा १९४ जना बालिका मात्र हराएको तथ्यांक बाहिरिएको हो । यस्तै १८ वर्ष मुनीका ३५ जना बालक पनि हराएकाछन् । १९४ बालिका र ३५ जना बालक गरि कुल २२९ जना बालबालिका तथा १८ वर्ष माथिका २९४ महिला र २ जना पुरुष गरि कुल ५२५ जना हराएको माइतीको तथ्यांकले देखाएको छ ।
माइतीको तथ्यांक अनुसार बाँकेको कोहलपुरबाट १९, नेपालगन्जबाट १९, राप्तीसोनारीबाट ९, बैजनाथबाट २१, खजुराबाट १७ र डुडुवा गाउँपालिकाका २ जना गरि कुल ८७ जना महिला, पुरुष तथा बालबालिका हराएका छन् । यस्तै बर्दियाको गुलरियाबाट ११, बाँसगढीबाट ११, बढैयातालबाट १८, मधुवनबाट ७, बारबर्दियाबाट ६, राजापुरबाट ६, ठाकुरद्वाराबाट ५ र गेरुवाबाट ३ गरि जम्मा ६७ जना हराएकाछन् ।
माईती नेपालले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बेल्दै संयोजक कोइरालाले कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सीमा बन्द हुदाँ पनि सामाजिक सञ्जालको प्रयोगबाट बाँकेको विभिन्न नाका हुदैँ यी महिला, पुरुष तथा बालबालिका हराएका हुन् ।
उनका अनुसार गत वर्षभन्दा खोजतलासको निवेदन यस वर्ष बढि आएको भएपनि सबैभन्दा बढि बाँके र सुर्खेतबाट समान ८७ जना हराएकाछन् । दोस्रोमा दाङबाट ८४ जना, तेस्रोमा बर्दियाबाट ६७ जना, चौथोमा दैलेखबाट ४७ जना र क्रमश जाजरकोटबाट ३० जना, सल्यानबाट २८ र रुकुमबाट १६ जना हराएकाछन् ।
माइतीका अनुसार खोजतलासका लागि गत वर्ष कुल २ सय ९२ वटा मात्र निवेदन परेकोमा यो वर्ष ५ सय २५ वटा निवेदन परेको जनाएकोछ । हराएका महिला तथा बालबालिका खोजतलासका लागि रोल्पाबाट १३ जना, जुम्लाबाट १२ जना, कालिकोटबाट ११ जना, अछाम र कैलालीबाट ८/८ जना, मकवानपुरबाट ४ जना, पर्वत र मुगुबाट ३/३ जना, झापाबाट २ जना तथा प्युठान, नुवाकोट, काठमाण्डौं, बारा, सर्लाही, कास्कि, बाजुरा र नवलपरासी लगायतबाट १/१ जना हराएको निवेदन परेकोछ ।
यसरी हराउनेमा सबैभन्दाबढि ब्राह्मण/क्षेत्री समुदायका २२८ जना, जनजाती समुदायका १०४ जना, दलित समुदायका १७३ र आदिवासी समुदायका २० जना महिला, पुरुष तथा बालबालिका रहेकाछन् । उनका अनुसार एक वर्षमा परेको कुल ५ सय २५ निवेदनमध्ये २ सय सय ३ जना मात्र फेला परेको र ३ सय २२ जनाको खोजविन भइरहेको छ । ‘खोजतलासका लागि निवेदन परेको मध्ये ३२२ जना कहाँ छन् भन्ने यकिन जानकारी छैन,’ उनले भने ।
माइतीका अनुसार यसवर्ष भारत तथा खाडी मुलुकबाट श्रम र यौन शोषणमा परेका ११ जनाको उद्धार गरिएकोछ । गत वर्ष १२ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका तथ्यांकलाई हेर्दा १८ वर्षमुनिका ४ जना बालिका, २ जना बालक र १८ वर्ष माथिका ५ जना रहेकाछन् । जसमा सबैभन्दा बढि बाँकेका ५ जना र सुर्खेतका २ जना रहेका छन् । यस्तै दार्चुला, दैलेख, रोल्पा र रुकुमका एक/एक जनाको उद्धार गरिएकोछ । उक्त तथ्यांकलाई अध्ययन गर्दा उद्दार गरिएका मध्ये बाँकेको कोहलपुर र नेपालगन्जका एक/एक जना रहेका छन् । भने बैजनाथका ३ जना रहेकाछन् ।
यस्तै भारतको विभिन्न सहरमा तीन जना पुरुष बन्धकको रुपमा रहेको बताउँदै उनले कानूनी जटिलताका कारण उद्धारमा समस्या आएको बताए । ‘एक जना पुरुषलाई आफन्तले भेटेर आइसक्नु भयो, तर धेरै प्रक्रिया पुर्याउनु पर्ने भएकोले उद्धार गर्न सकिएको छैन,’ उनले भने, ‘प्रक्रिया पुर्याएर छिट्टै उद्धार गर्ने योजना छ ।’
एक वर्षको अवधिमा नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रामा रही नेपालगन्ज सीमानाकाबाट चार सय ३४ जनाको उद्धार गरिएको उनले बताए । उनले भने–‘जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरि पारिवारिक पुनर्मिलन गराइएको छ ।’
उनले मानव अंग खरिद–विक्री गर्ने चलन पश्चिम नेपालमा नभए पनि गर्भाशय भाडामा दिने क्रम बढेको बताए । उनले गर्भाशय भाडामा दिने महिलाहरु खुल्न नचाहेका कारण यकिन तथ्यांक आउन नसकेको जिकिर गरे । ‘गर्भाशय भाडामा दिएका मध्ये दुई–तीन जना सम्पर्कमा छन् । एकजनालाई ट्राइलको रुपमा लिएर अगाडी बढेका छौँ’ पत्रकार सम्मेलनमा कोइरालाले भने ।
मानव तस्करले अपनाउने नयाँ–नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माईतीका संयोजक कोइरालाले बताए ।
सामाजिक सञ्जाल फेसबुक, इमो, ह्रवाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरूपयोग गरी मानव दलालले आफ्नो सम्पर्क संयन्त्रलाई सहज बनाउँदै गएको संयोजक कोइराला बताउँछन् ।
उनकाअनुसार आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षणले पनि महिला तथा बालबालिका हराउने, बेचिने र यौन शोषणमा पर्ने गरेका छन् । घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको देखिएको उनी बताउँछन् ।
आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् । खुला सीमा नाकाले बेचबेखिनको उच्च जोखिम बढेको छ । भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ । मानव तस्करले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको देखिएको छ ।
माइती नेपालले हरेक वर्ष ३१ डिसेम्बरका दिन पत्रकार सम्मेलन गरि वर्षभरी भए गरेका गतिविधि तथा तथ्यांक सार्वजनिक गर्दै आएकोछ । विशेषगरि सीमावर्ती क्षेत्रमा रही जोखिमपूर्ण यात्रामा जाने महिला, बालबालिकालाई पहिचान गरि उनीहरुलाई परामर्श गरि फिर्ता पठाउने गर्दछ । यसरी फिर्ता पठाइएका महिला बालबालिकालाई पारिवारिक पुर्नमिलन गराइने गरिन्छ ।