विद्युत अनियमितताले आक्रान्त नेपालगन्जबासी

प्राधिकरणको वेवास्ता, लो भोल्टेज र विद्युत अनियमितता झन् बढ्यो


विद्युत अनियमितताले आक्रान्त नेपालगन्जबासी

नेपालगन्ज : गर्मी बढेसगैं नेपालगन्जको विद्युत आपुर्तीमा भईरहेको अनियमितताले जनजीवन कष्टकर हुनुका साथै उद्योग व्यवसायमा यसको असर बढी देखा परेकोछ ।

नेपालगन्जको प्रचण्ड गर्मीका समयमा पटक–पटक विद्युत अनियमिततासगैं लो भोल्टेजले पीडा माथि थप पीडा थपिदिएको छ । गर्मीसगैं भएको विद्युत अनियमितताले यहाँका बासिन्दा आक्रान्त भएका छन् । दिन प्रति दिन गर्मी बढ्ने क्रम जारी छ, जसका कारण जनजीवन थप कष्टकर बन्दै गइरहेका बेला अझ विद्युत अनियमितताले रोजा(व्रत) बसेका मुस्लिम समुदायलाई बढि पीडित बनाएकोछ ।

विद्युत अनियमितता समाधान गर्न गत वैशाख ३० गते मङ्गलबार नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई भेटेर विद्युत समस्या समाधानका लागि ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको थियो ।

संघ अध्यक्ष वैश्य नेतृत्व टोलीले गराएको ध्यानाकर्ष पश्चात प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख यादवले विगत भन्दा अहिले विद्युत आपूर्ती सहज भएपनि आगामी दिनमा थप सुधार गरिने बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले विद्युत समस्या समाधान गर्ने बताएपनि त्यसो हुन सकेन । झन् विद्युत अनियमितता र लो भोल्टेजले नेपालगन्जबासी यतिखेर आक्रान्त बनेकाछन् । मानौ विद्युतले लुकामारी खेलिरहेकोछ ।

यादवले विद्युत अनियमितता सहज गराउने बाचा गरेको २० दिन वितिसक्दा पनि झन् बिद्युत आपूर्तिमा भारी रुपले अनिमियतता हुदै आएकोछ ।

नेपालगन्ज २१ वसन्तपुरकी धनसरा मल्ल गर्मीले काकाकुल भएको बेला दिनहुँ दर्जनौ पटक विद्युत लाईन काटिनु र लो भोल्टेजका कारण थप पीडित बनेको बताइन् ।

उनले भनिन् विहान बेलुकाको समयमा पटक–पटक विद्युत काँटिदिदाँ घरगृस्थि गर्न समेत अप्ठेरो परेको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वासिन्दा सलमान सल्मानीले भने–रोजा बसिरहेका बेला लो भोल्टेज र विद्युत अनियमितता हुँदा रोजेदार (वर्तालु) थप पीडित बनेकाछन् ।

‘अझ बेलुका व्रत खोल्ने बेला विद्युतकै कारण चिसो पानी समेत पीउन पाएका छैनौ । पटक–पटक विद्युत काटिन्छ आउने ठेगान हुदैन, आइहाल्यो भने लो भोल्टेज हुन्छ ।’ उनले भने ।

अत्यधिक गर्मीले घर भित्रका सबै समान तातिएका छन् । कोठा भित्र पंखा चलाएर बस्दा पनि खलखली पसिना आइरहेको हुन्छ । त्यतिमात्र होइन कुर्सी, टेबुलमा हात राख्दा होस् वा मोबाइल, टेलीफोन कानमा लगाउँदा होस् चसक्क पोलेर आगोले पोलीएको जस्तो अनुभुती हुन्छ ।
गर्मीका समयमा लो भोल्टेज र विद्युत अनियमितताबाट आक्रान्त भएका नेपालगन्जबासीहरु आजभोली रातको ११–१२ बजेसम्म घर बाहिर र छतमाथि बसिरहेका हुन्छन् । गर्मीले घरका भित्ताहरु तातीने हुनाले राती अबेर मात्र कोठामा सुत्न आउने गरेको नेपालगन्ज –१२ बेलासपुरका प्रह्लाद सुवेदी बताउँछन् ।

‘पखां चलायो भोल्टेज पुग्दैन, पटक–पटक बिजुली गइरहन्छ सुत्नै सकिदैन ।’ सुवेदी भन्छन् –भोल्टेज र विजुलीको पर्खाइमा घरबाहिर अबेर रातीसम्म बस्छौं, कोठा अली शीतल हुन्छ त्यसपछि मात्र सुत्न आउंछु ।

एक महिनाको अन्तरालपछि आईतबार राती मेघगर्जन सहित हावाहुरी र पानी पर्दा नेपालगन्ज लगायतका क्षेत्रमा शीतलता महसुस भयो । आईतबार परेको पानीका कारण गर्मीले काकाकुल भएका नेपालगन्जबासीलाई हिजो सोमबार दिनभर केही राहत दियो । तर, गर्मीसगैं चलेको तातो हावा र पटक–पटक विद्युत अनियमितता हुनु र लो भोल्टेजका कारण यस क्षेत्रको जनजीवन प्रभावित बन्दै गएकोछ ।

गर्मीले दिउंसो १२ बजेपछि नेपालगन्जका बजार तथा सडकहरुमा आवत जावत गर्ने मानिसको संख्या ज्यादै न्यून हुन्छ । बाहिर हिंड्दा गर्मी र त्यसमा पनि तातो हावा बहने हुंदा यसक्षेत्रको जनजिवन निकै अस्त व्यस्त भएको छ । ज्यालामजदूरी गर्ने, ठेला, रिक्सा तथाटांगाहरु
सवारी बोक्न छाडेर गर्मी छल्न रुख तथा घरको छहारीमा बसेका हुन्छन् ।

यसवर्ष नेपालगन्जमा अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेलसीयस पुगेको छ । जुन यसवर्षकै अत्यधिक तापक्रम हो । यो गत बैशाख २९ गते शनिबार रेकर्ड गरिएको तापक्रम हो । नेपालगन्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो ।