पछिल्लो २ वर्षभन्दा अवस्था सुधारोन्मुख, सर्भेमा २७ जनाको केश पोजेटिभ पाइयो
नेपालगन्ज १२ माघ : राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी गरिएको रिप्रिटास सर्भेका क्रममा बाँकेमा पुनः फेल भएकोछ । बाँकेमा गरिएको रिप्रिटास सर्भेका क्रममा बाँके लगातार चौथो पटक फेल भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार यही फागुन पहिलो साता बाँकेको नेपालगन्ज र कोहलपुरमा राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे गरिएको थियो । उक्त रिप्रिटास सर्भेका क्रममा बाँकेका २७ जनाको केश पोजेटिभ पाइएकोछ । जिल्लाका दुई स्थानमा ६ सय बढि जनामा गरिएको सर्भेका क्रममा केश पोजेटिभ पाइएको हो ।
११ औं पटक आमऔषधी कार्यक्रम सञ्चालन भएको बाँकेमा यसको प्रभाव सम्बन्धि गरिएको सर्भेबाट २७ जनामा केश पोजेटिभ पाइएपछि बाँके पुन फेल भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।
सेतोखरीसंग कुरा गर्दै उनले भने–‘विगत दुई वर्षको भन्दा अवस्था तल झरेकोछ, यसपटक पनि रिप्रिटास सर्भेमा बाँके फेल भयो ।’ उनले अगाडी थपे–‘नेपालगन्जमा २ दशमलव ८ र कोहलपुर ५ प्रतिशत रिप्रिटास सर्भे रिपोर्ट आएकोछ । टासमा पास हुन २ प्रतिशतभन्दा तल झरेको हुनुपर्छ । सर्भेमा पास भएको भए टासका अन्य चरण सञ्चालन गरिने थियो ।’
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिएको सर्भेक्षणमा तीन सय बढिको रक्त नमूना संकलन गरि जाँच गरिएको थियो । सोक्रममा नेपालगन्जका ९ जनामा हात्तिपाइलेको केश पोजेटिभ पाइएको हो ।
यस्तै कोहलुपर नगरपालिका को ५–६ रझेनालाई केन्द्र बनाएर तीनसय बढी जनाको रक्त नमूना जाँच गर्दा १८ जनामा हात्तिपाइलेको केश पोजेटिभ पाइएको हो । नेपालगन्ज र कोहलपुर क्षेत्रका ५ वर्षभन्दा माथिका ६ सय बढि ब्यक्तिमा हात्तिपाईले रोग भए नभएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि रिप्रिटास सर्भे गरिएको हो ।
योसंगै बाँके पुनः हात्तिपाईले र आम औषधी सेवनको विषयमा फेल भएको छ । यद्यपी यसअघि पनि बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम सञ्चालन भएपनि कार्यक्रम सफल हुन सकेको थिएन । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहका अनुसार ५–६ वर्षसम्म लगातार औषधी सेवन गरे हात्तिपाइले रोग नियन्त्रण गर्न सकिन्छ ।
पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हुने हात्तीपाइले रोग लागेपछि जीवनभरि निको हुँदैन उनले भने–‘यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नैपर्छ ।’
‘उक्त परजीवीले ५–६ वर्षमा बच्चा पार्ने भएकाले लगातार ५–६ पटक औषधी सेवन गरे बच्चा नपाउने बनाउन सकिन्थ्यो’ उनले थपे । रिप्रिटास सर्भेमा पुनः बाँके फेल भएपछि यसका लागि माथिल्लो निकायबाट आउने निर्देशनका आधारमा कार्यक्रम अघि बढाइनेछ ।
विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा रूपमा यसलाई चिनिएको छ । नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि औषधि सेवन गराउने कार्य सुरु गरिएको हो ।
सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएपनि बाँकेमा सञ्चालन गरिएको ११ औं पटकको आम औषधी कार्यक्रम फेल भइसकेकोछ ।
बाँकेका राजनीतिक दल, सरोकारवाला र सर्वसाधरणमै आम औषधीका विषयमा ठूलो भ्रम यथावत रहेका कारण बाँके पुनः फेल भएको हो ।