तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यलाई आर्थिक भार नपर्ने
नेपालगन्ज ११ माघ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री दीपक गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका कार्यलाई पार्टीभित्रैबाट अतिरञ्जित पार्ने काम भएको बताएकाछन् ।
नेपाल प्रेस युनियन बाँकेले मङ्गलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै काँग्रेसका प्रभावशाली नेता गिरीले भने– ‘प्रधानमन्त्री एबम पार्टी सभापति शेरबहादुर देउबाले सबैलाई समेटेर अघि बढ्नुभएकोछ, आगामी दिन उहाँ त्यसरी नै अघि बढ्नुहुनेछ भन्ने मेरो विश्वास हो, तर विरोधका लागि विरोध नगरौं ।’
‘सभापति देउवाले कुनै पनि गुटको नभइ सबैको भावना अनुरुप काम गरिरहनुभएकोछ’ उनले दावि गरे । ‘सभापतिले गरेको राम्रा कामको समर्थन गर्छु, गल्ती गर्दा गल्ती भयो है भन्छु । उहाँले मनोनित गरेको विषय होस् वा अन्य विषयलाई अतिरञ्जित गरिनु हुँदैन, यो स्वभाविक हो । प्रजातन्त्रमा जायज छ ।’
पत्रकार भेटघाटमा बोल्दै गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई बिर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध काँग्रेस बनाउन सबै लाग्नुपर्ने बताए ।
‘कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ,’ उनले अगाडी थपे–‘मनैदेखि एकता र आत्मीयता पार्टीभित्र हराएको हो कि भन्ने लागेको छ, अब काँग्रेसमा गुट उपगुट भन्दा पनि संगठन कसरी सबल, सक्षम र लोकप्रिय बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ ।’
‘उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने धारणा ब्यक्त गरे । निर्वाचनबाट नेतृत्वमा आएर विरोधका लागि विरोध गरिनु हुदैन उनले भने–‘अब यो गुट त्यो गुट भन्दा पनि काँग्रेस पार्टी भनेर लाग्नुपर्छ भन्ने मेरो मत हो ।’
पत्रकारहरुको जिज्ञासामा गिरीले आफू कुनै पनि गुट उपगुटमा नरहेको दावि गर्दै ‘काँग्रेस गुट’ मा रहेको बताए ।
‘म कुनै समय शेरबहादुर दाईसंग नजिक थिए, पार्टी विभाजन हुँदा रुख चिन्ह र चार तारे झण्डा भएको ठाउँमा उभिए, गिरिजाबाबुसंग पनि रहेँ, १२ औं महाधिवेशनमा सुशील कोइरालाको समूहबाट लडेर केन्द्रीय सदस्य पनि भएँ, १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट केन्द्रिय सदस्य भएँ, अहिले १४ औं महाधिवेशनमा पनि शेखर कोइराला समूहबाट चुनाव लडेर जितें तर, महाधिवेशन सम्पन्न भइसकेपछि को कुन समूहमा भन्दा पनि हामी काँग्रेसको हो, काँग्रेस बनाउन लाग्नुपर्छ’ उनले आफ्नो राजनीतिक यात्राक्रमलाई स्मरण गर्दै प्रष्ट्याए ।
केन्द्रिय सदस्य गिरीले पार्टीभित्र हरेक विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा तर्क राखे । ‘कुनै विषय वा प्रसंग आयो भने पहिले पार्टीभित्र सामान दृष्टिकोण बनाउनुपर्यो, पार्टिले सार्वजनिक गरेको धारणामा सबैको एकमत हुनुप¥यो ना की सस्तो लोकप्रियताका लागि आफूखुसी जे मन लाग्यो त्यही बोल्ने गरिनु हुदैन ।’
पत्रकारहरुले निर्वाचनका सम्बन्धमा राखेको जिज्ञासामा बोल्दै भने–‘संविधान र निर्वाचन सम्बन्धि कानूनको जानकारहरुसंग परामर्श लिएर निर्वाचनको धारणा अघि ल्याइनुपर्छ, ब्यक्तिपिच्छे सार्वजनिक हुने धारणा र व्याख्याले गर्दा समस्या भइरहेको छ ।’
सबैको बीचमा सहमति बनाएर उपयुक्त समयमा निर्वाचन गर्न सकिने बताउँदै उनले भने–‘सहमति जुटेमा पहिले संसदीय निर्वाचन त्यसपछि स्थानीय निर्वाचन गर्दा समेत फरक नपर्ने आफ्नो धारणा छ ।’
ऐन, नियम परिर्वतन गर्दैमा प्रजातन्त्र संकट आउँदैन केन्द्रिय सदस्य गिरीले भने–‘राष्ट्रको क्षति हुदैन र संविधानको ऐन परिर्वतन गर्न मिल्छ भने निर्वाचनको समय सार्दा फरक पर्दैन ।’ उनले तीनै तहको निर्वाचन एकैपटक गर्दा पनि राज्यलाई आर्थिक भार नपर्ने भन्दै त्यसरी पनि जान सकिने धारणा राखे ।
‘निर्वाचन आयोगले एउटा मिति दिएर उक्त मितिमा चुनाव गर्नुपर्ने भनेको छ, सरकारले यस विषयमा छलफल र परामर्श गरिरहेको छ, कानूनी र व्यवहारिक पाटाहरु हेरिरहेको छ, छिट्टै यसको निक्र्योल होला’ उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका गिरीले नेपाल–भारत सीमा विवादका विषयमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल मार्फत् समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले भने हामीलाई थाहा छ भारतले नेपाली सीमा मिचेकोछ, तर भारतलाई गाली गरेर यो समस्या समाधान हुदैन । यसका लागि प्रधानमन्त्री तहबाट, परराष्ट्रमन्त्रीको तहबाट कुटनैतिक र उच्च स्तरीय राजनीतिक पहल भएमा समाधान हुन्छ ।’
राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार दाङ जान गिरी नेपालगन्ज आएका हुन् । गठनबन्धनका कारण राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा उम्मेदवार भएको र उनले जित्ने गिरीले ठोकुवा गरे ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु प्रचण्डविक्रम न्यौपाने, टेकनारायण भुषाल, अञ्जना पाण्डे काँग्रेस महाधिवेशन प्रतिनिधी चिन्तामणी धिताल र पूर्ण आचार्य तथा काँग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट लगायतको उपस्थिती रहेको थियो ।
युनियन बाँकेका सचिव विजय मल्लका अनुसार पत्रकार भेटघाटमा युनियन बाँकेका अध्यक्ष ओलीले काँग्रेस केन्द्रिय सदस्य दीपक गिरीलाई खादा ओढ्याएर बागेश्वरी मन्दिर अंकित मायाको चिनो प्रदान गरि स्वागत मन्तब्य राखेका थिए ।