नाम मात्रको कान्जीहाउस, न आहारा न छहारी
नेपालगन्ज: तापक्रम अत्यधिक वृद्धि भएपछि नेपालगन्ज र आसपासका क्षेत्रमा पशुचौपायाहरु गर्मीले मर्न थालेकाछन् । कान्जी हाउसमा राखिएका पशुचौपाया समेत अत्यधिक गर्मी र आहाराको उचित व्यवस्थापन हुन नसक्दा पशुचौपायाको मृत्यु हुन थालेको छ ।
केही दिनदेखि नेपालगन्जमा तापक्रम ४३ डिग्री देखि ४४ डिग्री सेल्सियस सम्म रहदै आएकोछ । नेपालगन्जको प्रचण्ड गर्मीको प्रत्येक्ष प्रभाव यतिबेला कान्जी हाउसमा राखिएका पशुचौपायालाई परेकोछ । अत्यधिक गर्मीसगैं कान्जी हाउसमा राखिएका पशुचौपायाले प्रयाप्त आहारा, पानी र शीतल छहारी नपाउँदा विरामी भइ मर्न थालेका हुन् ।
छाडा पशुचौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कान्जी हाउस बनायो । पशुचौपायालाई नियन्त्रण गरि राख्यो तर, यसरी कान्जी हाउसमा राखिएका पशुचौपायाको उचित संरक्षणमा उपमहानगरपालिकाले उदासिनता देखाउँदा दिनप्रतिदिन समस्या बढ्दै गएको छ ।
कान्जी हाउसमा राखिएका पशुचौपाया नेपालगन्जको प्रचण्ड गर्मीसगैं लड्दै छट्पटिरहँदासम्म पनि उपमहानगरपालिकाले उदासिनता देखाइरहेकोछ । जसका कारण दिनहुँजसो पशु मर्न थालेको पाइएको हो । नेपालगन्जको प्रचण्ड गर्मी, गर्मी छल्न छहारी र उचित आहाराको कमीका कारण कान्जी हाउसमा राखिएका पशुचौपाया मर्न थालेपछि स्थानीयले समेत आक्रोस पोखेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाँउमा रहेको करम बाबा मन्दिरका पुजारी ७७ वर्षीय हरिद्वार दास आँखा अगाडी छटपटाएर पशु मरेको दृष्यले असह्य पीडा भएको बताउँछन् । मन्दिरको जमिनमा राखिएको कान्जी हाउसका पशुचौपाया गर्मी छल्न नसक्दा बेहोस् हुने, प्रयाप्त आहारा, पानी र छहारी नपाउदाँ छटपटाएर मरिरहदाँसम्म वडा कार्यालय र उपमहानगरपालिका चुप लागेर बसेको प्रति आक्रोस पोखे ।
उनले भने –‘मन्दिरमा पुजा गर्दा भोक, प्यास र गर्मीका कारण तडपे, कराएको पशुलाई हेर्छु, सुन्छु तर, म केही गर्न सक्दिन । यो कान्जी हाउस नभइ निर्दोश पशुचौपायालाई याताना दिएको हो । उनको बुझाईछ ।
मन्दिरका पुजारी दासले भने–यस्तो भयानक दृष्य देखाउनका लागि उपमहानगरपालिकाले यहाँ कान्जी हाउस बनाएको हो ? यस्तो हो भने यहाँबाट कान्जीहाउस अन्यत्र सारे हुन्छ । अनाहकमा पशुचौपाया तडपिएर मरेको म देख्न सक्दिन उनले दुई हात जोडर रुदैँ भने – निर्दोश पशुको अनाहकमा ज्यान गइरहेकोछ, कसैले पनि चासो लिएनन् । यो अपराध हो ।
यता सोही वडाका स्थानीय बासी सागर गुप्ताले कान्जीहाउसको उचित व्यवस्थापन नगर्दा पशुचौपायाको दयनिय अवस्था भएको बताए । उनले भने दिउँसोको प्रचण्ड गर्मीमा छहारीको अभावमा काकाकुल हुनु र रातको समयमा तातिएको जमिनमा बस्दा विरामी भइ मर्न थालेको बताए । उनले भने –पशुसंरक्षणमा उपमहानगरपालिकाले लापरबाही गरिरहेको छ । कान्जीहाउसमा यसरी याताना दिएर छाडा पशुचौपाया राख्नुको के अर्थ ? प्रयाप्त आहारा, छहारी विना राखिएका पशुचौपाया भोकै, प्यासै र गर्मीबाट आक्रान्त भएर मरिरहेकाछन् ।
