नेपालगन्ज: जिल्ला प्रहरी कार्यालय बाँकेले ३८ लाख नेपाली रुपैयाँ सहित ५ पूर्व भारतीय सेना र २ महिलालाई नियन्त्रणमा लिएको छ । सोमबार राती ११–१२ बजेको समयमा नेपालगन्जको बाटिका होटलबाट उनीहरुलाई नगद सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
नेपालगन्जमा भारतीय सेनाको छनोट चरण चलिरहेका बेला उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
प्रहरी प्रमुख एसपी पौडेलले भने –भारतीय सेना भर्तीका लागि उनीहरुले भर्ती गराईदिने भन्दै ठगी गरिरहेको आशंकामा ३८ लाख नगद सहित नियन्त्रणमा लिइएको हो । यसरी नियन्त्रणमा लिइएकामा ५ जना पूर्व भारतीय सेना र २ सर्वसाधरण महिला रहेकाछन् ।
एसपी पौडेलले भने जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरीक्ष दिपक मल्ल र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगी सहित गएको टोलीले उनीहरुलाई होटलबाटै नियन्त्रणमा लिएको हो ।
घटनाबारे जानकारी गराउँदै बाँके प्रहरी प्रमुख एसपी पौडेलले भने– नगद सहित ७ जनालाई यतिखेर प्रहरी हिरासतमा राखिएकोछ । घटनाको अनुसन्धान भइरहेकोले थप विवरण खुल्न बाँकीछ ।
एसपी पौडेलले भने–पक्राउ परेका मध्ये पाँच जना पूर्व भारतीय सेना हुन् । २ जना सर्वसाधरण महिला रहेकाछन् । उनीहरुलाई नियन्त्रणमा लिइएपनि हालसम्म लिखित उजुरी नआएकोले पक्राउ परेका ब्यक्तिको विस्तृत विवरण दिन मिल्दैन ।
नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रमा गत जेठ १६ गतेदेखि आज २१ गते सम्म भारतीय सेना भर्ना छनोट भएको थियो । साविक मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रका २४ जिल्लाबाट युवाहरु भर्नाका लागि आएका थिए । यो भर्ना छनोटमा ३ सय ७० जना कोटा रहेको छ । जसमा शारिरीरक र लिखित परीक्षा सम्पन्न भइसकेकोछ ।
शारीरिक र लिखित परीक्षामा ४ सय ४७ जना छनोट भएकाछन् । यसरी छनोट भएका उनीहरु भारतको गोरखपुरमा हुने मेडिकलका लागि जानेछन् । जसमध्ये मेडिकल फेल हुनेहरुका लागि भारतीय सेनाको ढोका बन्द हुनेछ ।