बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका

‘खासै चिसो नबढेकाले विद्यालय बन्द गरेका छैनौ’


बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका

नेपालगन्ज २० पुष : बाक्लो हुस्सु र शीतलहरकाबीच बाँकेमा निर्वाधरुपमा विद्यालय सञ्चालनमा रहेकाछन् । बाँकेका ८ वटै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरिरहेका बालबालिका बाक्लो हुस्सु र कठ्याङ्ग्रीने शीतलहरलाई छिचोल्दै दिनहुँ विद्यालय गइरहेकाछन् ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरप्रति सम्बद्ध सरोकारवालाले बेवास्ता गरिरहेकाछन् । चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेको स्वयम शिक्षक र विद्यार्थीहरुले बताइरहँदा समेत चिसोबाट विद्यार्थीलाई जोगाउन कुनै पहल गरिएको छैन ।

चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेकाले केही दिनका लागि विद्यालय बन्द गरिनुपर्ने नेपालगन्जको एक सामुदायिक विद्यालयका शिक्षकले सुझाए ।

‘चिसो बेन्चमा खुट्टा झुण्ड्याएर चिसो डेस्कमै किताब, कापी राखेर बालबालिकाहरु अध्ययन गर्न बाध्य छन् । अझ समय–समयमा चल्ने चिसो सिरोठोले हातखुट्टा नै कठ्याङ्ग्रीने गरेकोछ । यस्तोमा सरमेडले पढाएको उनीहरुले कसरी बुझ्छन्’ ती शिक्षकले भने –‘चिसोले ह्वात्तै विद्यार्थी संख्यामा कमी आएकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

पुषको कठ्याङ्ग्रीने चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेका बेला अन्य जिल्लामा भने धमाधम विद्यालयहरु बन्द गरिएको छ तर, बाँकेमा अझैं चिसो बढेको छैन भन्दै विद्यालय बन्द गर्नतर्फ चासो दिइएको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले हाललाई उपमहानगरको विद्यालय बन्द गर्ने विषयमा कुनै तयारी नभएको बताए ।

सेतोखरीसंग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने–‘चिसो बढ्दै गएको छ तर, यही अवस्था कायम रह्यो भने शिक्षा समितिको बैठकबाट केही दिनका लागि विद्यालय बन्द गर्न सकिन्छ ।’

‘चिसोबाट नागरिकलाई बचाउन उपमहानगरपालिकाले चोक–चोक र टोल–टोलमा निःशुल्क दाउरा वितरणको तयारी गरेको छ । पहिलाका वर्षमा वितरण गरिएको दाउरा हराएका कारण यसपटक ब्यवस्थितरुपमा दाउरा वितरणको तयारी गरिएको छ ।’ उनले भने –‘हाल उपमहानगरपालिकाले दाउरा वितरण नगरेपनि जिल्ला प्रशासन कार्यालयबाट केही स्थानमा दाउरा वितरण गरिएकोछ ।’

यता प्याब्सन नेपालगन्जका नगर अध्यक्ष विकास बज्रचार्यले विद्यालय बन्द गर्ने निर्णय नभएको बताए । उनले भने –‘चिसो बढ्दै गएमा त्यो निर्णय हुनसक्छ तर, यतिबेला केही विद्यालयबाहेक अधिकाशं विद्यालयको परीक्षा चलिरहेकोले विद्यालय बन्द गर्नेतर्फ तत्काल योजना छैन ।’

नगरअध्यक्ष बज्रचार्यले भने–‘परीक्षा दिन विद्यार्थी १० बजेपछि जाने गरेकाछन् । २–३ घण्टाको परीक्षापछि विद्यार्थी घर फर्किहाल्छन् । अत्यधिक चिसो बढेमा विद्यालय बन्द गरिनेछ ।’

नेपालगन्ज जस्तै बाँकेको कोहलपुर नगरपालिकाको अवस्था पनि उस्तै छ । चिसोका कारण जनजीवन प्रभावित भइरहँदा कोहलपुर नगरपालिकालले विद्यालय बन्द गर्ने निर्णय नभएको बताएकोछ ।

सेतोखरीसंग कुरा गर्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम दहालले भने–‘अहिलेको चिसोलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय भएको छैन । चिसो बढ्नेक्रम जारी रह्यो भने शिक्षा समितिको बैठक बसी विद्यालय बन्द गरिनेछ ।’

कोहलपुरबासीलाई चिसोबाट बचाउन नगरपालिकाले दाउरा किनेर निःशुल्क चोक–चोक र टोल–टोलमा वितरण गरिरहेकोछ’ प्रमुख प्रशासकीय अधिकृत दहालले भने–‘नगरका विपन्न परिवारलाई कम्मल, ब्लांकेट जस्ता न्यानो कपडा वितरणको तयारी गरिएकोछ । चिसोबाट नागरिकलाई बचाउन विपद् शाखाको बैठकले थप कार्य गर्नेछ ।’