गुप्ताले थपे–‘कान्जी हाउसमा राखिएका पशुले आहारा नपाउँदा एक–अर्काका गोबर पशुले खाइरहेका हुन्छन् । गर्मीमा शीतल छहारीको व्यवस्था छैन । तीन दिन अगाडी मात्र एउटा घोडा र त्यसको दुईदिन अघि गाई मरे । यसको जिम्मेवारी कसले लिने ?’ उपमहानगरपालिकाको उदासिनताले कान्जी हाउसमा राखिएका पशुचौपाया उचित आहारा र पानी नपाउदाँ विरामी हुनु र मर्न थालेपछि स्थानीयबासी आक्रोसित मात्र नभइ पशु हत्यामा सक्रिय रहेको बताएकाछन् ।
पछिल्ला दिन बढेको प्रचण्ड गर्मी र रातमा खुल्ला आकासमा बस्न बाध्य पशुचौपायाको संरक्षण नहुदाँ विरामी हुने गरेकाछन् । भोग र प्यास मेटाउनका लागि पनि कतिपय अवस्थामा एकअर्कासगं पशु लड्ने गर्दा घाईते समेत हुने गरेको कान्जी हाउस नजिकै खेतीकिसानी गर्दै आएका स्थानीय महिला बताउँछिन् । गर्मी, उचित आहारा पानीको कमीका कारण प्रायजसो २–३ दिनमा १–२ वटा पशुचौपाय मरिरहेको उनले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, विर्ता गाँउमा रहेको सो कान्जी हाउसमा रहेका पशुचौपायालाई यतीवेला न त गर्मी छल्न शीतल छहारी छ, न त खानलाई उचित आहारा र पानी । अझ घाउचोट लागेका र विरामी पशुको उचित उपचार हुननसक्दा स्वस्थ पशुपनि मर्ने गरेका छन् । चर्को गर्मीमा कान्जीहाउसमा राखिएका पशु उचित आहारा ब्यवस्थापन नहुँदा सुख्खा भुस खाइरहेका हुन्छन् । कान्जी हाउसले पशुको आहाराका लागि गहुँको भुस, ब्राण्ड र पानी दिनहुँ दिइरहेको जनाएकोछ ।
कान्जी हाउसका ईन्चार्ज राकेश भारतीका अनुसार पशुका लागि दिनमा दुईपटक गहुँको भुस, नुन मिश्रित ब्राण्ड र पानी खुवाउने गरेको बताए । उनले भने –पशुका लागि शीतल छहारीको कमीछ । कान्जी हाउसमा टिनले छाएको एउटा मात्र बास स्थान छ । जहाँ शीतल छहारीको खोजीमा पशुचौपाया एकआपसमा लड्ने गरेको उनी बताउँछन् ।
भारतीले भने– खुला चउरमा पशुका लागि छहारीको ब्यवस्था नहुँदा समस्या देखिएको हो । टिनले छाएको कटेरोमा मात्र बलिया, चलाख पशु बस्छन् अरु सवै चर्को घाममा बस्छन् । ईन्चार्ज भारतीका अनुसार गर्मीबाट आक्रान्त भएका, बुढो तथा विरामी पशुचौपाया मर्ने गरेको स्वीकारे । उनले केही दिन अघि मात्र एउटा घोडा मेरको बताए पनि अरु कुरा बताएनन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा रहेको कान्जीहाउसमा यतिवेला १ सय २७ वटा पशुचौपाया छन् । जसमा घोडा, बछेडा ९, बाख्रा, पाठापाठी ३ र गाई, गोरु, बाछाबाछी गरि १ सय १५ वटा छन् । जसमध्ये गत शनिबार नेपालगन्ज उमपहानगरपालिकाले ८ वटा घोडा, बाख्रा र पाठापाठी गरि ३ वटा र गाई, गोरु र बाछाबाछी ४४ वटा गरि ५५ वटा पशुचौपाया कान्जीहाउसमा बुझाएको थियो ।