अबको पाँच वर्ष जनताले देश बनाउने जिम्मा काँग्रेसलाई दिनुपर्छ : महामन्त्री गगन थापा

‘कम्युनिष्टलाई एमसीसी सही हो भन्ने थाहा हुदाहुँदै भय र भ्रम बेचे’


अबको पाँच वर्ष जनताले देश बनाउने जिम्मा काँग्रेसलाई दिनुपर्छ : महामन्त्री गगन थापा

कोहलपुर ३० फागुन : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसिसी नेपालका लागि सामान्य परियोजना मात्रै भएको प्रष्टाएकाछन् । नेपाली काँग्रेस क्षेत्र नम्बर–१ बाँकेले कोहलपुरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले एमसिसीका विषयमा कम्युनिष्टले जनतामा धेरै भ्रम सिर्जना गरेको बताए ।

एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएका छन्, महामन्त्री थापाले अगाडी थपे–‘एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन्, उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ, तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुठको खेताी गरिरहेकाछन् ।’

एमसिसीले बिद्युतमा लगानी गरेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउने मात्रै उद्देश्य रहेको बताउँदै उनले यस्ता खालका परियोजना नेपालमा विगतमा पनि धेरै सञ्चालन भएको बताए ।

उनले उदाहरण दिदैँ भने–‘मेलम्ची खानेपानी आयोजना पनि एउटा परियोजना हो, एमसिसी पनि सोही प्रकारको परियोजना हो, कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ–गाउँसम्म पुगेकाले त्यसलाई काँग्रेसले नै चिर्न जरुरी रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

महामन्त्री थापाले भने–‘नेपालको हितमा रहेको एमसीसीका पक्षमा काँग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो, हामी सत्यको पक्षमा हुन्छौं, स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।’

एमसिसीका विषयमा अहिले साना बालबालिकाले समेत प्रश्न गर्न थालेको उनको भनाई छ । उनले ऋण भन्दा पनि अनुदान सहयोग धेरै लिनुपर्ने पक्षमा काँग्रेस रहेको बताउँदै ऋण लिँदा घाँटी हेरेर हाड निल्नुपर्ने स्पष्ट पारे ।

‘ऋण लिने त हो तर, त्यसको सीमा हुन्छ, टाउकोमा धेरै ऋण थोपरेर अगाडि बढिँदैन, काँग्रेस ऋण भन्दा पनि अनुदान सहयोग बढी लिउँ भन्ने पक्षमा छ’, उनले भने ।

अर्को प्रसंगमा उनले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा काँग्रेसलाई दिनुपर्ने बताए । ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदी देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि काँग्रेसलाई जिम्मेवारी दिनुपर्छ ।’

काँग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गरे । आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा काँग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए ।

‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ ।’ पार्टीभित्र उच्चस्तरीय एकता चाहिएको भन्दै उनले जोश र जाँगरका साथ पार्टीले सञ्चालन गरेको चुनावी अभियानमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

चुनावी गठबन्धन आफूले पनि नचाहेको भन्दै उनले भने–‘तपाईंहरुको चाहना पनि यही हो, रुख भन्दा अन्यत्र भोट हाल्न नपरोस् भन्ने चाहनुहुन्छ, तपाईंहरुको यो भावनाको पार्टीले उच्च सम्मान गर्छ तर गठबन्धन नगर्ने त भन्ने अनि पार्टीलाई जिताउन एक हुने कि नहुने ?

उनले अगाडि भने–‘जसले टिकट पाउँछ, उसलाई जिताउन लाग्ने कि नलाग्ने, रुख बाहेक मुख हेर्दैनौं भन्ने भरोसा पार्टी नेतृत्वलाई दिलाउने कि नदिलाउने ?’

काँग्रेस बाँके क्षेत्र नम्बर– १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको बृहत् सभालाई काँग्रेस केन्द्रिय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य पूर्ण आचार्य, तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, क्षेत्र नम्बर– २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर–३ का सभापति नक्की खाँ, महासमिति सदस्य भानुभक्त भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए ।

कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खुमबहादुर बस्नेतले गरेका थिए । सोक्रममा महामन्त्री थापाले नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर– १, प्रदेश –१ ‘ख’ र कोहलपुर नगर कार्यालयको उद्घाटन गरेका थिए ।

यस्तै विभिन्न पार्टी त्याग गरि काँग्रेस प्रवेश गरेका ५८१ जनालाई महामन्त्री थापाले अविर र खादा ओढ्याएर स्वागत गरेका थिए । भने कार्यक्रममा नेपाल साँस्कृतिक संघका कलाकारले विभिन्न नृत्य प्रस्तुत गरे ।