चैत्र दोस्रो साता पिएम कप, तयारीमा जुट्यो संघ


चैत्र दोस्रो साता पिएम कप, तयारीमा जुट्यो संघ

नेपालगन्ज २५ फागुन : भलिबल प्रतियोगितामा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता यस वर्षको चैत महिनामा हुने भएकोछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप यसपटक चैत १० देखि १५ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्डहलमा हुनेछ ।

विगतका वर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएकोछ । यसअघि यो प्रतियोगिता फागुनको अन्तिम साता हुने गर्दथ्यो ।

‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो’ आयोजक संघका अध्यक्ष टिएस ठकुरीले भने –‘यही प्रयास स्वरुप आयोजना हुँदै आएको प्रतियोगितालाई निकट भविष्यमा दक्षिण एशियाली क्लब च्याम्पियनसीपका रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

‘दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य हो’ अध्यक्ष ठकुरीले भने –‘ प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको छ ।’

प्रतियोगितामा यसअघि भारतीय चर्चित क्लबका साथै बंगलादेशको टिमले समेत प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथो संस्करणमा रेलवे इन्डिया, पाँचौंमा एपीएफ, छैठौंमा पुलिसले उपाधि जितेका थिए । सगरमाथा सिमेन्ट प्रधानमन्त्री कपको सातौं संस्करणमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।