नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानका लागि केन्द्रिय सरकारले दुई करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७६÷०७७ मा क्रिकेट मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले दुई करोड बजेट विनियोजन गरेको हो । कोहलपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको मैदानमा विकास गरिनुपर्ने जिल्लावासीले माग गर्दै आएका छन ।
पूर्वाधारको प्रयाप्त उपलब्धता हुँदाहुँदै पनि विगत लामो समयदेखि कोहलपुर स्थित क्रिकेट मैदानलाई उपेक्षा गरिएको थियो । अब नयाँ बजेटमार्फत बाँकेमा धेरै पूर्वाधारहरुको निर्माण प्रक्रिया सुरु हुने भएको छ ।
आगामी बजेटमा कोहलपुर चौराहदेखि सुर्खेतसम्म जोड्ने सडकलाई चार लेनमा विस्तार गरिने, बाँकेको वागेश्वरी मन्दिर, राप्तीसोनारीको मस्जिद, सुर्खेतको काँक्रेविहार हुँदै मानसरोवरसाई समेट्नेगरी धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने भएको छ ।
यसैगरी राप्तीपारी भारत सरकारसँगको सहकार्यमा ३० करोड लागतमा तटबन्धनको काम सुरु गरिनुका साथै कोहलपुरदेखि जमुनाहसम्म रेलमार्गको योजना समेत समावेश गरिएको सांसद महेश्वर गहतराज अथक बताउँछन् ।
देशैभरका ७ ठुला सहरलाई मेगा सिटिमा विकास गर्ने सरकारको लक्ष्य अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरलाई जोडेर मेगा सिटिको काम अगाडी बढाउने गरी योजना तर्जुमा समेत गरिएको छ ।