‘कोहलपुर’ बाँकेकै पहिलो साक्षर नगरपालिका

५० लाख नगदले सम्मान गरिने: जिसस


‘कोहलपुर’  बाँकेकै पहिलो साक्षर नगरपालिका

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा भएकोछ । बाँके जिल्लाकै पहिलो साक्षर नगरपालिकारुपमा शुक्रबार कोहलपुर नगरपालिकालाई घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकालाई जिल्लाकै पहिलो साक्षर नगरपालिकाकारुपमा घोषणा गरियो ।
नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’को लक्ष्य अनुरुप कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गरेका हुन् ।

नगरपालिकाभित्र हालको अवस्थामा ९६ दशमलव ८५ प्रतिशत साक्षरताको संख्या रहेको जानकारी दिँदै रावतले आगामी आर्थिक वर्षभित्रै सबै नगरवासीलाई साक्षर बनाउने गरी अभियान सञ्चालन गरिने प्रतिवद्धता समेन जनाएकाछन् ।

कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गर्नका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पुरा गर्दै साक्षर कोहलपुर घोषणा गरिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले शैक्षिक विकासमा कोहलपुर नगरपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै खुसी ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले शिक्षा क्षेत्रको विकासमा विशेष रणनितिका साथ आफु लागिरहेको बताउँदै सांसद अथकले कोहलपुरसँगै आसपासका स्थानीय तहहरुमा समेत शिक्षाको विकास अपरिहार्य रहेको बताए । उनले कोहलपुरबाट अन्य पालिकाहरुले पाठ सिक्दै शिक्षाका मापदण्ड पुरा गरि जिल्लालाई नै साक्षर बनाउन आग्रह गरे ।

‘गरे के हुन्न । समस्या र चुनौती सबैमाझ छ । दत्तचित्त भएर लागे अवश्य सफलता पाइन्छ ।’ साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै सांसद अथकले भने–‘शिक्षाको ज्योतीबाट कोही पनि बिमुख हुन नपरोस् भन्ने हेतुले हामी साक्षर अभियानमा जुटेका छौं । यो अभियानमा सवैको साथ र सहयोग अपिहार्य छ ।’ उनले भने ।

कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले साक्षर घोषणका १२ वटा मापदण्ड पुरा गरेर कोहलपुरलाई साक्षर नगरपालिकाका घोषणा गरिएको जनाए । उनले भने–‘१५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरिएको सर्वेक्षणमा नगरभित्रका ३ वटा वडाले साक्षरताको अंक प्राप्त नगरेकाले कोहलपुरलाई पूर्ण साक्षर घोषणा गर्न नसकिएको जनाए । यद्यपी ती वडामा साक्षर अभियानका गतिविधि सञ्चालन गर्दै छिटै साक्षर अभियानको मूलधारमा ल्याउने बताए ।

कोहलपुर नगरपालिकाको कुल ९० हजार ९ सय ५६ जनसंख्यामा ३ दशमलव १५ प्रतिशत अर्थात २ हजार ८ सय ६९ नागरिक मात्र साक्षरताको समुहभन्दा बाहिर
रहेको बताउदै नगर शिक्षा शाखा प्रमुख पौडेलले नगरभित्रका वडा ४, ८ र १४ लाई साक्षरताको दायराभित्र ल्याएर केही समयभित्रै कोहलपुरलाई पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषणा गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

साक्षर घोषणा कार्यक्रममा कोहलपुर नगरपालिका अन्तरगत १५ वटै वडाका वडाध्यक्षहरुले सामुहिक रुपमा आफ्नो वडालाई पूर्ण साक्षर बनाउने प्रतिवद्धतासमेत जनाएका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरी, नेकपाका नगर सचिव तुलाबहादुर विष्ट, नेपाली काँग्रेस कोहलपुरका सचिव भुमबहादुर भण्डारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

यसैबिच बाँकेकै पहिलो साक्षर नगरपालिका भएको भन्दै कोहलपुर नगरपालिका पुरस्कृत हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्लामै साक्षर पालिका घोषणा गर्न कोहलपुर प्रथम हुन सफल भएकोले कोहलपुर नगरपालिकालाई ५० लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् ।

जिल्ला समन्वय समितिले केही समयअघि जिल्लामा सबैभन्दा छिटो साक्षर घोषणा हुने स्थानीय तहलाई नगद राशीसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

यता कोहलपुर नगरपालिका जिल्लाकै पहिलो साक्षर नगरपालिका भएसगैं नेपालगन्ज उपमहानगरपालिकालाई टाउको दुखाई भएकोछ । साक्षर उपमहानगरपालिका घोषण गर्न थुप्रै अवसरहरु रहदै आएता पनि नेपालगन्ज जिल्लामा पछि परेकोछ । उपमहानगरपालिकाभित्र साक्षरताको दर कतिसम्म छ भन्ने यकिन तथ्यांक नहुनु, साक्षर उपमहानगरपालिकाका लागि आवश्यक गतिविधि प्रभावकारीरुपमा सञ्चालन गर्ननसक्नुले पनि उपमहानगरपालिकामाथि प्रश्न तेर्सीएकोहो ।

नेपालगन्ज उपमहानगरपालिका भन्दा कान्छो कोहलपुर नगरपालिका जिल्लामै पहिलो साक्षर नगरपालिका घोषणा भएपछि नेपालगन्ज उपमहानगरपालिकालाई टाउको दुखाई भएको हो । साविकका १७ वटा वडा र पछि थप गरिएका ११ गाविसका कारण नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर घोषणा गराउन समस्या रहेकोछ ।

यसैबीच, बाँकेको जानकी गाउँपालिकाका दुईवटा वडालाई बुधबार साक्षर वडाका रुपामा घोषणा गरिएको छ । गाँउपालिकाको वडा नम्बर २ बेलभार र वडा नम्बर ४ खजुराखुर्दलाई साक्षर वडा घोषणा गरिएको हो ।