मान्छे खाने बाघको पाइला पछ्याउँदै प्राविधिक सहितको टोली

बाघ नियन्त्रणमा लिन ‘डार्ट’ अपरेशन शुरु, आहाराका लागि पाडो छाडियो


मान्छे खाने बाघको पाइला पछ्याउँदै प्राविधिक सहितको टोली

नेपालगन्ज २८ पुष : मान्छे खाने बाघको पाइला पछ्याउँदै विशेषज्ञसहितको टोली बन्दोबस्तका साथ फत्तेपुरको जङ्गलमा खटिएकोछ । लगातार बाघ आक्रमणको घटना बढिरहेको बाँकेको राप्तीसोनारीमा खटिएको प्राविधिक टोलीले फत्तेपुरमा बाघको ताजा पाइलाको छाप भेटाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरको जङ्गलमा ताजा बाघको पाइलाको छाप भेटाएको बाघ नियन्त्रणमा खटिएको प्राविधिक टोलीले उक्त बाघ नियन्त्रणमा लिन भरपुर प्रयास जारी गरेको छ । पाटेबाघको पाइलाको ताजा छाप भेटाएपछि बाघ छिटै नियन्त्रणमा लिन सम्भावित स्थानमा सर्च अभियानलाई तिव्रता दिइएकोछ ।

मान्छे खाने बाघलाई खोज्न हिजो मङ्गलबार दिउँसो मात्रै डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समुह, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जङ्गलमा परिचालित भएका थिए । सो क्रममा उक्त टोलीले बाघको ताजा पाइला फेला पारेको हो ।

बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप एउटा ‘पाडो’ लगेर जङ्गलमै राखिएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘मानव बस्तीदेखी करिब ४/५ किलोमिटर भित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पर्यो, त्यसपछि बाघ आउन सक्ने सम्भावित स्थानमा एउटा पाडो लगेर बाँधेका छौं, त्यहाँ क्यामेरा पनि जडान गरेका छौं,’ उनले भने ‘पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिन बुधबार प्राविधिक सहितको टोली जङ्गलमै बसेकोछ ।’

आहाराका लागि पाडो खान आएको बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको छ । यसअघि पनि बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा बाघलाई डार्ट गरि समाउन आहाराका रुपमा पाडो राखिएको थियो । तर, ६ दिनपछि बाघले सुटुक्क पाडो खाएर कुलेलाम ठोकेको थियो ।

बाघको आहाराका लागि दुई वटा पाडो किनेकोमा मंगलबार एउटालाई मात्र जंगलमा लगेर राखिएको खड्काले बताए । उनका अनुसार पाडोको ब्यवस्थापन वडा कार्यालय र राप्ती सोनारी गाउँपालिकाले गरेको हो ।

बाघलाई नियन्त्रणमा लिने वित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा राखेर ब्यवस्थापन गर्ने तयारी छ । त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको छ । ‘बाघलाई लठ्याएर नियन्त्रणमा लिने हाम्रो योजना छ, बेहोस् भएको बाघलाई ब्यवस्थापन गर्नका लागि वाइल्ड लाइफ एम्बुलेन्स पनि तयारी अवस्थामा छ,’ उनले भने ।

बाघ नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित छन् । बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी ३० वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५४ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।

यस्तै बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो । बाघले विगत डेढ हप्तादेखी भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ ।

बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सव–डिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी समेत परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय वनको क्षेत्र अन्तरगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।

यतिबेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ । सडकका पोलमा बत्ती राखिएको छ । आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने विश्वास स्थानीयवासीमा छ । घरबाहिर आगो बाल्ने र मान्छे जति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गर्दै आएको छन् ।

थप समाचार

मान्छे खाने बाघले निकुञ्जले राखेको पाडो सुटुक्क खायो

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए