मलद्वारमा लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित खत्री पक्राउ


मलद्वारमा लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित खत्री पक्राउ

नेपालगन्ज : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध ओसारपसारमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउपर्नेको संख्या दिनानुदिन बढ्दै आएकोछ ।

खुलासीमानाको फाइदा उठाउँदै नेपाल भित्र्याइने लागुऔषधमा प्रहरीले निगरानी बढाएसगैं यसका भरीया तथा प्रयोगकर्ता प्रहरीको फन्दामा पर्न थालेकाछन् ।
नेपाल–भारत सीमानाकामा प्रहरीले यसअघि कुकुरको सहारामा निगरानी बढाएको थियो । प्रहरीले लागुऔषध विज्ञ कुकुर ‘गौरी’को सहयोगमा निगरानी बढाएसगैं लागुऔषधसहित पक्राउ पर्नेहरु पनि बढेका थिए । तर, यसपटक कुकुरको सहयोग विना प्रहरीले सीमावर्ती रुपैडिहा बजारबाट नेपालगन्ज आउदै गरेका एक किशोरलाई जमुनाहाबाट लागुऔषधसहित पक्रेकोछ ।

पक्राउ परेका किशोरका साथबाट ठूलो परिणाममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो शाखा प्रदेश पाँचका प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले शुक्रबार साँझ साढे छ बजे बर्दिया गेरुवा गाउँपालिका–२ का २६ वर्षिय स्वरुप खत्रीका साथबाट २३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

व्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले सेतोखरीसंग कुरा गर्दै भने –‘गोप्य सूचना तथा शंकाका लागेको अवस्थामा चेकजाँच गर्दा खत्रीबाट लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको हो ।’

प्रहरी निरीक्षक थापाले भने –‘खत्रीले रुपैडिहाबाट सो ब्राउन सुगर आफ्नो मलद्वारमा लुकाएर नेपालगन्ज आउँदै गर्दा उनका साथबाट २३ ग्राम ब्राउनसुगर
बरामद गरिएको हो ।’ प्रहरीको नियन्त्रणमा परेका खत्रीलाई थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको उनले बताए । ‘पक्राउ परेका खत्री आफै लागुऔषध प्रयोगकर्ता हुन वा भरिया त्यो अनुसन्धानबाट खुल्नेछ ।’

अनुसन्धानको प्रारम्भिक जानकारी दिदैँ उनले भने–‘पक्राउ परेका खत्रीलाई निगरानी गर्दा लागुऔषध प्रयोगकर्ता भएजस्तो पाइएकोछ । ठूलो मात्रामा लागुऔषध बरामद गरिएकाले कारबोबारी, प्रयोगकर्ता वा भरिया हुन् थपकुरा अनुसन्धानबाट खुल्ने उनले बताए ।’

यसैबीच, भारतीय सीमा सुरक्षा बल एसएसबीले ५ ग्राम ब्राउन सुगर सहित नेपालगन्जका एक युवकलाई नियन्त्रणमा लिएकोछ । पक्राउ पर्नेमा नेपालगन्जका गौरब नाम गरेका युवक हुन् । भने यस्तै भारतीय नागरिक रियाज अहमदलाई ६० ग्राम ब्राउन सुगरसहित शुक्रबार नै भारतीय प्रहरीले पक्रेको छ ।

भारतीय प्रहरीले रुपैडिहा बजारको चकिया रोडबाट रियाजलाई नियन्त्रणमा लिएको हो । रुपैडिहाको चकियारोड चौराह स्थित रियाज मेडिकल स्टोरबाट रियाज अहमदलाई ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको एसएसबीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय कारागार पठाईएको भारतीय प्रहरीले बताएको छ ।