नेपालगन्ज १७ पुष : उद्योगी ब्यवसायीहरुको हकहित, व्यवसायीक क्षमता अभिबृद्धि, व्यवसायिक सुरक्षा र जिल्लाको आर्थिक विकासको सशक्तरुपमा पैरवी गर्दै आएको नेपालगन्ज उद्योग बाणिज्य संघले बाँकेको समृद्धिमा पहल सुरु गरेकोछ ।
संघ स्थापनाको ५४ वर्षमा प्रवेश गर्दै गर्दा समग्र बाँकेको समृद्धिमा यहाँका उद्योगी ब्यवसायी एक ढिक्का भएका हुन् । यतिमात्र होइन यसका लागि उनीहरुले सम्भावना र अवसरहरुको पहिचानमा समेत जुटेकाछन् । नेपालगन्ज उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसमा आयोजित गोष्ठिमा समृद्ध बाँकेका आधारहरु सम्बन्धि आधारपत्र प्रस्तुत गर्दै ब्यापक छलफल समेत गरिएकोछ ।
चार लाख ९१ हजार ३१३ जनसङ्ख्या रहेको बाँकेमा सङ्घीयतापछि आठवटा स्थानीय तह रहेका छन् । साबिक मध्य र सुदूरपश्चिम विकास क्षेत्रको प्रमुख सहरका रूपमा रहेको नेपालगन्ज अहिले पनि लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको आर्थिक केन्द्र बन्ने प्रयत्नमा छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामात्रै नभएर यहाँ देशकै ठूलो राप्तीसोनारी र नरैनापुर गाउँपालिकाजस्तो पिछडिएको क्षेत्र समेत पर्छ ।
सामाजिक र धार्मिक सद्भावको ज्वलन्त नमुनाका रूपमा रहेको बाँके जिल्ला पछिल्लो समय पर्यटकीय केन्द्रमा फड्को मार्दै गएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना यही जिल्लामा निर्माणाधीन अवस्थामा छ । भारत र चीन जोड्ने गरी ट्राजिन्ट हब, सुख्खा बन्दरगाह, नौवस्ता औद्योगिक क्षेत्र निर्माण, अन्तराष्ट्रिय विमानस्थल निर्माण, नेपालगन्ज दिल्ली उडान र रिङ्गरोड निर्माणका पहल नभएका होइनन् ।
सङ्घीयतापछि प्रदेशको राजधानी दाबी गर्दागर्दै नपाएपनि केही निराश देखिएका बाँकेबासी आर्थिक हिसाबले पश्चिम नेपालका तीन प्रदेशको मेरुदण्डका रूपमा छ । यहाँ भौतिक पूर्वाधारको आधार बनिसकेको छ । जसलाई समयसापेक्ष स्तरोन्नतीको खाँचो मात्र छ । कतिपय क्षेत्र ओझेलमा परेको वा प्राथमिकतामा नपरेको देखिन्छ । सो क्षेत्रलाई तदारुकताका साथ योजनाबाद्ध ढंगले अगाडि बढाएमा बाँकेलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।
त्यसो त बाँकेलाई पश्चिम नेपालको मेरुदण्डको रुपमा विकास गर्न समग्र बाँकेको समृद्धिका लागि यहाँका उद्योगी, ब्यापारी, नागरिक समाज र राजनीतिक दलले आवाज नउठाएको भने होइन । पछिल्लो समय आर्थिक विकास र समृद्धि सिङ्गो मुलुकको नै एजेण्डा भइसकेको छ । समृद्ध नेपाल सुखी नेपालीको अभियानमा स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाज अग्रसर भइरहँदा समृद्ध बाँके निमार्णमा संघ लागेको हो ।
गोष्ठीमा बोल्दै औधोगिक क्षेत्र व्यवस्थाप कार्यालय बाँकेका प्रमुख कृष्ण पुनले औद्योगिक विकास भएमा मात्र देशमा समृद्धि हुने बताए । ‘देशमा औद्योगिक क्रान्तिका लागि राज्यतहबाटै विशेष पहल कदम चालिनुपर्छ’ पुनले भने–‘राज्यले यहाँका लगानीकर्तालाई प्रोत्साहन गर्दै प्राथमिकतामा राखिनुपर्छ । यसका लागि राज्य र उद्योगी व्यवसायी इमान्दार भएर लाग्नुपर्छ ।’
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले प्रकृती, जैविक विविधता र दीगो प्रणालीलाई आधारभूत धरातल मानी उद्योग, ब्यवसाय गरेमा लक्ष्य प्राप्ती गर्न समस्या नहुने जिकिर गरे । साहले भने–‘यी मुलभूत आधारमा रहेर समृद्ध बाँकेको परिकल्पना पुरा हुन्छ । वन सम्पदालाई यथास्थितीमा राख्ने विकास र समृद्धि दीगो र पुरा हुदैन ।’
‘प्रकृतीमा आधारित पर्यटन नै नेपालको समृद्धको मुख्य आधार हो । नेपाल आउने ६० प्रतिशत पर्यटन कुनै न कुनै निकुञ्जको अवलोकन गर्छन्’ साहले अगाडी थपे–‘बाँकेमै रहेको राष्ट्रिय निकुञ्ज हामी यहीका मान्छे जान सकेका छैनौ, भनौ बाँकेमा पनि राष्ट्रिय निकुञ्ज भनेर धेरैलाई थाहा छैन यस्तोमा समृद्ध बाँकेको परिकल्पना कसरी साकार हुन्छ ?’
