काँग्रेस बाँके निर्वाचन

बालुवाटारबाट फोन: सुरेन्द्र देउवापक्षका आधिकारिक उम्मेदवार, कुर्मीलाई सम्झाउनु होला

बादशाह र सुरेन्द्र दुबै जना हाम्रो टिमका उम्मेदवार हुन् : सहमहामन्त्री राठौर


बालुवाटारबाट फोन: सुरेन्द्र देउवापक्षका आधिकारिक उम्मेदवार, कुर्मीलाई सम्झाउनु होला

नेपालगन्ज १६ फागुन : नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल नै आधिकारीक उम्मेदवार भएको घोषणा गरिएको छ । काँग्रेस बाँकेको निर्वाचन हुन तीन दिन अगावै संस्थापन (देउवा) पक्षको तर्फबाट हमाललाई आधिकारिक सभापतिको उम्मेदवार घोषणा गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपालगन्जमा सोमबार नेता, कार्यकर्ता र सञ्चारकर्मीका बीचमा हमाल नै संस्थापन पक्षबाट सभापतिको आधिकारीक उम्मेदवार भएको घोषणा गरेका हुन् ।

आफुलाई काँग्रेसका केन्द्रिय पार्टी प्रवक्ता एवम् देउवा प्यानलका नेता डा. प्रकाश शरण महतले फोन गरेर हमाल नै देउवा प्यानलको उम्मेदवार रहेको कुरा बताएको केन्द्रिय सदस्य बाल्मिकीले सुनाए । ‘आज मलाई पार्टी प्रवक्ता ज्युको फोन आयो, उहाँले सिधैं भन्नुभयो, बालुवाटारबाट बोल्दैछु, अहिले शेरबहादुर दाई यही म सँगै हुनुहुन्छ, भर्खरै मलाई भन्नु भएको छ, सुरेन्द्रलाई आधिकारीक उम्मेदवार भन्दिनुपर्यो र बादशाह जीलाई बोलाएर तपाईले सम्झाउनु होला, उहाँलाई पछि संसदीय निर्वाचनमा हेरौंला भनेर तपाईले भन्दिनुपर्यो भनेर भन्नुभयो,’ बाल्मिकीले भने ।

पार्टी सभापतिको धारणालाई प्रवक्ताबाट आधिकारीक रुपमा आइसकेपछि अब देउवा प्यानलको उम्मेदवार हमाल नै भएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

हमाल र कुर्मीबिच संस्थापनको आधिकारिक उम्मेदवार बन्ने प्रतिस्पर्धा लामो समयदेखि चलिरहेका थियो । तर, चुनाव नजिकिदैँ गर्दा लुम्बिनी प्रदेशका वन मन्त्री एवम ओलम्पिय हमाललाई संस्थापन पक्षले आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेपछि आसन्न पार्टीको निर्वाचनका लागि संस्थापन पक्षको आधिकारीक उम्मेदवार को हो ? भन्नेमा देउवा निकट नेता, कार्यकर्तामा थप अन्यौलता छाएको छ ।

त्यसो त यता संविधान सभा सदस्य बादशाह कुर्मीले महिनौंअघि आधिकारिकरुपमा आफू देउवा पक्षबाट बाँके काँग्रेस सभापतिको उम्मेदवार भएको घोषणा गरेका थिए । उनले काँग्रेस बाँकेका नेता, कार्यकर्ता र पत्रकारको उपस्थितीमा आधिकारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत लागेका थिए ।

देउवा पक्षबाट सभापति पदमा उम्मेदवारीका आकांक्षि नेताहरु धेरै भएकाबेला आधिकारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने पहिलो नेता कुर्मी नै हुन् । अब बाँकेको काँग्रेस सभापति को बन्छ भन्ने राजनीतिक चर्चाकाबीच सुरुआतमा संस्थापनबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जन सिंह सिजापति, सुनिलनरसिंह राणा, लक्ष्मी नारायण शाहको नाम चर्चामा थियो ।

संस्थापन(देउवा) पक्ष भित्रै शीर्ष नेताको स्वार्थ नमिल्दा बाँकेमा समयमै आधिकारिक उम्मेदवार चयन गर्न सकिएको थिएन । अझ पटक–पटक स्थगित गरिएको निर्वाचनले गर्दा सभापतिका आकांक्षिसहित जिल्लाका नेता तथा कार्यकर्ताहरुमा तिक्तता पैदा गरिरहेको थियो ।

मनोनय दर्ताकाक्रममा काँग्रेस बाँकेको सभापतिमा ४ जनाले उम्मेदवारी दर्ता गराएपनि वर्तमान उपसभापति समेत रहेको सुनिलनरसिंह राणाले उम्मेदवारी फिर्ता गरिसकेकाछन् । योसंगै ३ जनाबीच प्रतिस्प्रर्धा हुने देखिएको काँग्रेस बाँकेको निर्वाचनको अन्तिम समयमा देउवा पक्षले हमाललाई आधिकारिक उम्मेदवार बनायो ।

हमाललाई संस्थापन पक्षको आधिकारीक उम्मेदवार घोषणा गरिएपछि काँग्रेस बाँकेको निर्वाचन राजनीति तरङ्गित बनेको । संस्थापन(देउवा) पक्षकै सभापतिका अर्का उम्मेदवार बादशाह कुर्मी भने आफ्नो प्रचार–प्रसारमा ब्यस्त छन् । उनले सोमबार मात्र कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा पुगेर मतदाता भेटघाट गरेका छन् ।

नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारी दिएका नेताहरु आफ्ना एजेण्डासहित क्षेत्रीय प्रतिनिधिलाई प्रभावित गर्ने प्रयास गरिरहेका छन् ।

कोइराला पक्षले करिब एक महिना अघि नै आफ्नो सभापतिको रुपमा नारायण प्रसाद गौडेललाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । त्यतीमात्र होइन पदाधिकारीसहित प्यानल नै बनाएर चुनावी प्रचारप्रसारमा खटिरहेकोछ ।

यसैबीच नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा संस्थापन पक्षबाट बादशाह कुर्मी र सुरेन्द्र हमालले उम्मेदवारी दिएको र उनीहरु दुबै जना संस्थापन पक्षका उम्मेदवार रहेको बताएका छन् । ‘बादशाह कुर्मी र सुरेन्द्र हमाल दुबै जना हाम्रो टिमका उम्मेदवार हुन, पहिलो चरणको निर्वाचनमा दुई मध्ये जसले बढी मत ल्याउँछ, उसलाई अर्को उम्मेदवारले सहयोग गर्नेछ,’ नेता राठौरले भने ।

काँग्रेस सभापति शेरबहादुर देउवाको धारणा प्रवक्ता मार्फत केन्द्रिय सदस्य समक्ष आइसकेपछि सभापतिका उम्मेदवार हमालले पार्टीको निर्वाचनमा टिमका नेताले आफ्नो नाम अगाडी बढाएकोमा आभार प्रकट गरे ।

‘आज केन्द्रले मेरो नाम अगाडी बढाएको छ, केन्द्रिय नेताहरुप्रति म आभार प्रकट गर्दछु,’ उनले भने । जिल्ला सभापतिका लागि आफु लगायत अन्य नेताहरु पनि आकांक्षी रहेकोमा एउटा भद्र सहमती अनुसार पदाधिकारीको प्यानल एउटै बनाइएको उनले बताए । तर, पदाधिकारीका उम्मेदवार छनोट गर्दा एक पक्षिय रुपमा केहीलाई गुमराहमा राखेर बनाउने काम भएको हमालले गुनासो गरे ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हमाल परिवार छ । बाँकेमा संस्थापनको खम्बाका रुपमा लिइन्छ हमाल परिवारलाई ।

जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम प्रवक्ता अर्जुन ओलीका अनुसार फागुन १९ गते बाँके काँग्रेसको निर्वाचन हुँदैछ । जिल्ला निर्वाचनमा एक हजार ४ सय ९३ प्रतिनिधिले मत हाल्नेछन् । वडा, पालिका, प्रदेश र क्षेत्रको निर्वाचनको नतिजा अनुसार बाँकेमा संस्थापन(शेरबहादुर देउवा) टिमले धेरै स्थानमा जितेको छ ।

देउवा पक्षको आधिकारिक उम्मेदवार घोषणाका क्रममा काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापति रमेश गुप्ता, प्रदेश सभा–२ ‘ख’ का सभापति जितेन्द्र हमाल, काँग्रेस नेता अजितकुमार शर्मा लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।