दुई दिन नवित्दै राप्तीपारी फेरि बाघले मान्छे खायो


दुई दिन नवित्दै राप्तीपारी फेरि बाघले मान्छे खायो

बाघले मान्छे मारेपछि काठमा बाँधेर शव घरमा ल्याउन तयारी गर्दै ।

नेपालगन्ज २४ पुष : बाघको आक्रमणबाट बाँकेको राप्तीपारी फेरि एक महिलाको मृत्यु भएकोछ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टलाई बाघले मारेको दुई दिन वित्न नपाउँदै बाघ आक्रमणमा परि फेरि एक महिलाको शनिबार मृत्यु भएको हो ।

यहि पुष २२ गते विहीबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरको स्थानीय जलहन् सामुदायिक वनमा घाँस काट्न गएकी ५४ वर्षिया लिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसको ठिक दुई दिनपछि आज शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया चाँदनी थारुलाई बाघले मारेको हो ।

हब्रहवाकी चाँदनी फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकी खोजतलासमा जुटेको थियो । केही बेरको खोजतलासपछि चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएकोछ ।

बाघ आक्रमणबाट ज्यान गुमाएकी चाँदनीको शव उनको घर ल्याउने तयारी भएको प्रहरीले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् । आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टेको थियो ।

यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो । ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो ।

बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ । तर, अझैसम्म उक्त बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

पछिल्लो समय बाँकेमा बाघ आक्रमणको घटनामा बृद्धि भएकोछ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएकोहो । तर, यतिबेला बाँकेमा राष्ट्रिय निकुञ्ज बाहेक पनि राष्ट्रिय वनमा लगातार बाघ भेटिनुले बाँकेमा राष्ट्रिय निकुञ्ज सहित राष्ट्रिय वनमा बाघको आक्रमण र त्रास बढ्दै गएकोछ ।