‘समृद्ध बाँकेको अवधारणा पुरा गर्दै गर्दा यहाँका निजी क्षेत्रहरु पनि अग्रसर हुन जरुरी छ । निकुञ्ज पनि समृद्ध बाँकेको मुख्य कसीका रुपमा रहेकाले आन्तरिक पर्यटन भित्र्याउन नसक्नु नै चुनौती बन्दै गएकोछ । यसमा निकुञ्जको एकल प्रयास प्रयाप्त छैन’ उनले थपे ।
यस्तै गोष्ठिमा संघका पूर्व अध्यक्षसमेत रहेका कृष्णप्रसाद श्रेष्ठले समृद्ध बाँकेको सवालमा यहाँका राजनीतिक दल गैरजिम्मेवार बनेको दावि गरे । उनले भने –‘समृद्ध बाँकेको परिकल्पना यहाँका राजनीतिक दल र उद्योगी व्यवसायीहरुलाई बुझाउनै सकिएन वा बुझेर पनि वेवास्ता गरियो । जसले गर्दा हामी समृद्ध बाँकेको सपना साकार पार्न चुक्यौं ।’
‘त्यसो त बाँकेमा विकासका काम नभएका होइनन् । तर जनताको उठिबास लाग्नेगरि गरिने विकासले समृद्धि हासिल गर्न सकिदैन’ श्रेष्ठले अगाडी थपे ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि बाली संरक्षण अधिकृत सकिल अहमदले कृषि क्षेत्रको विकासका लागि उद्योगको विकास हुन आवश्यक रहेको बताए । ‘सिक्टा सिचाँई आयोजनाले बाँकेको कृषि उत्पादनमा बृद्धि हुने अपेक्षा गरेका थियौं । विडम्बना सिचाँई अभावमा वर्षौंदेखि बाँकेबासी आकासेपानिकै भरमा पर्न बाध्य भए’ अधिकृत सकिलले थपे–‘खेत बाँझै राखेर औद्योगिक क्रान्ति गर्छु र समृद्ध बाँकेको परिकल्पना पुरा हुन्छ भन्नु ब्यर्थ हो ।’
उनले किसानको उत्पदान बृद्धि गर्न आवश्यक कृषि औजार, मल, बीउविजन भण्डारण, उत्पादन र प्रायाप्तमात्रामा बजारिकरण गर्नसके बाँके आत्मनिर्भर बन्छ तर, यसप्रति खासै चासो लिइएन ।
गोष्ठिमा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले समृद्ध बाँके बनाउन यहाँ औद्योगिक क्षेत्रको विकास हुन जरुरी रहेको बताए । उनले भने ‘हामी समृद्ध बाँकेको कल्पना गर्दै लगानी गर्छौं तर, राज्यले हामीलाई जहिलै उपेक्षा गर्छ । कहिले कर, कहिले नीति, नियम र निर्देशिकाका नाममा अंकुश लगाउँदै आएकोछ ।’ उनले अगाडी थपे–‘ यहाँ व्यापार बढेको छैन, कर बढेको छ, व्यवसाय घटिरहेको छ । कर उठाउनेमात्रै राज्यको पाटो हो त ? व्यापार व्यवसाय बढाउन पनि सोच्नु प¥यो ।’
‘समृद्ध बाँकेका लागि औद्योगिक विकास संगसगैं यहाँका विभिन्न आयामहरुको पनि उत्तिकै विकास हुन जरुरी छ । त्यसका लागि संघले अग्रसरता देखाएको छ । यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्छु’ उनले भने ।
गोष्ठिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्याकद्वय डाक्टर राजेशकेशर खनाल, कोशराज रेग्मी र पत्रकार शंकरप्रसाद खनालले समृद्ध बाँकेका आधारहरु विषयक आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रले उद्योग, वाणिज्य र पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाएर कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ग्रीन र डिजिटल सिटीलाई समृद्धिको आधारका रुपमा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा उद्योगी, व्यापारी, पर्यटन व्यवसायी, अर्थशास्त्री र पत्रकारको ५ वटा समूहमा जिल्लामा समृद्धिको आधारका विषयमा समूहगत छलफल समेत गरिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव चिरञ्जीवी ओलीले कार्यशालाका विज्ञहरुले दिएको सुझावका आधारमा जिल्लाका समृद्धिका आधार तय गरेर सम्बद्ध निकायमा विकास निर्माणका लागि संघको नेतृत्वमा दवाब र पैरवी गर्ने बताए । गोष्ठीमा संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीलगायतले जिल्लामा समृद्धिका आधारबारे धारणा राखेका थिए ।